कर छल्न अरुको नाममा कारोबार गर्ने धन्दा मौलाउँदै, शंकाको घेरामा रहेकाको नामावली संकलन

  २०७९ चैत ८ गते १५:५८     विकासन्युज

काठमाडौं । आन्तरिक राजश्व विभागले कर छलीको आशंकामा छानविन सुरु गरेको छ । पछिल्लो समय कर छली गर्नेको संख्यामा बृद्धि हुन थालेपछि यस विषयमा विभागले छानविन सुरु गरेको हो ।

तोकिएको समयमा विवरण दाखिला नहुनुको पछाडि गौरकाकुनी कारोबार (कर छली) गरेका हुन सक्ने आशंकामा अनुसन्धान सुरु भएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए ।

हामीले अरुको नाममा कारोबार गर्ने धेरै फेला पारेका छौं, ‘अरुको नामबाट कारोबार सुरु गर्ने, आय विवरण नबुझाउने, एक÷दुई वर्ष काम गरेर छोड्छु भन्ने मानसिकता राखेर कारोबार गरेको हाम्रो अनुमान छ,’ उनले भने, ‘ कारोबार गरेको विषयमा सम्बन्धित ब्यक्तिलाई पनि थाहा हुँदैन, यस्ता कारोबारलाई निरुत्साहन गर्न हामीले आर्थिक वर्षको सुरुवातदेखि नै अभियान नै सञ्चालन गरेर लागि परेका छौं ।’

उनले विभागले पुस मसान्तभित्रै नियमित विवरण नबुझाउने कारदाताको नामावली संकलन गरेर राजश्व कार्यालयलाई आवश्यक कारवाहीका लागि निर्देशन दिइसकेको बताए ।

‘हामीले पहिलोे पटक कारवाही गर्न करदाता कार्यालयलाई निर्देशन दिइसकेका छौं, यसअघि डाटा संकलन नै हुँदैन थियो, हामीले पहिलो पटक विवरण नबुझाउने कारदाताको विवरण सबै संकलन गरिसकेका छौं,’ उनले भने, ‘कुन करदाताको कति कारोबार भएको छ, विवरण बुझाएको छ कि छैन भन्ने सबै तथ्यांक कार्यालयलाई उपलब्ध गराइसकेका छौँ, अनलाईबाट कार्यालयले हेरेर छानविन सुरु गर्छ, गलत गर्नेलाई कारवाही गर्छौं ।’

उक्त विवरण सम्बन्धित राजश्व कार्यालयमा रहेका अधिकृत स्तरका कर्मचारीले मात्र हेर्न सक्ने प्रणालीको विकास गरेको उनको भनाइ छ । उनका अनुसार अधिकृत स्तरका कर्मचारीहरुलाई विवरण दाखिला नगर्नेलाई भेटेर सहजीकरण गरेर विवरण बुझाउने समय दिने काम पनि भइरहेको छ ।

‘पहिलो चरणमा ताकेता गर्न समेत वेवास्ता गर्नेहरुलाई छानविन सुरु गर्न हामीले निर्देशन दिइसकेका छौँ’, उनले भने, ‘पर्याप्त समय दिँदा समेत विवरण नबुझाउने करदाताको हामीले कार्यालय स्थलमै गएर छानविन गरि कारवाही सुरु गर्छौं ।’ आयकर विवरण र कर दाखिला नगर्ने करदाताको वास्तविक संख्या भने अझै आइनसकेको विभागले जनाएको छ ।

उनका अनुसार पछिल्लो समय राजश्व संकलनमा केही सुधार हुँदै गएको छ । विभागले हालसम्म ३ खर्ब बढी राजश्व संकलन भएको जनाएको छ । सरकारले फागुन मसान्तसम्म ४ खर्ब ३७ अर्ब ६६ करोड ७० लाख २७ हजार रुपैयाँ राजश्व संकलनको अनुमान गरेकामा हालसम्म लक्ष्यको ६४.९० प्रतिशत मात्रै राजश्व संकलन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.