निगमको ‘सेफ्टी अडिट’ गर्न कोरियन टोली नेपाल आउने, दक्षिण कोरिया सिधा उडान हुने

  २०७९ चैत २ गते १८:१५     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमको ‘सेफ्टी अडिट’ का लागि दक्षिण कोरियाकाे नागरिक उड्डयन प्राधिकरणको टोली नेपाल आउने भएको छ । निगमलाई कोरियामा उडान स्वीकृति दिनु पहिले निगमको ‘सेफ्टी अडिट’ गर्न दक्षिण कोरियाको टोली नेपाल आउने भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले बिहीबार परराष्ट्र मन्त्रालयलाई पत्र पठाउँदै सेफ्टी अडिट गर्नका लागि पत्राचार गरेको छ । परराष्ट्रले दक्षिण कोरियाको राजधानी सिओलस्थित इन्चोन इन्टरनेशल एयरपोर्टलाई पत्र पठाउनेछ ।

मन्त्रालयले पत्राचार गरेसँगै निगमको सेफ्टी अडिटको प्रक्रिया अगाडि बढाइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।
निगमले सेफ्टी अडिटका लागि निगमकै नायब महाप्रबन्धक (प्राविधिक) इञ्जिनियर विक्रम केसीको संयोजकत्वमा १० सदस्यीय सेफ्टी अडिट उपसमिति गठन गरेको छ । उक्त उपसमितिमा निगमको सेफ्टी, इञ्जिनियरिङलगायत विभागको प्रतिनिधित्व छ ।

‘उडानका लागि दक्षिण कोरियाको मिनिस्ट्री अफ ल्यान्ड, इन्फास्ट्रक्चर अफ एन्ड ट्रान्सपोर्ट (मोलिट) अन्तर्गतको सिभिल एभिएसन अथोरिटीले अडिट गर्नुपर्ने हुन्छ, सोहीको तयारीका लागि निगमको तर्फबाट समिति गठन गरी काम सुरु गर्न लागिएको छ’, निगमका प्रवक्ता खड्काले भनिन् ।

निगमले अन्तर्राष्ट्रिय उडान गन्तव्य विस्तारको योजनाअनुरुप दक्षिण कोरिया सिधा उडानको तयारी सुरु गरेको हो । राष्ट्रिय ध्वजावाहक निगमको उपस्थिति र सिधा उडान सुरु गरेपछि बजार नियन्त्रण भई हवाई टिकटको मूल्य घट्ने र राष्ट्रिय ध्वजाबाहकको दायित्व पनि पूरा हुने निगमको विश्वास छ ।

निगमले हाल भारतका तीन गन्तव्य आठ देशका १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । निगमसँग दुई थान न्यारोबडी ए–३२० र दुई थान वाइडबडी ए–३३० जहाज छन् ।

यसअघि निगमले लामो दुरीमा उडान भर्ने भन्दै २ थान वाईडबडी जहाज ल्याएसँगै दक्षिण कोरियाा, चीन लगायतका गन्तव्यमा उडान विस्तारका तयारी थालेको थियो । उक्त देशको नागरिक उडड्यन प्राधिकरणले निगमले सेफ्टी अडिटको प्रस्ताव गरेसँगै प्रक्रिया रोकिएको थियो ।

नेपालले हवाई सेवा सम्झौता गर्दा दुुइ देशबीच भएको सम्झौता अनुसार उडान भर्नेगरी शर्त राखिएतापनि नेपाललाई सम्झौता अनुसार उडानको अनुमति दिइएको छ ।

सन् २०१३ को जुलाईदेखि नेपाल युरोपेली संघ (इयुु) को कालोसूचीमा रहेको छ । नेपाली आकाश इयुको कालोसूचीमा रहेकोभन्दै अन्य देशका नागरिक उडडयन प्राधिकरणले नेपाली वायुुसेवा कम्पनीहरुलाई उडान अनुमति रोक्दै आएका छन्।

सन् २०१३ मा आइकाओकै अडिट टोलीले नेपालको वायु सेवा कम्पनीलाई दिइने सञ्चालन अनुमति पत्र दिँदा आइकाओको प्रक्रिया पूर्ण रुपमा परिपालन नभएको, अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठनबाट प्रतिपादन गरेका उडान सुरक्षा मपदण्ड परिपालन नगरेकोलगायत अन्य सुरक्षाका विषय न्युन रहेको भन्दै नेपाललाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो ।

आइकाओको रिपोर्टलाई आधारमा इयुले नेपालका सबै वायुसेवा कम्पनीलाई डिसेम्बर २०१३ देखि कालोसूचीमा राख्दै आएको छ । इयुले नेपाललाई कालोसूचीमा राखेका कारण नेपालका कुनै पनि विमानले युरोपेली परिषद् सदस्य रहेका मुलुकमा सिधा उडान गर्न पाएका छैनन् ।

सन् २०१७ मा आइकाओको अडिटले कालोसूचीबाट हटाएपनि युरोपियन युनियनले अझै नेपाललाई उक्त सूचीबाट हटाएको छैन । आइकाओको रिपोर्टलाई आधार बनाएर नेपालले इयु उड्डयन सुरक्षा समिति बैठकमा नेपाललाई कालोसूचीबाट हटाउन आग्रह गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.