तीन कम्पनीले १४ जहाज बेच्दै, कसले किन्दैछ ?

  २०७९ चैत २ गते १०:५२     समुन्द्र घिमिरे

काठमाडौं । पछिल्लो समय सरकारी तथा निजी लगानीमा सञ्चालित आधिकाशं वायुसेवा कम्पनीहरुले जहाज बिक्री गर्ने भएका छन् ।
सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमदेखि निजी क्षेत्रका लगानीमा सञ्चालित वायुसेवा कम्पनीहरुले जहाज बिक्री गर्न लागेका हुन् ।

नेपाल एयरलाइन्सले ६ थान चिनियाँ जहाज बिक्रीको (जसमध्ये एउटा जहाज नेपालगन्ज एयरपोर्टमा दुर्घटनाग्रस्त भएपछि स्क्र्याप गरेर इन्स्योरेन्ससमेत दाबी गरिसकेको) तयारी थालेकोे लामो समय भैसक्यो । सुरुवाती चरणमा भाडामा दिने तयारी थालिएको चिनियाँ जहाज भाडामा नलागेपछि निगमले सम्बन्धित कम्पनीलाई नै फिर्ता पठाउने तयारी थालेको छ ।

नेपाल एयरलाइन्सले चीनबाट खरिद गरेका ५ थान चिनियाँ जहाज (५६ सिटे २ थान एमए–६० र १९ सिट क्षमताका ३ थान वाई–१२ ई) बिक्री नभएपछि अर्थ मन्त्रालयको अनुमति अनुसार जहाज फिर्ता पठाउने तयारी थालेको हो ।

जहाजको आम्दानीभन्दा सञ्चालन खर्च बढी भएपछि निगम सञ्चालक समितिले २०७७ को साउन १५ गतेदखि चिनियाँ जहाज ग्राउण्डेड गरेको थियो । जहाज ग्राउण्डेड गरेपछि बिक्रीको तयारी थालेको थियो ।

अर्थ मन्त्रालयले निगमलाई आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई उक्त जहाज भाडामा लगाउन नभए बिक्रीको प्रक्रिया थाल्न निर्देशन दिएको थियो । अर्थको निर्देशन अनुसार जहाज भाडामा लिन कुनै पनि कम्पनी नआएपछि निगमले सम्बन्धित कम्पनीलाई नै जहाज फिर्ता लिन पत्र पठाइसकेको छ ।

भाडामा नगएपछि अर्थ मन्त्रालयले नै गत डिसेम्बर १४ अर्थात मंसिर २८ गते निगमलाई पत्र पठाउँदै एभिक इन्टरनेशनललाई जहाज बिक्री गर्न पत्र पठाएको थियो । अर्थको सहमति अनुसार निगम सञ्चालकले जहाज लिनका लागि पत्र पठाइसकेको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जनाएको छ ।

‘अर्थको स्वीकृति अनुसार निगम सञ्चालकले एभिक इन्टरनेशनललाई जहाज लिनका लागि पत्र पठाइसकेको छ, उताबाट अहिलेसम्म मन्त्रालयमा कुनै जानकारी आएको छैन’, मन्त्रालय स्रोतले भन्यो ।

४० वर्षयता नेपाल वायुसेवा निगमले आन्तरिक सेवामा रहेका ट्वीनअटर डीएचसी ६ मोडलका जहाजहरुलाई विस्थापन गर्न भन्दै २०६८ सालमा चिनियाँ जहाज खरिद योजना अगाडि बढेको थियो ।

यस्तै, निजी क्षेत्रको लगानीमा सञ्चालित गुण एयरलाइन्स र प्रभु हेलिकप्टरले समेत जहाज बिक्रीकोे तयारी थालेका हुन् ।

गुण एयरलाइन्सले २०७८ सालमा यती एयरसँग किनेको ५ वटा जेट स्ट्रिम–४१ सिरिजका जहाज बिक्रीको तयारी थालेको छ ।

गुण एयरका प्रवक्ता तथा मार्केटिङ्ग प्रमुख प्रज्वल थापा पुराना जहाज बिक्रीको तयारी अन्तिम चरणको पुगेको बताउँछन् । यस कम्पनीको जहाज अमेरिकाको एक कम्पनीले खरिद गर्न इच्छा देखाएको बुझिएको छ ।

‘यतीसँग किनेका ५ सहित गुणसँग ७ वटा जहाज भएतापनि ४ वटाले मात्र उडान गर्ने गरेको थियो, उडान नगर्ने जहाज हामीले बिक्रीको तयारी थालेका थियौँ, तयारीकै बीचमा क्यानले उडानमा प्रतिबन्ध लगायो’, थापाले भने, ‘प्रतिबन्धकै बीच जहाज खरिद गर्न अमेरिकाको एक कम्पनीले जहाज लैजाने टुंगो लगभग लागिसक्यो, मूल्यांकनको काम बाँकी छ ।’

उनले पुराना जेट स्ट्रिम जहाज बिक्री गरेर ५० देखि ७० सिट क्षमताका मझौला जहाज ल्याएर गुणले पुनः उडान सुचारु गर्ने बताए ।

प्रभुले ४ वटा बिक्री गर्ने

प्रभु हेलिकोप्टरले हाल सञ्चालन गर्दै आएको चार वटा हेलिकप्टर बिक्रीको तयारी थालेको छ । कम्पनीले चार वटा रोविन्सन हेलिकप्टर बिक्री गरेर एयरबस कम्पनीको नयाँ हेलिकप्टर किन्ने तयारी थालिएको जनाएको छ ।

प्रभु हेलिकप्टरका नायब महाप्रबन्धक नोवलकुमार राजलावत चार थान रोविन्सन हेलिकप्टर बिक्रीको अन्तिम चरणको पुगेको बताउँछन् । ‘हामीसँग पाँच थान रोविन्सन जहाजमध्ये हाल चार वटा बिक्रीको तयारी अन्तिम चरणमा पुगेको छ, उक्त जहाज बिक्री गरेर एयरबस कम्पनीका जहाज ल्याउँछौँ’, उनले भने ।

पाँचमध्ये कम्पनीले हालका लागि सन् २०१८ मा किनेको एउटा रोविन्सन हेलिकोप्टर भने चलाउने जनाईएको छ ।

क्यानडा पुग्यो बुद्धले २५ वर्ष चलाएको जहाज

बुद्ध एयरले २५ वर्ष अगाडि उडान यात्रा सुरु गरेको पहिलो जहाज बिचक्राफ्ट जहाज बिक्री गरिसकेको छ । केही दिन अगाडि बुद्धले पुराना जहाज क्यानेडियन कम्पनीलाई बिक्री गरिसकेको छ । बुद्धले आजभन्दा २५ वर्ष अगाडी बिचक्राफ्ट ‘बी १९०० डी’ जहाजबाट हवाई यात्रु सुरु गरेको थियो ।

नेपाली आकाशमा ७५ हजार पटक उडान अवतरण गरेको पुरानो चहाल क्यानडाको कम्पनीलाई बिक्री गरिएको बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्र वहादुर बस्नेतले जानकारी दिए ।

उनका अनुसार नेपाली आकाशमा उडान गर्ने सबै जहाज थोत्रा र पुराना हुन भन्नेहरुका लागि बुद्धले बिक्री गरेको बिचक्राफ्ट जहाज उदाहरण हो । जहाज पुरानो नहुँने भन्नै तोकिएको समयमा मेन्टेनेश गरेर २५ वर्षदेखि जहाज चलाईएको उनको बताए ।

१९९७ सेप्टेम्बर ३० मा नेपाल पहिलो पटक नेपाल ल्याईएको बिचक्राफ्ट जहाजको नेपाली दर्ता नम्बर ‘नाइन एन –एईई’ र दोस्रो जहाज सन् १९९८ मा खरिद गरिएको बिचक्राफ्टको दर्ता नम्बर ‘नाइन एन –एईडब्लू’ रहेको छ ।

पुराना जहाज उडाउँदा खर्च धेरै हुन थालेपछि बुद्धले हालै क्यानेडियन कम्पनीलाई बिचक्राफ्ट बिक्री गरेको हो ।

नागरिक उडड्यन प्राधिकरण (क्यान) भने बुद्ध एयरले पुराना जहाज बिक्री गरिसकेको भन्दै अन्य एयरलाइन्सका जहाज बिक्रीको जानकारी नआएको जनाएको छ ।

क्यानका प्रवक्ता जगन्नाथ निरौला बुद्ध एयरले सञ्चालन गरेका जहाज मात्र बिक्री भएको बताए । गुण एयर र प्रभु होलिकप्टरका जहाज बिक्रीको औपचारिक रुपमा कुनै जानकारी नगराएको उनको भनाइ छ ।

‘हामीसँग गुणले जहाज बिक्रीको विषयमा कुनै जानकारी गराएको छैन, मैले पहि समाचार देखेर थाहा पाएको हो’, उनले भने, बिक्रीको आन्तरिक तयारी भएको होला, हामीकहाँ भुक्तानी गर्नुपर्ने बक्यौता रकम पूर्ण रुपमा भुक्तानी नभएसम्म जहाज बिक्रीको अनुमति दिदैनौं।’ जहाज खरिद तथा बिक्रीका लागि क्यानले अनुमति दिनुपर्छ ।

पछिल्लो समय निगमको टिवनअटर, श्री एयरका तीनवटा र सौर्यले एउटा जहाज ग्राउन्डेड गरेर राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.