बागलुङको ‘बेलढुङ्गा’ पर्यटकका रोजाइमा, दैनिक १०० पर्यटक आउने

  २०७९ फागुन ७ गते ९:४९     विकासन्युज

ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका–३, ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लको शिरमा छ बेलढुङ्गा । दुई हजार छ सय मिटरको उचाइमा रहेको बेलढुङ्गका पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको छ ।

बर्खामा होस् या हिउँदमा बेलढुङ्गा चढ्ने पर्यटकको भीड उस्तै हुन्छ । आधा दशक अगाडिसम्म यहाँ पुग्ने सडक सहज नहुँदा यो ठाउँ ओझेलमा थियो । जब सडक सञ्जालले बेलढुङ्गा जोडिँदै गयो, तब धेरैको रोजाइमा यो ठाउँ पर्‍यो ।

हिउँदमा हिउँ खेल्न र गर्मीमा जाडो छल्न जानेहरूले बेलढुङ्गामा चहलपहल निकै हुने गर्छ । यस वर्ष हिउँ परेन । तर सूर्योदय र दृश्याअवलोन गर्नेहरूको कमी भने भएन । बेलढुङ्गा बागलुङ र बेनी बजारबाट नजिक रहेको हुँदा पर्यटक सहजरूपमा यहाँ पुग्ने गरेका हुन् । यातायात र पदमार्गमार्फत पुग्न सकिने हुँदा दैनिक पर्यटकको आगमनमा वृद्धि हुँदै गएको स्थानीयवासीको भनाइ छ । पदमार्ग र साइकल लेन निर्माणपछि हाइकिङ गर्नेको संख्या अझ बढ्दो छ ।

बेलढुङ्गा नजिकै ओखले गाउँमा सामुदायिक घरबास (होमस्टे) छ । जसले गर्दा यहाँ पुग्ने पर्यटकका लागि खाना, बस्न र बासको व्यवस्थापन गर्ने गरेको छ । यहाँबाट अनगिन्ती हिमशृङ्खलासँगै, बागलुङ र म्याग्दीका अधिकांश भू–भागसँगै पर्वत, कास्की, गुल्मीलगायतका ठाउँ सहजरूपमा देख्न सकिन्छ । अब ढकमक्क गुराँस फुलेर वनै ढाक्ने सिजन सुरु भएसँगै आन्तरिक पर्यटकको चहलपहल बढेको बेलढुङ्गा सामुदायिक होमस्टेका सचिव गोपाल श्रीसले बताए ।

यस वर्ष एक दिन पनि बेलढुङ्गा रित्तो नभएको श्रीस बताउँछन् । बर्खाको समयमा पनि पदमार्गबाट यहाँ पर्यटक घुम्न आएको भन्दै पछिल्लो समय दैनिक एक सय हाराहारीमा पर्यटक आउने गरेको उनको भनाइ छ । पूर्वाधार निर्माण र प्रचार–प्रसारपछि बेलढुङ्गामा बाह्रै महिना पर्यटक आउन थालेको उनले बताए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.