सिभिल छोडेका सुनिल पोखरेल विदेशी बैंकको सीईओ बन्दै, ३ वर्षका लागि नियुक्त हुँदै

  २०७९ फागुन ११ गते १७:४१     विकासन्युज

काठमाडौं । सिभिल बैंक छोडेका सुनिल पोखरेल विदेशी बैंकको प्रमुख कार्यकारी अधिकृत बन्ने भएका छन् । उनी पपुवा न्यूगिनीको दि टिचर सेभिङ्ग एण्ड लोन सोसाइटी (टिसा) बैंक लिमिटेडको सीईओ बन्न लागेका हुन् । उनी ३ वर्षका लागि सो बैंकको सीईओ बन्न लागेको बुझिएको हो ।

उनी बुधबार मात्रै सिभिल बैंकको सीईओबाट बाहिरिएका हुन् । सिभिलबाट बाहिरिएसँगै उनी विदेशी बैंकको सीईओ बन्ने निर्णयमा पुगेका हुन् । उनको नियुक्तीको विषय भने भोलि अर्थात् शुक्रबार फाइनल हुनेछ ।

पोखरेलले सिभिल बैंक छोडेसँगै विदेशी बैंक टिसाको सीईओ बन्ने कुरा भएको विकासन्युजसँग बताए । ‘सिभिल बैंकमा सबै विषय मिलाइयो, साथीहरुको भावना पनि समेटियो, अब विदेशमा पनि काम गर्नु पर्छ भन्ने मानसिकता बनाएपछि टिसा बैंकसँग कुरा भएको हो, भोलि मात्रै यकिन हुन्छ,’ उनले विकासन्युजसँग भने ।

उनीसँग यसअघि पनि विदेशी बैंकमा काम गरेको अनुभव छ । उनले म्यानमारस्थित युनाइटेड अमरा बैंकमा पनि काम गरिसकेका छन् । त्यसपछि उनले म्यानमारकै एजीडी बैंकमा काम गरे । उनले करिब २० वर्ष तत्कालिन ग्रिण्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकमा काम गरे । उनले एनआइसी एसिया बैंकमा पनि करिब ५ वर्ष काम गरे । नबिल बैंकमा पनि एक वर्ष काम गरेको उनीसँग अनुभव छ ।

२०७८ जेठमा उनी सिभिल बैंकको सीईओ बनेका थिए । अहिले सिभिल बैंक हिमालयन बैंकसँग गाभिएपछि उनले सो बैंकबाट बाहिरिने निर्णय गरे लगत्तै विदेशी बैंकको सीईओ बन्ने अवसर पाएका हुन् । सिभिल बैंकबाट पोखरेलसहित ८ जना व्यवस्थापन टीमका कर्मचारीले स्वेच्छिक अवकास सुविधा (भिएसआर) लिएर बाहिरिएका छन् । उनीहरु दुई वर्षको सेवा सुविधा लिएर बाहिरिएका हुन् ।

सिभिल बैंकका तत्कालीन सीईओ गोविन्द्र गुरुङले सिभिल छोडेर विदेशी बैंकको सीईओ बन्न गएपछि सिभिल बैंकको सिईओ पोखरेल बनेका थिए । सिभिल बैंकको सीईओ बनेपछि विदेशी बैंकमा जाने अभ्यास पनि देखिएको छ ।

विदेशी बैंकिङ सम्बन्धि राम्रो ज्ञान तथा अनुभव भएको बैंकरका रूपमा पोखरेल चिनिन्छन् । सन् १९९१ बाट बैंकिङ करिअर सुरु गरेका पोखरेलले सिभिल बैंकलाई बैंकिङ क्षेत्रमा एक प्रतिस्पर्धी बैंकका रुपमा स्थापित गरेका छन् ।

कस्तो बैंक हो टिसा ?

दी टीचर्स सेभिङ्स एण्ड लोन सोसाइटी लिमिटेड (टिसा) पपुवा न्यूगिनीको एउटा वाणिज्य बैंक स्तरको वित्तीय संस्था हो । यो  बचत तथा ऋण समाज र प्यासिफिकको सबैभन्दा ठूलो क्रेडिट युनियन हो ।

टिसा बचत तथा ऋण समाज ऐन २०१५ अन्तर्गत दर्ता गरिएको बचत र ऋण समाज हो । नेपालमा बैंक तथा वित्तीय संस्थाको नियमन तथा सुपरिभिजन नेपाल राष्ट्र बैंकले गरे जस्तै यसको नियमन बैंक अफ पपुवा न्यूगिनीले गर्छ । यो कम्पनीलाई लगानी प्रवर्द्धन प्राधिकरणले पनि नियमन गर्छ ।

यो कम्पनी शिक्षा विभागका दर्ता भएका शिक्षक र कर्मचारीहरूलाई बचतमा सक्रिय रूपमा संलग्न गराउनका लागि सन् १९७२ मा स्थापना भएको थियो । अहिले नेपालमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषले गर्ने काम जस्तै यो कम्पनीसाग पनि सरकारी र निजी क्षेत्रमा काम गर्ने कर्मचारीहरुको आवद्धता छ ।

यसले मुख्य गरेर बचत र ऋण काम गर्छ । त्यसैले पनि यो एउटा बैंकको रुपमा परिचित छ । यसले सदस्यहरूलाई बचतमा सक्रिय रूपमा संलग्न गराउन र ऋण प्रदान गर्ने गर्छ । बैंकिङ र फाइनान्स, एयरलाइन्स, बीमा लगायत क्षेत्रमा पनि यस संस्थाको लगानी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.