अर्थमन्त्रीको गनगन, सचिवको कर्के आँखा र सह-सचिवको चिट

  २०७९ फागुन १ गते १४:४९     विकासन्युज

काठमाडौं । आइतबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा गर्दै बजेट २ खर्ब ४४ अर्ब रुपैयाँले घटाए । हरेक वर्षको बजेट समीक्षापछि त्यसको जानकारी दिन पत्रकार सम्मेलन गर्ने अभ्यास छ । त्यही अभ्यासको निरन्तरता आइतबार अर्थमन्त्रीले पनि दिए । दिउँसो ३ बजे प्रतिनिधिसभाको बैठकमा चालू आर्थिक वर्षको बजेट घटाएको जानकारी गराएका पौडेलले साँझ ५ बजेका लागि पत्रकारहरुलाई अर्थमन्त्रालयको सुवर्ण हलमा बोलाए ।

बिहान ८ बजेर ७ मिनेटमा बजेटको अर्धवार्षिक समीक्षाका लागि भन्दै पत्रकारलाई निमन्त्रणा आयो । त्यसको ४ घण्टापछि अर्थात् दिउसो १२ बजेर ४४ मिनेटमा ५ बजेका लागि तय भएको पत्रकार सम्मेलन ६ बजेका लागि सारिएको भन्दै पुनः निमन्त्रणा पठाइयो । ६ बज्नु अगाडि नै अर्थमन्त्रालयको तेस्रो तलामा रहेको सुवर्ण हल पत्रकार सम्मेलनका लागि गएका सञ्चारकर्मीहरुले भरिभराउ थियो । ६ बज्यो । सबै सञ्चारकर्मीहरु अर्थमन्त्रीको पर्खाइमा थिए । हलमा अर्थमन्त्रालयका केही प्रतिनिधिहरु पनि थिए ।

सवा ६ बज्यो । अर्थमन्त्री आइपुग्ने सुरसार भएन । पत्रकारहरुले हलमा रहेका अर्थमन्त्रालयका प्रतिनिधिहरुलाई अर्थमन्त्री नआउने हुन् भनेर जिज्ञासा राख्न थाले । अब ५/१० मिनेट आइपुग्नु हुन्छ भन्ने ती प्रतिनिधिहरुको आवाज बनावटी थियो । त्यो बनावटी आवाज पटक-पटक सुनियो । पौने ७ बज्यो । हलभित्र भरिभराउ रहेका सञ्चारकर्मी हलबाट बाहिरिने क्रम बढ्दै थियो । पत्रकार सम्मेलन सकिएपछि ढिलो हुने भन्दै अर्थमन्त्रीका प्रेस संयोजक भुवन केसीले खाजाको प्रस्ताव गरे । खाजा आयो । सबैले खाजा खाए ।

७ बज्यो । अहँ, अर्थमन्त्री आइपुगेनन् । पत्रकार सम्मेलन एक घण्टा ढिलो भइसकेको थियो । कतिपय पत्रकारहरुको धैर्यताको बाँध टुटिसकेको थियो । भरिभराउ रहेको सुवर्ण हल आधा भइसकेको थियो । ७ बजेपछि अर्थमन्त्रालयका केही उच्च अधिकारीहरु हलभित्र प्रवेश गरे । सहसचिव, सचिव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष लगायतको सहभागिता हलमा भयो । त्यसको १०/१२ मिनटेपछि अर्थात् ७ बजेर २० मिनेटमा हलमा आवागमन भयो उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको ।

हँसिलो, हतारिँदै र हस्याङ्ग फस्याङ्ग गर्दै आएका अर्थमन्त्री पौडेलको आसन बित्तिकै बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख सहसचिव धनीराम शर्माले उनलाई बजेटको समीक्षाको विषयमा धारणा राख्न आग्रह गरे । उनले सुरुमै अर्थमन्त्रालयको सुवर्ण हलमा सम्पूर्ण पत्रकारहरुलाई स्वागत भन्दै कारणवस कार्यक्रम ढिलो हुन गएको र यो परिस्थितिको सम्पूर्ण जिम्मा आफुले लिने उद्घोष गरे । उनले त्यसपछि सरसर्ती बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनमा उल्लेख मुख्य विषयहरुलाई करिब ९ मिनेट समय लगाएर सकाए र पत्रकारहरुको जिज्ञासाका लागि फ्लोर खुल्ला भएको जानकारी गराए ।

सुरुमै कान्तिपुर टीभीका सुमन पन्तले आफ्नो जिज्ञासा राखे । उनले सोधे, ‘आर्थिक वृद्धिको लक्ष्य भेटाउन सकिँदैन भनेर बजेट घटाउनु भएको छ, अब राजश्व संकलनको लक्ष्य कति हो, महँगी नियन्त्रण कत्तिमा राख्नु हुन्छ ? पन्तको जिज्ञासा लगत्तै हाम्रो अर्थ डटकममा आवद्ध मेनुका कार्कीले प्रत्येक वर्ष बजेटको आकार घटाउने र बजेटको लक्ष्य कहिल्यै हासिल नगर्ने परिपाटी किन बन्छ ? भनेर प्रश्न गरिन् । उनले थपिन्, ‘हामी डेढ घण्टादेखि पर्खिरहेका छौं, अर्थमन्त्रीज्यू, पत्रकारको पनि समय हुन्छ भन्ने बुझिदिनु होला ।’

सोही बिचमा अन्य पत्रकारहरुले पनि आफ्नो जिज्ञासा राखे । अन्तिममा जिज्ञासा राख्दै अन्नपूर्ण पोष्टमा आवद्ध रोविन पौडेलले पनि अर्थमन्त्री ढिलो गरि आएको प्रति गुनासो गरे । उनले समय तोकेरै ब्यांग्यात्मक किसिमले भने, ‘हामीले यो कार्यक्रम अघि नै मन्त्रीज्यूलाई १ घण्टा १९ मिनेट समय दिएका रहेछौं, धनयवाद ।’ पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले ७ मिनेट पत्रकारका जिज्ञासा सुने । जिज्ञासा राख्ने पत्रकारहरुको संख्या बढी नै थियो । तर, हतार भएको आभास दिलाउँदै उनले बिचमै प्रश्नको जवाफ दिन तर्फ लागे । जवाफमा सुरुमै उनले पुनः १ घण्टा १९ मिनेटको प्रशंग निकाले । ‘संसदबाट सिधै पत्रकार सम्मेलनमा आउने मन थियो, बिचमै मन्त्रिपरिषद् बैठक भयो, फेरि अर्कै कार्यक्रममा जानु पर्यो, यो परिस्थितिवस् बनेको हो, यसमा अन्यथा नसोच्नु होला,’ उनले भने ।

पत्रकारले राखेका जवाफमा उनले सुरुमै राखेका बजेटको समीक्षाका विषयहरु दोहोर्याउन थाले । प्रश्नको जवाफमा कुनै तुक थिएन । तुक यस मानेमा कि प्रश्न एउटा र जवाफ अर्कै थियो । उनले जवाफ दोहोर्याएको देखेर छेउमा बसेका सह-सचिवहरुले कागजमा लेखेर अर्थमन्त्रीको हातमा थमाउन थाले । सहसचिव धनीराम शर्माले पनि त्यसमा साथ दिए । एक जना सहसचिव पछाडिबाट आएर जवाफको चिट उनको हातमा राखे । अर्थमन्त्री पौडेलले त्यो चिटलाई समात्दै ती व्यक्तिलाई करिब दुई सेकेण्डसम्म नियाले । अर्थसचिव तोयम रायाले पनि कर्के आँखाले उनलाई हेरे ।

पौडेलले प्राप्त चिटहरुलाई हेरे जस्तो गरेर जवाफ बनावटी दिए । केही सञ्चारकर्मीहरुले बजेट कटौतीको विषयलाई राजनीतिसँग पनि जोडेर प्रश्न गरे । त्यसको जवाफमा अर्थमन्त्री पौडेलले यो इकोनोमिक फोरम भएपनि राजनीति पनि मिसिएको जवाफ फर्काए । उनले थपे, ‘स्रोत परिचालन र खर्च व्यवस्थापनको सम्भावना मूल्यांकन गरेर ‘रिसाइज’ गरिएको हो, जे गरेका छौं, कार्यान्वयन गर्छौं, मध्यावधिमा छौं, चालू आवको अन्त्यमा प्रश्न सोध्नु होला ।’

बजेटको अर्धवार्षिक समीक्षाका लागि पत्रकार सम्मेलन गरिएको भएपनि त्यसमा बढी प्राथमिकता भने मन्त्रीको ढिलाईसुस्तीले पायो । उनले आफैले पनि बारम्बार माफी मागिरहे । तर, पत्रकारहरुले उनलाई उनको ढिलाइको जवाफ भने माग्न छोडेनन् । त्यसको एउटा हिस्सा र प्रश्न एउटा यो पनि हो । आखिर, उच्च पदस्थहरुको समयप्रतिको अटेर र ढिलासुस्ती कहिलेसम्म ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.