एक कम्पनीलाई मात्र फाइदा हुनेगरी प्रस्ताव खोलेको भन्दै रोकियो यातायात अटोमेसनको प्रक्रिया

  २०७९ फागुन ८ गते १३:१२     विकासन्युज

फाइल फाेटाे

काठमाडौं । यातायात कार्यालयलाई अटोमेसनमा लैजाने प्रक्रिया तत्काल रोकिएको छ । बागमति प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तत्काल उक्त प्रक्रिया राक्न श्रम, रोजगार तथा यातायात मन्त्रालयलाई परिपत्र गरेसँगै प्रक्रिया रोकिएकोे हो ।

मुख्यमन्त्री कार्यालयले कुनै एक कम्पनीलाई मात्र लाभ हुनेगरी यातायात मन्त्रालयले प्रस्ताव आह्वान गरेको भन्दै रोक्न परिपत्र गरेको हो ।

श्रम, रोजगार तथा यातायात मन्त्रालयले सबै यातायात कार्यालयलाई अटोमेसन गर्नका लागि प्रस्ताव आह्वान गरेको थियो । प्राविधिक सहयोगका लागि खोलिएको प्रस्तावमा आशंका गर्दै मुख्यमन्त्री कार्यालयले रोक्न निर्देशन दिएको हो ।

मन्त्रालयले प्रस्ताव खोलेर मूल्यांकनको चरणमा मुख्यमन्त्री कार्यालयबाट रद्द गर्न परिपत्र गरेसँगै यातायात कार्यालय अटोमेसनमा जाने प्रक्रिया रोकिएको मन्त्रालयका प्रवक्ता हरिहर पोखरेलले जानकारी दिए ।

उनका अनुसार पुरानो प्रक्रिया रोकेर नयाँमा जानुपर्दा केही समय लाग्ने भएको छ । ‘हाम्रो योजना आगामी आर्थिक वर्ष सबै यातायात कार्यालयलाई अटोमेसनमा लैजाने थियो, सोही योजना अनुसार काम पनि भएको थियो’, उनले भने, ‘मुख्यमन्त्री कार्यालयको निर्देशनसँगै तत्काल अटोमेसनको काम रोकिएको छ, पुन नयाँ प्रस्तावसँगै बोलपत्र आह्वान गरेर प्रक्रिया सुरु गर्दा समय लाग्छ ।’

प्रक्रिया सुरु गर्दा नै ४ महिना लाग्ने उनको भनाई छ । मन्त्रालयले अटोमेसनका लागि ७ करोड रुपैयाँ बजेट छुट्टाएको थियो । तर मन्त्रालयले तोकिएको रकमभन्दा कम हुनेगरी अटोमेसनका लागि प्राविधिक प्रस्ताव आह्वान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.