करोडौंको लगानीमा कुसुन्तीमा लिफ्टसहितको ओभरहेड ब्रिज बन्दै, देशकै नमुना

  २०७९ फागुन १६ गते १०:५५     विकासन्युज

फाइल तस्वीर

काठमाडौं । ललितपुर महानगरपालिकाले सुविधा सम्पन्न आधुनिक प्रविधिको आभरहेड ब्रिज (आकाशे पुल) को निर्माण गर्ने भएको छ । महानगरपालिकाले चक्रपथ कुसुन्तीमा उक्त ब्रिज निर्माण गर्ने योजना बनाएको हो ।

महानगरपालिकाले कुसुन्तीमा पहिलो चरणमा एउटा ओभरहेड ब्रिज निर्माण गर्न लागेको महानगरपालिको पूर्वाधार विकास महाशाखाका प्रमुख तथा बरिष्ठ इन्जिनियर श्रीकुमार महर्जनले बताए । महानगरले ब्रिजको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पनि तयार पारिसकेको छ ।

डीपीआर तयार पारेसँगै महानगरले निर्माण स्वीकृति लिन सडक विभाग अन्तर्गतको पुल महाशाखालाई प्रतिवेदन पठाएको पनि महर्जनले जानकारी दिए । ‘ब्रिज निर्माण गर्ने भनिएको ठाउँ सडक विभागको क्षेत्रभित्र पर्छ, त्यसैले अहिले हामीले पुल महाशाखामा ब्रिज निर्माण गर्न पाउँ भनेर स्वीकृति मागेका छौं,’ उनले भने ।

महानगरपालिकाले सडकमा सवारीसाधनको चाप पढ्दै गएको पैदल यात्रीलाई सडक पार गर्ने समस्यालाई मध्यनजर गर्दै सो योजना अघि सारेको उनले बताए । महानगरपालिकाले सुविधा सम्पन देशकै नमुना ब्रिज बनाउने लक्ष्य लिएको छ ।

यो आयोजनामा पुल महाशाखाले पनि बजेटको विनियोजन गर्ने सक्ने महर्जनले बताए । उनका अनुसार सडक विभाग र महानगरबिच सहकार्य गरेर नै उक्त ब्रिजको निर्माण कार्य सुरु हुनेछ ।

ललितपुर महानगरपालिकाले पनि चालू आर्थिक वर्ष २०७९/८० मा चक्रपथ कुसुन्ती लगायतका सडकमा आभरहेड ब्रिज गर्ने कार्यक्रम राखेको छ । त्यसको लागि महानगरपालिकाले ५ करोड ५ हजार रुपैयाँ बजेट पनि छुट्याएको छ ।

महानगर र पुल महाशाखा बिच सहकार्य भई बजेट सुनिश्चित हुन सक्यो भने चालू आर्थिक वर्षभित्रै ब्रिज निर्माण हुन सक्ने महर्जनको भनाइ छ । महर्जनका अनुसार ब्रिज लिफ्ट सहितको हुनेछ ।

डिपीआरमा ब्रिज ६ वटा सटरलाई पनि समावेश गरेर तयार गरिएको छ । ब्रिजमा शौचालय, कफीसफ लगायतका सेवा सुविधाहरु हुनेछन् । तर, डीपीआरमा समावेश गरिएका पूर्वाधारहरु केही फेरबदल हुन सक्ने पनि महर्जनले बताए ।

केही समय अघि ब्रिज निर्माणको विषयलाई लिएर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र प्रधानमन्त्री पुष्पकमल दाहालबिच पनि छलफल भएको थियो । ब्रिज अपाङ्गमैत्री हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.