नगद कारोबार हुनै छाड्यो, डिजिटल भुक्तानीमा छलाङ

  २०७९ चैत २ गते १२:२५     विकासन्युज

काठमाडौं । पछिल्लो समय अनलाइन प्रयोगकर्ताको संख्या बढ्दै गएपछि कारोबार पनि उच्च हुन थालेको छ । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ्गमा जोड दिएपछि कारोबार डिजिटलबाटै हुन थालेको हो ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको माघसम्म कनेक्ट आइपीएस, मोबाइल बैंकिङ्ग, वालेट, इन्टरनेट बैंकिङ्ग लगायतको कारोबार बढेको छ । गत वर्षको तुलनामा डिजिटल कारोबार ह्वात्तै बढेको हो ।

राष्ट्र बैंकका अनुसार आरटीजीएस, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड लगायतका डिजिटल औजार प्रयोग गर्नेको संख्यामा पनि वृद्धि भएको छ । साथै, कारोबारको संख्या र कारोबार रकम पनि उल्लेख्य रुपमा बढेको राष्ट्र बैंकले जनाएको छ ।

एक वर्षको अवधिमा कनेक्ट आईपीएसमार्फत् ४२ लाख ९९ हजार ३११ पटक ३ खर्ब २८ अर्ब ३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि गत वर्षको सोही अवधिमा ३१ लाख ४० हजार १८० पटक २ खर्ब ३६ अर्ब ४२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । गत वर्षको तुलनामा यस वर्ष ३९ प्रतिशतले कनेक्ट आईपीएस मार्फत कारोबार बढेको हो ।

यस्तै, वालेटमाफर्त हुने कारोबार पनि बढेको छ । माघसम्म १ करोड ६९ लाख ६० हजार ८२८ पटक १७ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत वर्षको सोही अवधिमा १ करोड २९ लाख ५७ हजार ३५३ पटक १४ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत वर्षको तुलनामा १७.७६ प्रतिशतले वालेटको कारोबार बढेको हो ।

मोबाइल बैंकिङ्ग मार्फत् २ करोड २२ लाख १६ हजार ८० पटक १ खर्ब ७२ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत वर्षको सोही अवधिमा १ करोड ३८ लाख ४४ हजार ७१० पटक ९२ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । गत वर्षको तुलनामा ८६ प्रतिशतले मोबाइल बैंकिङ्ग कारोबार बढेको हो ।

क्यूआरमा आधारित भुक्तानी ५७ लाख ७८२ हजार २६५ पटक१७ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत वर्षको माघ मसान्तसम्म १७ लाख ८२ हजार ३६३ पटक ६ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार थियो । गत वर्षको तुलनामा १५८ प्रतिशत क्यूआरमा आधारित भुक्तानी वृद्धि भएको हो ।

डेबिट कार्ड प्रयोग गरी माघसम्म१ करोड १ लाख ८६ हजार ६६२ पटक ७९ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत वर्षको सोही अवधिमा डेबिट कार्डमार्फत् ८२ लाख २४ हजार ५७७ पटक ६४ अर्ब ९७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।गत वर्षको तुलनामा २३ प्रतिशत वृद्धि भएर डेबिट कार्डमार्फत् कारोबार भएको हो ।

क्रेडिट कार्ड प्रयोग गरी समीक्षा अवधिमा २ लाख १३ हजार ४९७ पटक १ अर्ब ३४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत वर्षको सोही अवधिमा १ लाख ६६ हजार २२ पटक ९३ करोड रुपैयाँ बराबरको मात्रै क्रेडिट कार्ड मार्फत कारोबार भएको थियो । गत वर्षको तुलनामा क्रेडिट कार्डको कारोबार ४४ प्रतिशत बढेको हो ।

यस्तै, चालू आर्थिक वर्षको माघसम्म इलेक्ट्रोनिक चेक क्लियरिंग (ईसीसी)मार्फत्९ लाख ७९ हजार २४४ पटक ४ खर्ब ७४ अर्ब ६२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत वर्षको सोही अवधिमा १० लाख ५ हजार ९४७ पटक ६ खर्ब ४१ अर्ब २० करोड रुपैयाँ बराबरको यस्तो कारोबार भएको थियो । गत वर्षको तुलनामा यस्तो कारोबार २६ प्रतिशत घटेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।

यस्तै, रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस)को ६२ हजार ५४४ पटक २२ खर्ब ९५ अर्ब ८० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत वर्षको सोही अवधिमा ५७ हजार ६४० पटक ३१ खर्ब ३३ अर्ब ११ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । गत वर्षको तुलनामा कारोबार धेरै भएपनि रकम भने घटेको छ । गत वर्षको तुलनामा आरटीजीएसमार्फत् हुने कारोबार २७ प्रतिशतले कमी आएको हो ।

चालू आर्थिक वर्षमा डिजिटल कारोबार गर्ने संख्यामा पनि उल्लेख्य वृद्धि भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । वालेट प्रयोगकर्ताको संख्या माघ मसान्तसम्म ४६.४४ प्रतिशतले बढेर १ करोड ६१ लाख २६ हजार ४३३ वटा पुगेका छन् । गत वर्षको सोही अवधिमा १ करोड १० लाख ११ हजार ९३१ वटा वालेट प्रयोगकर्ता रहेका थिए ।

यस्तै, समीक्षा अवधिमा डेबिट कार्ड प्रयोगकर्ताको संख्या २३ प्रतिशत बढेर १ करोड २३ लाख ५ हजार ५०६ वटा पुगेका छन् । गत वर्षको सोही अवधिमा डेबिट कार्ड प्रयोगकर्ताको संख्या १ करोड १२ हजार ९०७ वटा रहेका थिए ।

यस्तै, क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या २९ प्रतिशत बढेर २ लाख ७८ हजार ३२३ वटा रहेका छन् । गत वर्षको माघसम्म २ लाख १६ हजार २७३ वटा क्रेडिट कार्ड प्रयोगकर्ता थिए ।

यस्तै, मोबाइल बैंकिङ्ग ग्राहकको संख्या २२ प्रतिशत बढेर २ करोड ३६ हजार ५२४ जना रहेका छन् । गत वर्षको सोही अवधिमा १ करोड ६४ लाख ७६ हजार ७ सय जना मोबाइल बैंकिङ्गका ग्राहक थिए । यस्तै, माघ मसान्तसम्म इन्टरनेट बैंकिङ्ग ग्राहकहरुको संख्या ११.४६ प्रतिशत बढेर १७ लाख ६४ हजार ८०१ जना रहेका छन् । गत वर्षको सोही अवधिमा १५ लाख ८३ हजार २५३ जना इन्टरमेनट बैंकिङ्गका ग्राहकहरु थिए ।

शाखारहित बैंकिङ्ग केन्द्रको संख्या भने घटेको छ । गत वर्षको माघसम्म १ हजार ५६८ वटा रहेकोमा घटेर १ हजार ४३७ वटामा झरेको छ । तर, कारोबार रकम भने बढ्को छ । गत वर्ष १ अर्ब २८ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा यस वर्ष भने १ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

समीक्षा अवधिमा कनेक्ट आईपीएस प्रयोगकर्ताको संख्या २९ प्रतिशत बढेर १० लाख २२ हजार २७१ जना पुगेका छन् । गत वर्षको सोही अवधिमा ७ लाख ९३ हजार १५१ जना कनेक्ट आईपीएस प्रयोगकर्ता रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.