माइतीघर-तीनकुने साइकल लेन निर्माण सुरु हुँदै, करिडोर क्षेत्रमा ओभरहेड लेनको अध्ययन गरिँदै

  २०७९ फागुन १४ गते १३:०४     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले माइतीघर–तीनकुने खण्डमा साइकल लेन निर्माण थाल्ने भएको छ । महानगरपालिकाले चालू आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्म सो खण्डमा साइकल लेन निर्माण सुरु गर्ने योजना बनाएको हो ।

माइतीघरदेखि तीनकुनेसम्म साइकल लेन निर्माण गरी सञ्चालन गर्नको लागि छिट्टै टेन्डर आह्वान गर्ने तयारी गरिरहेको काठमाडौं महानगरपालिकाका सार्वजनिक निर्माण विभाग प्रमुख रामबहादुर थापाले बताए ।

सो खण्डमा साइकल लेन निर्माण गर्नको लागि वि।सं। २०७६ मा महानगरले गुरुयोजना तयार गरेको थियो । तर, हालसम्म साइकल लेनको काम अगाडि बढाउन सकेको छैन ।

महानगरअन्तर्गतको सहरी योजना आयोगले माइतीघरदेखि बानेश्वर हुँदै तीनकुने–कोटेश्वरसम्म साइकल लेन बनाउने गुरुयोजना तयार गरेका थियो । तर, पछि आयोगले बनाएको डिजाइन नै फेरबदल गरेका कारण केही समय लागेको महानगरको भनाइ छ ।

‘यो ठाउँमा मात्र साइकल लेन बनाएर कतिको उचित हुन्छ, त्यहाँदेखि के गर्ने, बीचमा साइकल लेन बनाउँदा हुन्छ हुँदैन भन्ने कुरा उठिरहेको छ, डिजाइन तयार भइसकेकाले टेन्डर गर्ने भन्ने कुरा भएको छ,’ उनले भने ।

अवसर भन्दा चुनौती बढी भएकाले पनि उक्त साइकल लेन निर्माण गर्नमा महानगर दुबिधामा देखिन्छ । यद्यपि अब भने साइकल लने निर्माणको तयारीमा महानगर जुटेको हो ।

माइतीघरदेखि तिनकुनेसम्म लगभग ३.५ किलोमिटर छ । २०७६ मा सो ठाउँमा साइकल लेन निर्माण गर्न महानगरले तीन करोड बजेट छुट्याएको थियो । साइकल लेनको महानगर भित्र सबैभन्दा बढी सम्भावना रहेको ठाउँ पनि माइतीघर–तीनकुने नै रहेको पनि थापाले जानकारी दिए ।

महानगरपालिकाले साइकल लेन निर्माण गर्ने भने ठाउँमा नै विद्युत प्राधिकरणले भूमिगत तार बिछ्याउने र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) खानेपानीको पाइप बिछ्याउने तयारी गरिरहेको छ । सो कामले महानगरको काममा अफ्ठयारो नपरोस्, र महानगरको कामले त्यो काम नरोकियोस् भन्ने सहकार्य भइरहेको पनि थापाले बताए ।

महानगरपालिकाका साइकल लेन निर्माण गर्नु भन्दा पहिला नै उक्त काम सकियोस् भन्ने योजनामा छ । थापाका अनुसार वैशाख या जेठबाट साइकल लेन निर्माणको काम सुरु हुनेछ । महानगरपालिकाले चालू आर्थिक वर्षमा उक्त खण्डमा साइकल लेन निर्माण गर्नको लागि ५ करोड रुपैयाँ बजेट छुट्याएका छ ।

नेपाल साइकल संघका अध्यक्ष गोपी सुन्दरलाल कश्यपति महानगरका भित्र साइकल लेन अति आवश्यक रहेको बताउँछन् । उनका अनुसार लेन निर्माणको लागि महानगरसँग संघले पहल गरिरहेको छ ।

साइकल लेन लगभग १.२ मिटर चौडाइ पुग्ने पनि कश्यपतिले बताए । ‘साइकल लेन नहुँदा मान्छेलाई साइकल कुदाउन समस्या हुन्छ, अहिले साइकल चढ्ने अभ्यास पनि कम हुँदै गएको छ, महानगरको प्रत्येक ठाउँमा साइकल लेन आवश्यक छ,’ उनले भने ।

साइकल लने निर्माण गरेमा काठमाडौं भित्र पर्यटकीय गतिविधि पनि बढ्ने उनको भनाइ छ ।

ओभरहेड लेनको अध्ययन गरिँदै

ओभरहेड साइकल लेन महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) को नयाँ योजना हो । बालेन निर्वाचित भएपछि पहिलो कार्यकालको नीति तथा कार्यक्रममा यो योजनालाई समावेश गरेका छन् ।

महानगरपालिकाले चालू आर्थिक वर्षमा महानगर भित्र ओभरहेड साइकल लेनको सम्भाव्यता अध्ययन गर्नको लागि एक करोड रुपैयाँ बजेट छुट्याएको छ । काठमाडौं महानगरपालिकाले करिडोर क्षेत्रमा ओभरहेड साइकल लेनको सम्भाव्यता अध्ययन गर्ने तयारी गरिरहेको बुझिएको छ ।

महानगरपालिका अनुसार बागमती, विष्णुमती र धोविखोला करिडोरमा ओभरहेड साइकल लेनको सम्भाव्यता अध्ययन गरिनेछ । चालू आर्थिक वर्ष भित्र सो ठाउँमा सम्भाव्यता अध्ययन गरिने विभागीय प्रमुख थापाले बताए ।

‘सम्भवत यो आर्थिक वर्ष भित्र नै यसको अध्ययन हुन्छ, टेकनिकल्ली र आर्थिक हिसाबले पनि उपयुक्त ठिक छ कि छैन भनेर अध्ययन गर्न लागेका हौं, त्यसपछि कार्यक्रम अगाडि बढाउने हो,’ उनले भने ।  २२ मिटरको सडकमा मात्रै ओभरहेड साइकल लेनको निर्माण गर्न हुने उनको भनाइ छ । ्

One comment on "माइतीघर-तीनकुने साइकल लेन निर्माण सुरु हुँदै, करिडोर क्षेत्रमा ओभरहेड लेनको अध्ययन गरिँदै"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.