फूलबाट धुप बनाउँदै सुषमा, बैंकिङ छोडेर उद्योगमा जम्दै

<p>काठमाडौं । बैंकिङ धेरैलाई मन पर्ने पेशा । आकर्षक सेवा सुविधा र समाजमा उच्च प्रतिष्ठाकै कारण धेरैले बैंकर बन्ने रुची राख्छन् । त्यो रुची सुषमा शर्मामा पनि थियो । दिनप्रतिदिनको मेहेनत, कामप्रतिको वफादारिता र लक्ष्यप्रतिको अडिकताले काठमाडौं धुम्बाराहीकी सुषमा शर्मालाई पनि बैंकको उच्च पदमा पुग्न धेरै समय कुर्नु परेन । भनिन्छ नि, ‘जो हिड्छ, उसैलाई [&hellip;]</p>

काठमाडौं । बैंकिङ धेरैलाई मन पर्ने पेशा । आकर्षक सेवा सुविधा र समाजमा उच्च प्रतिष्ठाकै कारण धेरैले बैंकर बन्ने रुची राख्छन् । त्यो रुची सुषमा शर्मामा पनि थियो । दिनप्रतिदिनको मेहेनत, कामप्रतिको वफादारिता र लक्ष्यप्रतिको अडिकताले काठमाडौं धुम्बाराहीकी सुषमा शर्मालाई पनि बैंकको उच्च पदमा पुग्न धेरै समय कुर्नु परेन ।

भनिन्छ नि, ‘जो हिड्छ, उसैलाई ठेस लाग्छ ।’ हो, सुषमाको जीवनमा यस्ता अनेकौं हण्डर/ठक्करहरु छन् । बैंकको काममा बिहानै गएर राति अबेर घर फर्किर्नु परेका ती दिनहरु उनलाई हिजो जस्तै लाग्छन् । तर, ‘जहाँ इच्छा, त्यहाँ उपाय’ भने जस्तै उनले आफ्नो लक्ष्य पछ्याउँदै गइन् ।

दिनहरु बित्दै गए । सन् २००६ बाट बैंकिङ करियर सुरु गरेकी सुषमा सुरुमा एनएमबि बैंकको सुपर भाइजर बनिन् । हुनत त्यसअघि उनले विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुमा काम गरिसकेकी थिइन् । विभिन्न क्षेत्रको अनुभव हासिल गर्दै गइन् । उनी भन्छिन्, ‘मलाई आफुमा भएको क्षमता प्रदर्शन गर्नु पर्छ जस्तो लाग्छ, मलाई बैंकर बन्ने रहर थियो, बनेँ पनि, उनी थप्छिन्, ‘तर बाटो बिचमै अन्तै मोडियो ।’

उनी एनएमबि बैंकको रिटेल हेडसम्म बनिन् । बैंकको रिटेल हेडसम्म पुग्न ठूलो संघर्ष गर्नु पर्छ । त्यो संघर्ष सुषमाले पनि गरिन् । तर, त्यति धेरै संघर्ष गरेर पाएको पद चटक्कै छोडेर करिब डेढ दशकको बैंकिङ यात्रामा बिराम लगाउँदै उनी सदाका लागि त्यो क्षेत्रबाट बाहिरिन् ।

बैंकिङ छोड्नुको कारण के थियो ? हामीले उनलाई प्रश्न गर्यौं, जवाफमा उनले भनिन्, ‘सुरुमा मेरो इच्छा बैंकर बन्ने थियो, बैंकर बनेँ, पछि अब आफ्नै उद्योग व्यवसाय गर्नु पर्छ भन्ने मानसिकता जाग्यो, हुन त आफ्नै व्यवसाय गर्नु पर्छ भन्ने चाहना मेरो सानैदेखि थियो बुझ्दै गएपछि आफ्नै उद्योग खाेलेँ ।’

एनएमबि बैंकको जागिर छोडेपछि उनलाई अन्य बैंकहरुबाट पनि कामको प्रस्ताव धेरै आयो । तर, उनको चाहना अर्कै थियो । ‘बैंक छोडेको सुनेपछि दर्जन बढी बैंक तथा वित्तीय संस्थाहरुले काम गर्नु आउनु पर्यो भनेर प्रस्ताव गरे, तर मलाई पुनः बैंकको जागिरमा फर्किन मन लागेन, मैले उद्यमी नै बन्ने सोच बनाएर एनएमबि बैंक छोडेकी थिएँ, त्यसैले पनि कसैको प्रस्ताव पनि स्वीकार गरिनँ,’ उनले काम छोड्दाका दिनहरु स्मरण गर्दै सुनाइन् ।

उनले १३ वर्षको बैंकिङ यात्राबाट बिट मार्दै सन् २०१८ मा आफ्नै उद्योग खोलिन् । देशमा कोरोना भाइरसको महामारी थियो । देशव्यापी लकडाउन थियो । सडकहरु सुनसान थिए । उनी आफ्नो उद्योग स्थापनाको संघर्षमा थिइन् । हुनत ती दिनहरु उनका लागि चुनौतिपूर्ण थिए । भनिन्छ नि, ‘खाने मुखलाई जुँगाले छेक्दैन ।’ त्यो अठोट उनले पनि लिइन् र दिनरात आफ्नै उद्योग सञ्चालनको दौडमा लागिन् ।

उनी विगत चार वर्षदेखि प्रयोगविहीन फूलबाट धुप बनाउनमा व्यस्त छिन् । हिमालयन ट्रायन क्विलिटी कम्पनी सञ्चालन स्थापना गरेर उनी चिया उत्पादन गरेर निर्यातमा लागिन् ।  नयाँ उद्योग सञ्चालन गर्न उनलाई लामो समय लाग्यो । देश विदेशको यात्रा गर्नु पर्याे । नेपालबाट स्थानीय उत्पादनको निर्यात कम हुन्छ । भइरहेको उत्पादनले पनि राम्रो बजार पाउन सकेको छैन । तर, आफुले उत्पादनको वस्तुलाई अन्तर्राष्ट्रिय बजारसम्म निर्यातको सोच बनाउँदै अगाडि बढिरहेकी छन् ।

इलामबाट चिया ल्याइन् । चियालाई उत्कृष्ट प्योकेजिङ गरिन् । स्थानीय घ्यू तथा फुडहरूलाई प्याकेजिङ गरिन् । ‘नेपालमा अर्गानकि वस्तुहरु धेरै उत्पादन हुन्छन्, धेरै वस्तुहरुलाई हामीले निर्यात गर्न सक्छौं तर, प्याकेजिङमा ध्यान दिन नसक्दा बजारमा बिक्री हुन कठिन छ, मैले पनि प्याकेजिङमा जोड दिएकी छु’ उनले भनिन् ।

चिया निर्यातमा सफलता पाउँदै गर्दा उनले ‘फूल प्रुसाद’ जन्माइन् । उनले मन्दिरमा प्रसादको रूपमा चढाइएका फूल तथा काम नदिने फालेका फूल संकलन गरी धुप बनाउने उद्योग सञ्चालन गरिरहेकी छन् । अहिले शर्माको परिचय फेरिएको छ । अहिले उनी धुप उद्योगीका रुपमा परिचित छिन् । उनले उत्पादन गरेका धुपहरु अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात हुन्छन् ।

फूलको अनुपम सौन्दर्य देखेर हरेकको मन पग्लिन्छ । मोहित बनाउँछ । त्यही फूल प्रयोगपछि फोहोर बन्छ । त्यही फोहोर अर्थात् प्रयोगविहीन फूललाई जिवन्त दिएर उनको उद्योग सञ्चालन भइरहेको छ । उनी हरेक दिन मन्दिर पुग्छिन् । मन्दिरमा चढाइएको फूल संकलन गर्छिन् ।

‘फूललाई प्रसादको रूपमा चढाएको हुन्छ तर, प्रसादको रुपमा चढाइएको फूल फ्याँक्दा मेरो मन कटक्क खान्थ्यो, त्यो फूलबाट केही उत्पादन गर्न पाए हुन्थ्यो भनेर सोच्थें, अहिले मरेको फूललाई जीवन दिइरहेकी छु,’ उनले भनिन् ।

फूल सबैलाई मन पर्छ । राम्रो फूललाई स्पर्श गर्न मन मन लाग्छ । सुगन्धको अनुभूति गर्न मन लाग्छ । धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्यमा प्रयोग हुन्छ फूल । तर, त्यही फूल अन्ततः सडेर गलेर जान्छ , त्यसलाई नयाँ जीवन दिइरहेकी छन् उनी ।

उनले आफ्नो योजनामा सहकार्य गर्न समुन्द्र राज अर्याललाई प्रस्ताव राखिन् । उनले पनि साथ दिए । त्यसपछि सुषमा र समुन्द्रको सहकार्य भयो । ‘फूल प्रसाद’सञ्चालनमा आयो ।

४० लाख लगानी

शर्मा र अर्याल मिलेर सञ्चालनमा ल्याइएको फ्याक्ट्री कपनमा छ । उद्योग सञ्चालनमा हालसम्म ४० लाखभन्दा बढी लगानी भइसकेको उनले बताइन् । अहिले फ्याँकेका फूलको संकलन गरी कपनको ‘फूल प्रुसाद’ उद्योगबाट प्रशोधन गरी धुपको उत्पादन गरिरहेको शर्माले बताइन् ।

धुप बनाउन कुनै मेसिन प्रयोग गरिएको छैन । हाल हातले नै धुप उत्पादन भइरहेको उनको भनाइ छ । उनका अनुसार फूलको धुप अर्गानिक हुनुका साथै स्वास्थ्यका लागि पनि राम्रो छ ।

‘म आफै पनि धुप उत्पादन गर्ने धेरै वटा फ्याक्ट्री घुमेको छु, त्यहाँ धेरै केमिकलको प्रयोग गरेर धुपको उत्पादन गरिएको हुन्छ, जुन स्वास्थ्यको लागि हानिकारक छ,’ उनले भनिन्, ‘हामीले फूलबाट उत्पादन गरेको धुप अर्गानिक हो, स्वास्थ्यका लागि पनि राम्रो छ ।’

शर्माको उद्योगबाट उत्पादन हुँदै आएको धुप विदेशमा पनि निर्यात भइरहेको छ । अमेरिका र अस्ट्रेलियामा आफूहरुले धुप निर्यात गरिरहेको शर्मा बताउँछिन् । ‘हाम्रो देशमा पूजा गर्नको लागि धुप प्रयोग गर्छन्, विदेशमा प्राय योगा गर्दा अथवा घरमा किरा वा ‘नेगेटीभीटी’ नआओस् भनेर धुपको प्रयोग गरिन्छ, विदेशमा पनि फूल प्रसादको माग छ,’ उनले भनिन् ।

खराब फूललाई नयाँ जीवन दिएकी शर्मा बैंक छोडेर धुपसँग रमाइ राख्दा निकै खुसी छिन् । सन्तुष्ट छिन् । तर, ढिला गरी सञ्चालन गरेकोमा भने उनलाई पछुतो छ । विदेशमा अर्बाैको धुप निर्यात हुन्छ । जसमा फूल प्रसादको पनि केही हिस्सा छ ।

धुपको प्याकेजिङ र ब्रण्डिङमा पनि उतिकै ध्यान दिएकी छन् । आकर्षक प्याकेजङले पनि धुपको माग बढेको उनी बताउँछिन् । शर्माले ९/१० वटा सुगन्धमा धुप उत्पादन गर्दै आएकी छन् । काठमाडौंका विभिन्न मन्दिरबाट फूल संकलन गर्ने गरेको शर्माले बताउँछिन् । पशुपतिनाथ मन्दिर र बसन्तपुरबाट धेरै फूल संकलन हुने गरेको उनको भनाइ छ ।

‘हामीले फालिएको फूल मन्दिर अथवा कुनै ठाउँबाट ल्याएर प्रशोधन गर्छौं, त्यसलाई पहिला सफा गर्छाैं, सफा भएपछि सुकाउँछौं, पिसेर धुलो बनाइन्छ, त्यसपछि विभिन्न आकारमा धुप बनाइन्छ,’ उनले धुप बनाउने प्रक्रिया भनिन् ।

सातै प्रदेशमा शाखा खोल्ने योजना

बैंकरबाट उद्योगी बनेकी शर्माले सात वटै प्रदेशमा यसको शाखा खोल्ने योजना बनाएकी छन् । विदेशमा समेत निर्यात हुने उनको धुप नेपाली बजारको सबै ठाउँमा उपलब्ध छैन । अब देशभर सहजै उपलब्ध हुने गरी वितरण गर्ने उनको योजना छ ।

‘प्रयोग भइसकेको फूलहरु ल्याउनुहोस्, वातावरण स्वच्छ राख्न योगदान गर्नुहोस् भनेर सामाजिक सञ्जालबाटै आग्रह गरेका छौं, धेरैले फूल ल्याएर हामीलाई दिनुहुन्छ, फूल ल्याइदिए बापत धुप पनि दिन्छौं,’ खुसी हुँदै शर्माले भनिन् ।

शर्माको उद्योगबाट धुप मात्रै होइन आकर्षक डिजाइनमा गिफ्ट बक्स पनि उत्पादन हुन्छन् । आयात गरेर ल्याएर बेच्ने धुप भन्दा आकर्षक डिजाइनमा फूल प्रसादका धुपहरु उपलब्ध छन् । उपहार स्वरुप धुप दिनेहरुका लागि सजावट गरी गिफ्ट बनाइएका छन् । शर्माले उत्पादन गरेका धुप न्यूनतम २५० रुपैयाँदेखि अधिकतम ४ सय रुपैयाँसम्म मूल्य पर्छ ।

‘खुसी हुनको लागि उद्योग सञ्चालन गरेकी हुँ, धेरै कमाउन होइन, उत्पादन गरेको धुपलाई बजारमा धेरै मार्जिन नराखी उपलब्ध गराउँछौं, माग अनुसार नयाँ प्रडक्ट ल्याउँछौं,’ उनले भनिन्, ‘उद्योग सानो छ तर लक्ष्य ठूलो छ, ५ वर्षपछि ठूलो उद्योगी बन्ने सपना छ, सातै प्रदेशमा शाखा कार्यालय विस्तार गरी फालिएका फूललाई जीवन दिने काम गर्ने योजना छ ।’

Share News