लक्ष्मी-सनराइज मर्जर : अध्यक्ष र सीईओ लक्ष्मीले पाउने, कर्मचारीको हैसियत बराबर

  २०७९ फागुन १६ गते १४:४९     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले लक्ष्मी बैंक र सनराइज बैंकलाई मर्जरका लागि सैद्धान्तिक सहमति दिएको छ । राष्ट्र बैंकले २ साता अघि दुवै बैंकलाई मर्जरका लागि सैद्धान्तिक सहमति दिएको हो ।

लक्ष्मी बैंकका सञ्चालक मनिष थापाले सैद्धान्तिक सहमति पाइसकेकोले जति सक्दो छिटो एकीकृत कारोबार गर्ने किसिमले काम भइरहेको बताए । अर्थमन्त्रालयका अर्थ सचिव परिवतर्न भएका कारण राष्ट्र बैंकले स्वीकृति दिन ढिला गरेको थियो । राष्ट्र बैंकको सञ्चालकमा अर्थसचिव परिवर्तन भएका कारण सैद्धान्तिक सहमति आउन ढिला भएको उनको भनाइ छ ।

मर्जर कमिटीका सदस्य समेत रहेका सञ्चालक थापाका अनुसार बैंकमा कार्यरत कर्मचारी संयोजन, बैंकको आइटि सिस्टम र शाखा कार्यालयको एकीकरणका लागि दुवै बैंकका सम्बन्धित विभागका प्रमुखहरुको मर्जर कमिटीमा प्रतिवेदन पेश गर्ने तयारी छ । तथापि, कर्मचारी समायोजन भने बराबरी हैसियतमा हुने प्रारम्भिक छलफल भएको छ ।

‘एक डेढ महिनाभित्रमा सबै खाका आउँछ, ५ प्रतिशतभन्दा बढी फरक आएपछि सोही अनुसार गर्ने प्रारम्भिक सम्झौता भएको छ, दुइटै बैंकको सिस्टम एउटै प्रकृतिको छ, त्यसैले पनि डीडीए रिपोर्टमा धेरै फेरबदल नआउनेमा हामी विश्वस्त छौं,’ उनले भने ।

मर्जरपश्चात् बैंकको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) दुवै लक्ष्मी बैंकले पाउने प्रारम्भिक सहमति भएको बताइएको छ ।मर्जरपश्चात् लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल बैंकको अध्यक्ष र सीईओ अजय बहादुर शाह बन्नेछन् । ‘लक्ष्मी बैंकले अध्यक्ष र सीईओ पाउने मौखिक सहमति भएको छ, सोही अनुसार मात्रै बैंकले मर्जर सम्झौता गरेको हो,’ थापाले भने ।

राष्ट्र बैंकले ३ महिनाभित्र मर्जर सम्पन्न गर्न समय सीमा तोकेको छ । सोही अनुसार जेठ मसान्तसम्म दुवै बैंकले एकीकृत कारोबार गर्ने लक्ष्य लिएका छन् । यदि जेठमा मर्जर सम्पन्न नभएमा साउनमा मात्रै एकीकृत कारोबार हुने उनको भनाइ छ ।

लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले गत पुस २५ गते मर्जरका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका थिए । संयुक्त मर्जर समितिमा लक्ष्मी बैंकका तर्फबाट सञ्चालकहरु डा। मनिष थापा र स्वति रुङ्गटा र सनराइज बैंकको तर्फबाट सञ्चालकहरु शारदा शर्मा र दिपक नेपाल छन् ।

लक्ष्मी र सनराइज बैंकको सेयर स्वाप रेसियो १ः१ अनुपातमा हुने बताइएको छ । तर, दुवै बैंकको विस्तृत ड्यु डिलिजेन्स अडिट (डीडीए) रिपोर्टमा ५ प्रतिशतभन्दा बढी आएमा सोही अनुसार कायम हुने उल्लेख छ । मर्जरपश्चात् लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.