खराब नियतले काम गर्ने लघुवित्त संस्थाहरुलाई तत्काल कारबाही गर्नुपर्छ : गगन थापा

  २०७९ फागुन १० गते १५:०१     विकासन्युज

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले बदनियतले काम गर्ने लघुवित्त संस्थाहरुलाई कारबाही गर्न माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद थापाले खराब नियतले काम गर्ने लघुवित्तलाई राष्ट्र बैंकले सुपरीवेक्षण गरेर तत्काल कारबाही गर्न माग गरे । थापाले लघुवित्तका कारण मर्कामा परेकाहरुलाई बैंक तथा वित्तीय संस्थाहरुको सामाजिक उत्तरदायित्वको रकमबाट राहत दिन आवश्यक रहेको बताए । उनले लघुवित्तका कारण कयौं गरिव जनता माथि उठ्न नसक्नेगरी थला परेको टिप्पणी गरे ।

उनले लघुवित्त संस्थाहरुले नाफाका लागि जे पनि गर्ने, तत्कालको गर्जो टार्न जहाँबाट जतिसुकैमा पनि ऋण लिने ग्राहक र अनुमति दिँदा हात फैलाउने तर सुपरीवेक्षणमा मुठ्ठी कस्ने राष्ट्र बैंकका कारण अहिले लघुवित्तमा समस्या देखिएको बताए । उनले अब एउटा ऋणीले एउटा लघुवित्तबाट मात्रै ऋण पाउने व्यवस्था गर्न र सुपरीवेक्षण कार्यलाई तल्लो तहसम्म लैजान समेत माग गरे ।

‘अति न्यूनआय भएका गरिबलाई गरिबीको रेखाबाट माथि उठाउने उद्देश्यका साथ लघुवित्त सञ्चालनमा आएका भए पनि कयौँ लघुवित्तका कारण गरिब थला परेका छन्, अनुचित नाफा कमाउनका लागि जे पनि गर्ने लघुवित्त, तत्कालको गर्जो टार्न जहाँबाट जस्तो भए पनि ऋण लिने ग्राहाकहरु, सुपरीवेक्षण गर्ने राष्ट्रबैंकका कारण यो अवस्था देखिएको हो’, उनले भने ।

उनले राष्ट्र बैंकको निर्देशिकाको प्रभावकारी कार्यान्वयन र सुपरिर्वेक्षण कार्य र वित्तिय साक्षरतालाई स्थानीय सरकारको साझेदारीमा तल्लो तहसम्म लैजाने काम राष्ट्र बैंकले तत्काल गर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.