सुन्दर यातायातले विद्युतीय सवारी र चार्जिङ स्टेशन बन्द गर्ने

  २०७९ माघ २२ गते १८:२१     विकासन्युज

काठमाडौं । सुन्दर यातायातले सञ्चालन गर्दै आएको विद्युतीय चार्जिङ स्टेशन र विद्युतीय गाडी सोमबारदेखि चनलाउने जनाएको छ ।

सुन्दरले आईतबार एक विज्ञप्ती जारी गर्दै नेपाल सरकार र विद्युत प्राधिकरणको असहयोगका कारण चार्जिङ स्टेसन र विद्युतीय सवारी साधन बन्द गर्ने चेतावनी दिएको छ ।

काठमाडौं सहित देशका ठूला सहरमा सार्वजनिक विधुतीय सवारीसाधन सञ्चालन गर्दै आएको सुन्दर यातायातले, यातायात सञ्चालनमा सरकारले असहयोग गरेको भन्दै सवारी साधन नचलाउँने चेतावनी दिएको हो ।

नेपाल सरकार र विधुत् प्राधिकरणको असहयोगको कारणले विधुतीय सार्वजनिक र अन्य निजि सवारीसाधन बन्द हुने भन्दै सुन्दर यातायातले सरकारलाई २४ घण्टाको अल्टिमेटम दिएको छ । २४ घण्टाभित्र डिमान्ड शुल्क नहटाए बाध्य भएर चार्जिङ स्टेशन र विद्युतीय सवारी साधन सञ्चालनमा रोक लगाउने विज्ञप्तीमा उल्लेख छ ।

‘नेपाल सरकार विद्युत् नियमन आयोग र विद्युत प्राधिकरणलाई पटक/पटक विद्युतीय सवारी साधन चार्जिङ स्टेशनको नाममा लिदै आएको डिमान्ड शुल्क हटाउनुपर्ने माग राख्दै आएको थियो, सुन्दरले राखेको माग अनुसार आयोगले २०७८ को मंसिर १९ गते डिमान्ड चार्ज नलिने घोषणा गरिसकेको थियो’, सुन्दरले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘आयोगले डिमान्ड शुल्क नलिने घोषणा गरेको एक वर्ष हुँदासमेत छुट नदिई अतिरिक्त डिमान्ड शुल्क लिदै आएपछि बाध्य भएर सञ्चालनमा रोक लगाउनु पर्यो ।’

सुन्दर यातायातका अध्यक्ष भेषवहादुर थापाले विद्युत खपत बढाउँ भनि सरकारले नाटकीय रुपमा आह्वान गर्ने र आफ्नो निर्णय आफै कार्यान्वयन नगरी जनतालाई विद्युतीय सवारी साधन सञ्चालनमा रोक्ने गरेको आरोप लगाए ।

उनले नयाँ किसिमको योजनाका साथ सरकार उपस्थित भएको र विद्युतीय सवारी साधन बन्द गर्ने नयाँ योजना सरकारले ल्याएकोमा बधाई समेत दिएका छन् ।

प्राधिकरणले १४२ किलोवाट मेसिनबाट ३ स्थानमा चार्ज गर्दै आएको छ ।

सुन्दर यातायातले हाल १९० किलोबाट क्षमताको १२ वटा विद्युतीय चार्जिङ स्टेशन सञ्चालन गर्दै आएको छ । अध्यक्ष थापाले सिमित कर्मचारीले आफ्नो स्वार्थका कारण शुल्क लिने गरेको आरोप लगाए ।

उनले प्राधिकरणले डिमान्ड शुल्क धेरै लिएपछि चार्जिङ स्टेशनको खर्च समेत धान्न नसक्ने अवस्था आएको बताए । ‘हामीले खर्च धान्न सकेनौँ, भोलिबाट चार्ज गर्न नआउन सूचना नै जारी गरिसक्यौँ’, उनले भने ।

‘प्राधिकरणका कर्मचारीहरु हामीले ल्याएको मेसिनबाट छिटो चार्ज हुने गरेपछि आफ्नो गल्ती लुकाउन सुन्दरमाथि डिमान्ड शुल्क लिने गरेका छन्, प्राधिकरणले हाल १४२ किलोबाट क्षमताका चार्जिङ स्टेशन सञ्चालन गर्दै आएको छ, प्राधिकरणको तुलनामा हामीले राम्रो काम गरेपछि हामीसँथ थप शुल्क लिन थाले’, उनले भने ।

सुन्दर यातायातले हाल काठमाडौं उपत्यकाभित्र ६ वटा ठुला विद्युतीय गाडी र २ वटा हाइस सञ्चालन गर्दै आएको छ । यस्तै, जनकपुर, भैरहवा, विराटनगर, काकडभित्तामा ४र४ वटा गरी १८ वटा ठूला विद्युतीय बस र २ थान हाइस गरी २० वटा विद्युतीय गाडी सञ्चालनमा ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.