२०७९ फागुन ९ गते ११:२५ राजिव न्यौपाने
काठमाडौं । करुवाको लागि प्रसिद्ध ठाउँ हो संखुवासभाको चैनपुर । त्यही करुवा बनाई आफ्नो व्यवसाय अगाडि बढाउन व्यस्त छन् कनक शाक्य । शाक्यले करुवा बनाउन थालेको ४ दशक बढी भयो । चैनपुरे करुवा नामले मात्र होइन मूल्यका हिसाबले पनि उत्तिकै महँगो छ ।
करुवा पहिला पानी पिउनको लागि प्रयोग गरिन्थ्यो । अहिले उक्त कुरुवालाई घरमा सजाउनको लागि खरिद गर्ने अभ्यास छ । चैनपुरमा पाइने जस्ता करुवा अहिले विभिन्न ठाउँमा उत्पादन हुन्छन् । तर, चैनपुरमा निर्माण भए जस्तो गुणस्तरीय करुवा अन्य ठाउँमा नबन्ने शाक्य बताउँछन् ।
चैनपुरे करुवा शुद्ध काँसबाट तयार हुन्छ । शाक्यले हस्तकला केन्द्र नामक उद्योग खोलेका छन् । उक्त उद्योगबाट नै करुवाको उत्पादन हुन्छन् । त्यही करुवा बनाएर उनको दैनिकी बित्छ । लामो समयको अनुभवलाई मिसाउँदै शाक्य बुढेसकालमा पनि युवाको झै जोसका साथ काम गर्छन् ।
शाक्यको उद्योगमा कुरुवा मात्र नभई पानस, अन्ती, वाइकप, सुकुण्डा, बटुका र लोटा लगायतका सामाग्री बन्छन् । चैनपुरमा कुरुवा बनाउने उद्योग शाक्यको मात्रै छ । त्यसैले पनि माग बढी भएकोले शाक्यलाई करुवा बनाउन भ्याइनभ्याई हुन्छ । पुख्र्यौली पेशा अपनाएका शाक्य दिनभर करुवा बनाउनमै व्यस्त हुन्छन् ।
शाक्यका अनुसार एउटा करुवा बनाउन तीन महिना लाग्छ । ‘कुरुवा बनाउन सहज छैन, निकै मिहिनेत लगाउनु पर्छ, जोखिम पनि उतिकै छ, एउटा करुवा र सय वटा करुवा बनाउन पनि समय तीन महिना समय नै लाग्छ, एउटा मात्रै भन्दा सयौं संख्यामा करुवा बनाउँदा फाइदा हुन्छ,’ उनले भने ।
अहिले चैनपुरमा तयार भएका कुरुवा विदेशसम्म निर्यात हुन्छन् । तर, शाक्य आफैले भने निर्यात गदैनन् । उनीबाट उत्पादित बस्तुको खरिद गरेर अरूले निर्यात गर्ने शाक्य बताउँछन् । शाक्यको उद्योगमा कुरुवाको माग देश भरबाट आउँछ । उनले धेरै जसो सामान अर्डर अनुसार पनि तयार गर्ने गर्छन् । अर्डर आयो भने डेलिभरी देशभर गर्दै आएको उनी बताउँछन् । उनका अनुसार युरोपियन देशमा करुवाको निर्यात हुन्छ ।
चैनपुरमा जस्तो अन्य ठाउँमा करुवाको उत्पादन नहुने पनि शाक्य दाबी गर्छन् । ‘अन्य जिल्लामा पनि नबन्ने होइन, सबै ठाउँमा बन्छ, तर चैनपुर जस्तो बन्दैन, अरू तिर करुवा बनाई बाहिरबाट रङ्ग दल्छन्, यहाँ निर्मित करुवा शुद्ध काँसबाट तयार हुने भएकाले हेर्दै आकर्षक देखिन्छ, बजारमा पाइने करुवा नक्कली हो, त्यो पित्तलबाट बनेको हुन्छ,’ उनले भने ।
करुवा बनाउँदा कर्मचारी राखेर काम गर्न नमिल्ने शाक्य बताउँछन् । नजानेका मान्छेलाई काममा राख्यो भने करुवा बिग्रने डरले कर्मचारी राख्न नमिल्ने उनको तर्क छ । उनले हालसम्म कर्मचारी राखेका छैनन् । बरु उनी आफै दिनरात खटेर काम गर्छन् ।
एउटै करुवाको मूल्य डेढ लाख
शाक्यले उक्त पेशा अपनाएपछि हजारौं करुवा बिक्री गरिसकेका छन् । उनका अनुसार एउटा करुवाको मूल्य एक हजार रुपैयाँदेखि डेढलाखसम्म पर्छ । करुवाको मूल्य केजी अनुसार निर्धारण हुने उनको भनाइ छ । शाक्यका अनुसार एक केजी बराबर करुवाको मूल्य ६ हजार रुपैयाँ पर्छ ।
जति बढी केजी र आकर्षक करुवा तयार गरिन्छ, त्यति नै बढी महँगो पर्न जाने शाक्य बत्ताउँछन् । ‘ठूलो करुवा छ भने त्यसलाई केजीले होइन, गोटाको हिसाबले शाक्य बेच्ने गरेको छु,’ उनले भने ।
ठूलोमा १०/१२ केजी सम्मको एउटा करुवा तयार पार्न सकिने पनि शाक्य बताउँछन् । करुवा हातैले तयार गर्नुपर्ने भएकाले पनि यसको मूल्य बढ्न गएको हो । डेढ लाख मूल्यका १५ वटा करुवा बनाएर बेचेको पनि शाक्य सुनाउँछन् । उच्च मूल्यका कुरुवा बनाउनको लागि जोखिम पनि धेरै मोल्नु पर्ने शाक्यको भनाइ छ । शाक्यका अनुसार ४० हजारसम्मको करुवा माग उच्च छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.