अर्थतन्त्र ठीकठाक भएको राष्ट्र बैंकको सन्देश, १० महिनाको आयात धान्ने वैदेशिक मुद्रा

  २०७९ फागुन २८ गते १४:३२     विकासन्युज

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ७ महिनामा अर्थतन्त्रका महत्वपूर्ण सूचकहरु सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार अर्थतन्त्रका महत्वपूर्ण सूचकहरुमा सुधार देखिएकको हो । पछिल्लो समय बैदेशिक रोजगारीमा जानेहरुको संख्या बढेपछि रेमिट्यान्स पनि सुधार देखिएको छ भने विदेशी मुद्राको सञ्चिति पनि बढको छ । अर्थतन्त्रका विभिन्न सूचकहरु सुधार हुँदा अर्थतन्त्र पनि सही दिशामा रहेको राष्ट्र बैंकको सन्देश छ ।

शोधनान्तर स्थिति १ खर्ब ३३ अर्बले बचतमा

चालू आर्थिक वर्षको माघ मसान्तसम्म शोधनान्तर स्थिति १ खर्ब ३३ अर्ब २१ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२४७ अर्ब ३ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ७ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब १ करोडले बचतमा रहेको छ ।

यस्तै, समीक्षा अवधिमा चालु खाता रु.२९ अर्ब ६४ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.४११ अर्ब ३४ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब ४५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २३ करोड ४६ लाखले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १५.२ प्रतिशतले कमी आई रु.५ अर्ब ३५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.६ अर्ब ३१ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१६ अर्ब २९ करोड रहेको थियो ।

पौने १४ खर्ब पुग्यो विदेशी मुद्राको सञ्चिति

चालू आर्थिक वर्षको माघ मसान्तसम्म विदेशी मुद्राको सञ्चिति १३.८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको माघ मसान्त सम्मको तथ्यांक अनुसार २०७९ असार मसान्तमा रु.१२१५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.८ प्रतिशतले वृद्धि भई २०७९ माघ मसान्तमा रु.१३८३ अर्ब ३३ करोड पुगेको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ माघ मसान्तमा १०.२ प्रतिशतले वृद्धि भई १० अर्ब ५० करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु.१०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ माघ मसान्तमा १६.२ प्रतिशतले वृद्धि भई रु.१२२८ अर्ब ५ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु.१५९ अर्ब ४१ करोड रहेकोमा २०७९ माघ मसान्तमा २.६ प्रतिशतले कमी आई रु.१५५ अर्ब २८ करोड कायम भएको छ ।

२०७९ माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.४ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७९र८० को सात महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १०.८ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०७९ माघ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २८.५ प्रतिशत, ७८.३ प्रतिशत र २४.० प्रतिशत रहेका छन् । २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २५.१ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।

रेमिट्यान्स पनि बढ्यो

७ महिनासम्म पौने ७ खर्ब रुपैयाँ रेमिट्यान्स पुगेको छ । चालू आव ७ महिनाको तथ्यांक अनुसार विप्रेषण आप्रवाह २७.१ प्रतिशतले वृद्धि भई ६८९ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.४ प्रतिशतले वृद्धि भई ५ अर्ब ३० करोड पुगेको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५७.३ प्रतिशतले वृद्धि भई ३ लाख १४ हजा ७६७ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १०.१ प्रतिशतले वृद्धि भई १ लाख ६७ हजार ७०८ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २६५.९ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर २५.२ प्रतिशतले वृद्धि भई रु.७५९ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.७ प्रतिशतले घटेको थियो ।

आयात र निर्यात घट्यो

चालू आर्थिक वर्षको सात महिनामा नेपालले ९३ अर्ब बराबरको निर्यात गरेको छ । सात महिनाको तथ्यांक अनुसार नेपालले ९३ अर्ब ४३ करोड रुपैयाँ बराबरको स्वदेशी वस्तुको निर्यात गरेको हो । बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्षको सोही अबधिमा ८८.३ प्रतिशतले निर्यातमा वृद्धि भएको थियो । गत आवको तुलनामा चालु आवको सो अवधिमा २९ प्रतिशतले निर्यातमा कमी आएको हो ।

यस्तै, चालू आवको सात महिनाको अबधिमा नेपालले विभिन्न देशबाट ९ खर्ब १९ अर्ब १७ करोड बराबरको विदेशी वस्तुको आयात गरेको छ । अघिल्लो आवकोे तुलनामा चालू आवको सो अबधिमा १९.९ प्रतिशतले आयातमा कमी आएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४२.८ प्रतिशतले बढेको थियो । भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १८ प्रतिशत, २४.३ प्रतिशत र २२ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पोन्ज आइरन, रासायनिक मल, सुन, अन्य स्टेशनरी सामान लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, औषधी, एम.एस.विलेट, दूरसञ्चारका उपकरण तथा पार्ट्स, चाँदी लगायतका वस्तुको आयात घटेको छ ।

मूल्यवृद्धि बढेको बढ्यै

चालू आर्थिक वर्षको सात महिनाको अबधिमा ७.८८ प्रतिशतले मूल्य वृद्धि बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत साउनदेखि माघ मसान्तसम्मको तथ्यांक अनुसार मूल्यबृद्धि ७.८८ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही महिनामा ६.२४ प्रतिशत मूल्यबृद्धि रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.१९ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.२२ प्रतिशत रहेको छ ।

सात महिनाको अबधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेष्टुरेण्ट तथा होटल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५.२४ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.३९ प्रतिशत, सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशत, मदिराजन्य पेय पदार्थको ८.७८ प्रतिशत र मरमसलाको ८.०४ प्रतिशतले बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.