२०७९ फागुन १५ गते १५:३० विकासन्युज
कास्की । आइतबार साँझ परेको असिनाका कारण कास्कीको पोखरा महानगरपालिका वडा नं २१ दोपहरे क्षेत्रमा साढे दुई करोड रुपैयाँभन्दा बढीको सुन्तला बालीमा क्षति पुगेको छ ।
असिनाका कारण पालुवा पलाउँदै गरेका तथा फूल खेल्न थालेका सुन्तलाका बोटमा हाँगा, पात आदिमा नराम्रोसँग क्षति पुगेको महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कँडरियाले जानकारी दिए ।
दोपहरे क्षेत्रमा करिब २० हजार सङ्ख्याका सुन्तलाका बोटबाट उत्पादन भइरहेको र बर्सेनि यहाँका स्थानीयले लगभग पाँच करोड रुपैयाँ आम्दानी गर्ने गरेको उनले बताए । महानगरपालिकाले उक्त क्षेत्रमा विगत चार वर्षयता सुन्तला बगैँचा व्यवस्थापन कार्यक्रमअन्तर्गत सहयोग पनि गरिहेको छ ।
महाशाखा प्रमुख कँडरियाका अनुसार असिनाका कारण यस क्षेत्रमा करिब साढे दुई करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको अनुमान गरिएको छ । प्रकृतिजन्य प्रकोपका कारण बर्सेनि कृषक मर्कामा परिरहेको बताउँदै उनले क्षतिको जोखिमलाई न्यूनीकरण गर्न कृषि बीमा गर्नुपर्नेमा जोड दिए । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.