२०७९ फागुन १२ गते १२:०२ विकासन्युज
पर्वत। पर्वतको जलजला गाउँपालिका–२ पूर्णगाउँस्थित प्रसिद्ध ऐतिहासिक आदिबराह मन्दिरको पुनःनिर्माण गरिएको छ । तेह्रौँ शताब्दीमा जुम्लाबाट बसाइँ सरेर मल्लाज आएका घर्ती क्षेत्री र कार्की क्षेत्रीले २०४२ सालमा निर्माण गरेको आदिबराह ताल परिसरको मन्दिर २०७२ सालको भूकम्पबाट क्षत–विक्षत भएको थियो ।
पुर्खाले निर्माण गरेको मन्दिर चन्दा जुटाएर पुनःनिर्माण गरिएको जलजला–२ का वडाध्यक्ष तथा मन्दिर पुनःनिर्माण समितिका अध्यक्ष प्रकाश जिसीले जानकारी दिए । ‘एक करोड ५० लाख रुपैयाँ चन्दा जुटाएर दुईवटा मन्दिर पुनःनिर्माण गरेका हौँ’, उनले भने, ‘मन्दिर पुनःनिर्माणसँगै ऐतिहासिक र धार्मिक महत्वको आदिबराहलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अभियानमा जुटेका छौँ ।’
मन्दिर पुनःनिर्माणका लागि हाल बेलायतमा बसोबास गर्ने रवीन्द्रजङ्ग लामिछानेले बढी २५ लाख रुपैयाँ सहयोग गरेका छन् । समुद्री सतहदेखि एक हजार नौ सय ५० मिटरको उचाइमा अवस्थित बराहताल तीन रोपनी आठ आना क्षेत्रफलमा फैलिएको छ । करिब तीन मिटर गहिरो यस तालको पृष्ठभूमिमा धवलागिरि र नीलगिरि हिमाल देखिन्छ ।
स्थानीय नवीन जिसीले भने, ‘बस्तीदेखि टाढा एकान्त वातावरणमा रहेको बराहताल र मन्दिर पर्यटक र पूर्वाधारको पर्खाइमा छ ।’ यहाँबाट पर्वत, म्याग्दी र बागलुङका विभिन्न बस्तीको अवलोकन गर्न सकिन्छ । हिमालको छायाँ पर्दा ताल निकै आकर्षक र मनमोहक देखिन्छ ।
पर्वतको वारीबेनी हुँदै मल्लाजबाट दुई घण्टा उकालो हिँडेपछि बराहताल पुगिन्छ । अङ्ग्रेजी अक्षरको ‘सी’ आकारको तालको सौन्दर्य र विशेषता मल्लाजमै सीमित छ । आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुनसकेको छैन । यो जलजला गाउँपालिकाको सबैभन्दा ठूलो ताल हो । बराहताल कहिल्यै सुक्दैन । तालको पानी पुरानो गाउँ र मल्लाजमा खानेपानी तथा सिँचाइका लागि समेत प्रयोग गरिएको छ ।
जनै पूर्णिमामा बराहतालमा विशेष मेला लाग्छ । त्यहाँ पूजाआजा र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । सन्तान लाभ, रोजगारी, व्यापार, व्यवसायमा सफलताका लागि कामना गर्न त्यहाँ जाने गरेका छन् । मनोकामना पूरा भएपछि साँढे, बोका र परेवाको बलि चढाउने चलन छ ।
तालको बीच भागमा अवस्थित बयसको रूख यहाँको अर्को आकर्षण हो । सोही रूखको फेदीमा रहेको जलबराह देवताको मूर्तिमा पूजाआजा गरिन्छ । ताल परिसरमा निर्माण भएको घर्ती क्षेत्री र कार्की थरका क्षेत्री समुदायको कूल मन्दिरलाई अन्य समुदायको पनि धार्मिकस्थलका रूपमा विकास गर्ने प्रयास गरिएको मन्दिर पुनःनिर्माण समितिको आर्थिक संयोजक डम्मरबहादुर जिसीले बताए। पुनःनिर्मित मन्दिरको गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरे । उद्घाटन समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मुख्यसचिव शङ्करदास बैरागीलगायतको उपस्थिति थियो । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.