कम्पनीहरु आय विवरण पेश गर्नै मान्दैनन्, महासंघसँग राजश्व विभागको गुहार

  २०७९ चैत ६ गते १२:१५     विकासन्युज

काठमाडौं । आन्तरिक राजश्व विभागले आम्दानीको विवरण दाखिला गर्न उद्योगी व्यवसायीलाई लिखित रुपमा नै पत्राचार गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षकोे आय विवरण दाखिला गर्ने करदाता घटेपछि विभागले उद्योगी व्यवसायीको छाता संस्थाको रुपमा रहेको उद्योेग वाणिज्य महासंघलाई पत्राचार गर्दै विवरण दाखिला गर्न अनुरोध गरेको हो ।

विभागका महानिर्देशक दीर्घराज मैनाली आयकर विवरण दाखिला गर्न महासंघलाई पत्राचार गर्दा उद्योगी व्यवसायीमा दबाब सिर्जना गर्ने अनुमानका साथ लिखित रुपमा नै पत्राचार गरिएको बताउँछन् ।

‘हाम्रो सूचना र उद्योग वाणिज्य महासंघलाई गरिएको पत्राचारले दबाब सिर्जना गर्छ, यसले कतिपय व्यवसायीहरुलाई मैले विवरण नबुझाउँदा शुल्क लाग्छ भन्ने पनि थाहा छैन’, उनले भने, ‘हाल मुद्धा परेका बाहेक २० अर्ब बढी बक्यौता रकम देखिएको छ, उक्त बक्यौता रकम उठाउन विभागले प्राथमिकता दिएका छ ।’

उनले कानुनले नै स्पष्ट रुपमा भनेअनुसार बक्यौता रकम असुलउपर गर्नका लागि सम्पत्ति रोक्का, बैंक खाता रोक्का तथा लिलाम बिक्रीका तहसम्मका काम कारबाहीहरु विभागले गर्ने बताए ।

‘भ्याटमा कारोबार गर्ने, आयात गर्ने, आपूर्ति सप्लाईको काम गर्ने तर आय विवरण नबुझाउनेको संख्या बढ्दो क्रममा छ, त्यो अहिलेमात्र भएको होइन, पहिलै देखिेको हो, तर अहिले बढी देखियो, तथ्यांक सहित हामीले सिष्टममा सो विषय राखेर लिखित रुपमा नै कार्यालयलाई हेर्न निर्देशन दिइसकेका छौँ’, उनले भने ।

आय विवरण नबुझाउँदा हरेक दिन व्यवसायको सेल्स (टनओवर) का आधारमा जरिवाना लाग्ने उनको भनाइ छ । ‘अहिले पैसा छैन, तर तोकिएको समयमा विवरण बुझाउनुस, जति छ त्यति बुझाउनु अरु बाँकी रकम किस्ताबन्दी मार्फत बुझाउन पाइन्छ भनेर हामीले आग्रह गर्दै आएका छौं, विवरण नै नबुझाए पछि जरिवाना लाग्छ, यो विषय सबैले बुझ्नु पर्छ,’ उनले भने ।

भ्याटको ननफाइबर हटाउने काममा विभाग केन्द्रीत रहेको उनले बताए । अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्षको आय विवरण दाखिला गर्ने करदाता ठूलो सङ्ख्यामा घटेको देखिएपछि आन्तरिक राजश्व विभागले महासंघमार्फत् उद्योग व्यवसायीलाई आय विवरण बुझाउन पत्राचार गरेको हो । यस विषयमा विभागले अध्ययन सुरु गरेको पनि बताइएको छ ।

व्यवसायीहरुले प्रत्येक आर्थिक वर्षको आय विवरण असोज मसान्तसम्म कर कार्यालयमा दाखिला गरिसक्नुपर्छ । कारणसहित जानकारी गराएपछि विभागले विवरण पेश गर्न पुस मसान्तसम्मको समय थपिदिने गरेको छ । तर, पुस मसान्तसम्मको अवधिसम्म पनि केही करदाताले विवरण नबुझाएपछि विभागले छानबिन थालेको हो ।

कतिपय करदाताले आफ्नो कारोबारको मूल्य अभिवृद्धि कर (भ्याट) को विवरण दाखिला गरेको, भन्सार तथ्याङ्क हेर्दा आयात–निर्यात गरेको पाइएको र त्यस्ता करदाताको नाममा अग्रीम कर कट्टीसमेत भएको देखिए पनि आयकरको विवरण भने नबुझाएको विभागले जनाएको छ ।

यसरी गत आर्थिक वर्ष २०७८/७९ मा कर लाग्ने कारोबार गरेको देखिए पनि हालसम्म आय विवरण र कर दाखिला नभएपछि त्यस्ता करदाताको विवरण संकलनको काम भइरहेको विभागका सूचना अधिकारी राजुप्रसाद प्याकुरेलले जानकारी दिए ।

कुन कर कार्यालयमा कति करदाताले यस्तो विवरण बुझाउन बाँकी छ भन्ने तथ्याङ्क संकलन भइरकेको पनि उनले जानकारी दिए । आयकर विवरण र कर दाखिला नगर्ने करदाताको वास्तविक संख्या भने अझै आइनसकेको विभागले जनाएको छ ।

राजश्वमा सुधारको संकेत 

विभागले हालसम्म करिब ३ खर्ब राजश्व संकलन भएको जनाएको छ । सरकारले चालू आर्थिक वर्षका लागि तोकेको लक्ष्यको ६४.९० प्रतिशत राजश्व संकलन भएको महानिर्देशक मौनालीले बताए ।

सरकारले फागुन मसान्तसम्म ४ खर्ब ३७ अर्ब ६६ करोड ७० लाख २७ हजार रुपैयाँ राजश्व संकलनको अनुमान गरेकामा हालसम्म लक्ष्यको ६४.९० प्रतिशत मात्रै राजश्व संकलन भएको हो ।

चैत ४ गतेसम्म २ खर्ब १४ अर्ब १४ करोड ४७ लाख रुपैयाँ बराबर आयकर उठाउने लक्ष्य रहेकोमा हालसम्म १ खर्ब १७ अर्ब ९० करोड ५२ लाख उठेको छ । यो अवधिको आयकर लक्ष्यको ५५.०६ प्रतिशत अर्थात् लक्ष्यको तुलनामा आयकर सङ्कलन करिब ४४.०४ प्रतिशत बिन्दुले कम हो ।

मूल्य अभिवृद्धि कर (भ्याट) सङ्कलन पनि लक्ष्यभन्दा निकै न्यून छ । हालसम्म ९५ अर्ब २४ करोड ६ लाख रुपैयाँ भ्याट उठाउने लक्ष्य राखिएकोमा ६९ अर्ब १३ करोड ३३ लाख रुपैयाँ मात्रै सङ्कलन भएको छ । जुन असुली लक्ष्यको ७२.५ प्रतिशत बराबर हो ।

दोस्रो चौमासिक अवधिमा घरबहाल कर ६९.१७ प्रतिशत सङ्कलन भएको छ । हालसम्म २ अर्ब ४६ करोड ८४ लाख रुपैयाँ बराबर घरबहाल कर उठाउने लक्ष्य राखिएकोमा १ अर्ब ७० करोड ७४ लाख रुपैयाँ बराबर मात्रै उठेको हो ।

स्वास्थ्य सेवा कर असुली लक्ष्यको ८४.६९ प्रतिशत मात्रै देखिन्छ । हालसम्म ५ अर्ब ५० करोड २६ लाख रुपैयाँ स्वास्थ्य कर उठाउने लक्ष्य राखेकोमा ४ अर्ब ७४ करोड ५० लाख रुपैयाँ बराबर मात्रै सङ्कलन भएको देखिएको हो । हालसम्म शिक्षा कर तर्फ १ अर्ब १४ करोड १८ लाख रुपैयाँ शिक्षा कर उठाउने लक्ष्य राखिएकोमा हालसम्म १ अर्ब ६ करोड ४० लाख रुपैयाँ बराबर उठेको हो ।

‘गत मंसिरदेखि राजश्व संकलनमा बृद्धि हुन थालेको छ, गत आर्थिक वर्षको फागुन मसान्तसम्म संकलन भएको राजश्व बराबर नै चालू आवमा उठ्ने हाम्रो अनुमान छ’, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.