पाँच क्यासिनाेको बक्यौता २ खर्ब, भुक्तानी गर्न ३५ दिने म्याद

  २०७९ फागुन २९ गते १२:२३     विकासन्युज

काठमाडौं । ५ वटा होटलमा सञ्चालीत क्यासिनोको बक्यौता रकम करिब २ खर्ब रुपैयाँ रहेको पाइएको छ ।

महालेखा नियन्त्रक कार्यालय अन्तरगतको कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयले सोमबार जारी गरेकाे सूचना अनुसार विभिन्न होटलमा सञ्चालन भएका क्यासिनोको बक्यौता रकम १ अर्ब ८१ करोड ८१ लाख ४५ हजार ४ सय १२ रुपैयाँ रहेको हो ।

कार्यालयका अनुसार नेपाल रिक्रीयसन सेन्टर प्रालि, दि फुलबारी लिमेटड, अन्नपूर्ण इन्टरनेशनल प्रा.लि दरबारमार्ग, ह्यापी आवर प्रा.लि र होटल याक एण्ड यतीमा सञ्चालन भएकाे क्यासिनो रहेका छन् ।

कार्यालयले सोमबार एक सूचना जारी गर्दै ३५ दिनभित्र बक्यौता रकम भुक्तानी गर्न अन्तिम मौका दिएको हो । उनीहरुको तीनपुस्ते विवरण सार्वजनिक गर्दै कार्यालयले तोकिएको म्यादभित्र रकम नतिरेमा थप कारबाही अघि बढाउने र यसो गर्दा आर्थिक हानी नोक्सानी तथा सामाजिक प्रतिष्ठामा क्षति भएमा आफू जिम्मेवार नहुने महालेखा नियन्त्रक कार्यालयले चेतावनी दिएको छ ।

सूचना अनुसार सबैभन्दा धेरै बक्यौता रकम नेपाल रिक्रीयसन सेन्टर प्रालिको रहेको छ । ९० करोड ५० लाख १३ हजार रुपैयाँ बक्यौता रहेको उक्त सेन्टरका सञ्चालक भारतीय नागरिक राकेश बाधवा हुन । क्यासिनोका अन्य सञ्चालकहरु शान्ती चड्डा, तुलाराम भट्ट, सुवर्ण क्षत्री, रिचर्ड डोयल टटल र शालिन बाधवा रहेका छन् ।

यस्तै, होेटल याक एण्ड यतीमा सञ्चालित क्यासिनोको बक्यौता २० करोड बढी रहेको छ । सूचना अनुसार राधेश्याम सराफ सञ्चालक रहेको उक्त होटलको बक्यौता रकम २० करोड ८ लाख ६६ हजार रुपैयाँ रहेको छ ।

यसैगरी, बन्द रहेको पाँचतारे होटलमा रहेको दी फुलवारी ली क्यासिनो पोखराको नाममा ४१ करोड ७१ लाख ३४ हजार रुपैयाँ बक्यौता रहेको छ । क्यासिनो सञ्चालकहरुमा पियुष बहादुर अमात्य, गंगा अमात्य, सञ्जु अमात्य राजभण्डारी, नुरो श्रेष्ठ, सुमी अमात्य, आयुष अमात्य र आन्टु अमात्य रहेका छन् ।

ह्यावी आवर प्रालिको ९ करोड २७ लाख ६७ हजार ९ सय ४१ रुपैयाँ बक्यौता रहेको छ । यसका सञ्चालक सुरेन्द्र बहालुर सिंह र भोज बहादुर बम रहेको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

अन्नपूर्ण होटलमा सञ्चालन भएको अन्नपूर्ण ईन्टरनेशनल प्रालिको नाममा १९ करोड ७७ लाख ६२ हजार रुपैयाँ बक्यौता रहेको छ। यसका सञ्चालकहरु तप्तबहादुर विष्ट, नरेन्द्रलाल प्रधान, कल्पदीप राई, इश्वरी प्रसाद श्रेष्ठ र जोत्सना बस्नेत रहेको कार्यालयको सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.