एक वर्षमै तीन संस्थाको सीईओ, मर्जरले बेरोजगार

  २०७९ माघ २० गते १४:३२     सीआर भण्डारी

काठमाडौं । मीन बहादुर बोहरा धौलागिरी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । लघुवित्तमा काम गरेको उनले तीन दशक भयो । यो तीन दशकको अवधिमा उनले विभिन्न आरोह र अवरोहहरु पार गरेका छन् । लघुवित्तमार्फत् नै सयौंलाई रोजगारी दिएका छन् भने हजारौंलाई लघुवित्त व्यवसाय सिकाएका छन् । तर, विडम्वना । तीन दशक समय लघुवित्तमा बिताएका बोहरा जीवनको उत्तरार्धमा बरोजगार बन्दैछन् ।

वि.स २०२६ साल साउन २० गते डोटीको बडिकेदारमा जन्मेका बोहरालाई लघुवित्तप्रतिको लगाव र झुकाव पृथक किसिमको छ । एउटा मध्यम परिवार । खेति किसानी गरेर गुजारा चलाउने परिवारका लागि बैंक तथा वित्तीय क्षेत्रमा काम गर्नु असामान्य विषय जस्तै थियो । त्यसमाथि पनि सुदूरपश्चिममा लघुवित्तको जग बसाल्न भूमिका खेल्नु पनि असामान्य नै थियो । तर, त्यो आँट गरे मीन बहादुर बोहराले ।

डोटीमा जन्मे पनि उनको विद्यालय तहको पढाइ कैलालीको धनगढीमा भयो । धनगढीको पञ्चोदय माध्यामिक विद्यालयबाट उनले वि.स २०४४ सालमा एसएलसी (हालको एसईई) पास गरे । प्लसटूको परीक्षा भारतको देहरादूनबाट पास गरेका उनले स्नातक तहको पढाई भने त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कैलालीको धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पसबाट पुरा गरे । यो बिचमा अन्य काममा पनि उनी आवद्ध भए । थप अध्ययन गर्नु पर्छ भन्ने हुटहुटी उनको मनमा थियो । स्नातकोत्तर पढ्न उनी भारतको कुमाउ विश्व विद्यालय पुगे । उनले कुमाउ विश्व विद्यालयबाट समाजशास्त्रमा (एमए) पास गरे ।

एसएलसी पास गरेपछि उनले शिक्षक बनेर पनि काम गरिसकेका थिए । त्यतिखेर आफ्नो तलब ३५० रुपैयाँ रहेको उनी सुनाउँछन् । ‘म एउटा समान्य परिवारको मान्छे, केही गरेर देखाउनु पर्छ भन्ने हुटहुटीमा ममा थियो, गाउँघरमा पढे-लेखेका कोही थिएनन्, त्यसैले पनि एसएलसी लगत्तै काम पाएँ,’ उनले विगत स्मरण गर्दै भने ।

उनले एक वर्ष अध्यापन गरे । पछि सुदूरपश्चिमको धनगढीमा रहेको ग्रामीण विकास बैंकमा नाम निकाले र वित्तीय क्षेत्रमा आफुलाई अभ्यस्त गर्न अग्रसर भए । त्यतिखेर शेर बहादुर थापा ग्रामीण विकास बैंकमा सञ्चालक थिए । लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाश राज शर्मा सो संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) थिए । उनै शर्मा लघुवित्तमा आफ्नो गुरु भएको बोहरा बताउँछन् ।

एक वर्षमै ३ संस्थाको सीईओ

वि.स २०५० सालबाट सुदूरपश्चिम ग्रामीण विकास बैंकमा सहायक तहबाट बैंकिङ्ग करियर सुरु गरेका बोहराले सो संस्थामा तीन वर्ष काम गरे । पछि उनी पश्चिमाञ्चल ग्रामीण विकास बैंकमा अधिकृतस्तरको सातौं तहमा पास भए । त्यहाँ उनले १० वर्ष काम गरे । लघुवित्तप्रतिको उनको झुकाव बढ्दै थियो । एकपछि अर्को जिम्मेवारी र उपलब्धिले उनलाई थप हौसला प्रदान गर्न मद्दत पुर्याउँदै थियो ।

१० वर्ष पश्चिमाञ्चल ग्रामीण विकास बैंकमा काम गरेपछि उनकै सक्रियतामा बुटवलमा नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक स्थापना भयो । उक्त बैंकमा उनी कायममुकायम सीईओसम्म भए । वि.सं २०७० सालमा उनले सो बैंक छोडे । भूकम्पले मानिसमा एक किसिमको सोचाइको विकास गर्यो । पैसा, सम्पत्ति र प्रतिष्ठा क्षणिक हुन् भन्ने त्यो बेला धेरैलाई लाग्यो । हुन पनि हो, हरेक संकट र महामारीले मानिसलाई यस्तै पाठ सिकाउँछ ।

बोहरा भूकम्प गएको वर्ष (२०७२ सालमा) गाउँमा खेतीपाति गर्न थाले । उनले गाउँ फर्केर कफी खेती सुरु गरे । अहिले उनले सुरु गरेको कफी खेतीबाट उत्पादन भइरहेको छ । उनी तीन वर्ष गाउँमै बसे । तीन वर्षको गाउँ बसाईंपछि उनी पुनः लघुवित्तमै फर्किएको बताउँछन् । उनी वि.स २०७३ सालमा कालिका लघुवित्तको सीईओ बने । साढे ३ वर्ष काम गरेर २०७७ असारमा कालिका लघुवित्त छाडे । त्यसको एक महिना अर्थात् साउन १५ गतेदेखि नेपाल लघुवित्तको सीईओ भए । उनी पुनः त्यही वर्षको चैतबाट धौलागिरी लघुवित्तको सीईओमा नियुक्त भए ।

वर्षमै तीन वटा लघुवित्तको सीईओ बन्ने दुर्लभ व्यक्ति हुन् बोहरा । कारण थियो मर्जर । उनी कालिकाको सीईओ हुँदा जनसेवी लघुवित्त वित्तीय संस्था मर्ज भयो । नेपाल एग्रो लघुवित्तको सीईओ हुँदा इन्फिनीटी लघसवित्तसँग मर्ज भयो । बैंकिङ क्षेत्रमा ३० वर्ष काम गरेका उनी ५ वटा लघुवित्त संस्थाको उच्च तहमा रहेर काम गरे । अहिले उनी सीईओ रहेको धौलागिरी लघुवित्त खप्तड लघुवित्तसँग मर्जर हुँदैछ ।

‘एकै वर्ष तीन वटा संस्थाको सीईओ भएको क्षणलाई अवसरको रुपमा लिएको छु, यस्तो अवसर कमैले पाउँछन्, धौलागिरी लघुवित्त खप्तडसँग मर्ज हुँदैछ, सीईओ बन्ने मन भएमा नपाउने भन्ने थिएन तर अब मलाई सीईओ बन्ने रहर छैन, तीन दशकसम्म लघुवित्तमा काम गरियो, उमेरको उत्तरार्धमा बेरोजगार हुनु पर्यो तर पनि म खुसी छु, अब गाउँ फर्किन्छु,’ उनले निराश हुँदै भने ।

अविस्मरणीय त्यो क्षण

मान्छेको जीवन विभिन्न आरोह र अवरोहहरुले भरिपूर्ण हुन्छ । दुःख र सुखको संगम हो मान्छेको जिन्दगी । ती आरोह र अवरोह मीनबहादुर बोहराको जीन्दगीमा पनि देखा परे । क्यान्सर भएर श्रीमति गुमाउनु परेको पीडा होस् वा केही दिन अगाडि मात्रै जन्म दिने आमा गुमाउनु परेको असह्य पीडा मीनबहादुरले भोग्नु परेको छ ।

उनको यो कथा लेख्दै गर्दा अहिले उनी आमाको मृत्युको शोकमा छन् । केही दिनपछि बेरोजगार हुँदैछन् । तर, पनि उनको मनमा जागिर गुमाउनेभन्दा पनि श्रीमति र आमा गुमाउनुको पीडा ठूलो छ । कुनै दिन बोहराको जीन्दगी देख्नेहरु र्याल चुहाउँथे । श्रीमति पनि सँगै काम गर्थिन् । तर, श्रीमतिको मृत्युपछि उनको दैनिकी केही ओरालो लाग्यो । उनी भन्छन्, ‘तर, हार भने कहिल्यै खाइनँ ।’

मीनबहादुर बोहराको जीवनमा अनेकन घटनाहरु आइलागे । ती घटनाक्रमहरुले उनलाई कत्ति पनि थकित बनाएन । संघर्षको मैदानबाट उनी बाहिरिएनन् । गाडी दुर्घटनामा परेर पाएको पुर्नजन्मलाई पनि आफ्नो अवीस्मरणीय घटनाका रुपमा लिन्छन् । वि.स २०७५ सालमा उनको गाडीमा दुर्घटना भयो । तर, केही चोटपटक लागेपनि जीवन भने बाँच्यो । उनी त्यो पल स्मरण गर्दै भन्छन्, ‘दुर्घटना हुँदा बाँच्ने आश मारिसकेको थिएँ, तर बाँचे ।’

उनी पटक-पटक मृत्युको मुखबाट फर्केका छन् । वि.स २०७५ भदौमा उनी आँधिखोला र्याफ्टिङमा थिए । उनी चढेको डुंगा पल्टेर ओढारमा पस्यो । अरु साथीहरु बगेर तल पुगे । उनी तालको भूमरिमा फसे । पछि उनको उद्वार भयो । बाँचे । सोही वर्ष उनको बुबाको निधन भयो । यस्ता हण्डर-ठक्करको फेहरिस्थ उनीसँग प्रशस्त छ ।

देश विदेश भ्रमणका अनुभवहरु उनीसँग छन् । भारत, बङ्गलादेश, थाइल्याण्ड, मलेसिया, सिंगापुर, दुवई, कुवेत, टर्की लगायतका देशहरुमा भ्रमण उनले गरेका छन् । अहिले उनले अर्को विवाह गरेका छन् । उनका जेठी श्रीमतिबाट एउटा र कान्छी श्रीमतिबाट २ वटा छोरा रहेका छन् । जेठो छोरा आईटी इन्जिनियर हुन् । उनी मुक्तिनाथ विकास बैंकको आईटी विभागमा काम गर्छन् । उनका ७ भाई र एक बहिनी छिन् । परिवार ठूलो छ । त्यही परिवारसँगै मिलेर बस्ने उनको अझै चाहना छ ।

गाउँ फर्केर राजनीति

धौलागिरी खप्तडसँग मर्ज भएपछि उनी आफ्नै गाउँ फर्किने योजनामा छन् । गाउँ फर्केर आफ्नै गाउँमा केही गर्ने योजनामा छन् मीनबहादुर । सुदूरपश्चिमलाई लक्षित गरेर सञ्चालनमा रहेको खप्तड लघुवित्त पनि अब गाभिएर आफ्नो अस्तित्व मेटाउँदैछ । त्यसपछि सुदूरपश्चिमलाई लक्षित गरेर सञ्चालनमा रहेका लघुवित्तहरुको संख्या शून्य हुनेछ ।

उनी अब गाउँ फर्केर राजनीति गर्ने बताउँछन् । उनी जन्मेको गाउँमा सडक, विद्युत सेवा र खानेपानीको समस्या अझै पनि छ । बैंक तथा वित्तीय संस्थाको पहुँच पनि छैन । यी समस्याको समाधानका लागि राजनीति गर्ने उनको योजना छ ।

सीईओ बोहराको गाउँ ।

‘बैशाखमा भएको स्थानीय तहको चुनामा उम्मेद्वार बन्ने मेरो इच्छा थियो तर बनिएन, अब आगामी चुनावका लागि गाउँ फर्किन्छु, तयारी गर्छु, लामो समय बैंकिङ सेवामा रहेर काम गरेँ, अब राजनीति गर्न चाहन्छु, तीन दशकको अवधिमा धेरै पैसा कमाएँ होला, त्यो पैसा जहाँ कमाएँ, त्यहीँ सकेँ, म जन्मेको ठाउँको लागि केही गर्न सकिनँ, अब राजनीति गरेर आफु जन्मेको ठाउँको सेवा गर्न चाहन्छु,’ उनले आफ्नो आगामी योजना सुनाउँदै भने ।

उनी जन्मिँदा गाउँ जुन अवस्थाको थियो, अहिले पनि हाल उस्तै छ । कुनै पनि परिवर्तन हुन सकेको छैन । बरु उनी खेल्दा हुर्किदा गाउँघरमा एक किसिमको आत्मियता र भाइचाराको सम्बन्ध थियो । छिमेकीहरुले दुःख परेको बेला सहयोग गर्थे । दुःख सुखहरु आदानप्रदान हुन्थे । उनी भन्छन्, ‘अहिले त आफ्नाहरु पनि पराई जस्ता भइसकेछन्, गाउँ बिरानो भइसकेछ, एकले अर्काको मतलब नगर्ने रहेछन् ।’

उनी अब गाउँमै बसेर सामाजिक काम गर्न चाहन्छन् । आफूले जानेका कुरा गाउँघरका दाजुभाइ दिदिबहिनीलाई सिकाउन चाहन्छन् । सर्वसाधारणको पहुँच बैंकसम्म पुर्याउन चाहन्छन् । अब गाउँमै बसेर गाउँकै सेवा गर्न चाहन्छन् मिनबहादुर ।

One comment on "एक वर्षमै तीन संस्थाको सीईओ, मर्जरले बेरोजगार"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.