सत्तारुढ गठबन्धन कुनै पनि बेला टुट्न सक्छ : माधव नेपाल

  २०७९ फागुन ७ गते १४:३९     विकासन्युज

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्थामा पुगेको दावी गरेका छन् ।

अध्यक्ष नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीको कारण सत्तारुढ गठबन्धन कुनै पनि बेला टुट्न सक्ने अवस्था पुगेको उल्लेख गर्दै राष्ट्रपति निर्वाचन पछि मात्रै मुलुकको राजनीतिले कुन कोर्स लिन्छ भन्ने टुंगो लाग्ने समेत बताए ।

आईतबार काठमाडौंको कीर्तिपुरमा आयोजित पार्टी निकट अनेरास्ववियू स्थायी कमिटी बैठकको उद्घाटन गर्दै उनले सबै पद आफैंले लिएर मुलुकमा राजनीतिक एकाधिकार कायम गर्न खोज्ने एमाले हावी हुने हो वा होइन भन्ने कुरा पनि राष्ट्रपति निर्वाचनपछि मात्रै भन्न सकिने बताए । त्यसका लागि अब एक हप्ता मात्रै पर्खे पुग्ने उनको भनाई थियो ।

अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीमा काँग्रेस र एकीकृत समाजवादीको सहयोग लिएर गठबन्धन भत्काउलान कि भन्ने चिन्ता छाएको पनि बताए ।

अध्यक्ष नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी मुलुकका लागि घाँडो नै भएको टिप्पणी गरे । के–के न गरौंला भनेर आएको सो पार्टीमा पनि पदको आशक्ति बाहेक अरु केही पनि नदेखिएको उनले आरोप लगाए ।

अध्यक्ष नेपालले पूर्वराजा शाहलाई सहभागी गराएर अभियान चलाउने पार्टीका केन्द्रिय सदस्य दूर्गा प्रसाईलाई अझै एमालेले कारबाही गर्न नसक्नु कम्युनिष्ट पार्टीका लागि लाजमर्दो विषय भएको तर्क समेत गर्नु भयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.