शिक्षण पेसासँगै ड्रागन फ्रुटको खेतीबाट मनग्य आम्दानी गर्दै पोखराका शिव गौतम

  २०७९ माघ २० गते १०:४०     विकासन्युज

पोखरा । पोखराका शिव गौतम शिक्षण पेसासँगै ड्रागन फ्रुटको खेतीमा व्यस्त छन् । पढाउने कामबाट फुर्सद हुनेबित्तिकै उनी पोखरा महानगरपालिका–३३ बागमारामा रहेको फार्ममा पुग्छन् । त्यहाँ गौतमले पाँच रोपनी जग्गा भाडामा लिएर यसको खेती गरेक छन् ।

उनले बागमारामा मातृभूमि कृषि फार्म दर्ता गरेर व्यवसाय सुरु गरेका हुन् । फार्ममा यतिबेला पाँच सयभन्दा बढी ड्रागन फलको बिरुवा हुर्किरहेका छन् । अधिकांश बिरुवाले यो वर्षदेखि नै उत्पादन दिएको उनले बताए ।

कोरोनापछिको लकडाउनले यो खेतीप्रति रुचि बढेको उनी सुनाउछन् । शिक्षण पेसामा आबद्ध उनी लकडाउनमा धेरै मात्रामा अनलाइनतिरै व्यस्त हुन थाले । त्यही क्रममा ड्रागनका बारेमा सामाजिक सञ्जालमा भिडियो देखे । युट्युबमै भएको नम्बरमा फोन गर्दा पोखरामा पनि हुने सुझावपछि हौसिएर बागमारातिर जग्गा खोज्न हिँडेको उनले बताए ।

त्यही समयमा जग्गा भाडामा लिएर बिरुवा लगाए । अहिले उनलाई सोचेजस्तै भएको छ । ‘फुर्सदको समयमा युट्युब हेर्दै जाँदा दाङको लोकेन्द्र विष्टको मन पर्यो’, उनले भने, ‘अनि उनीसँग सल्लाह भयो । चैतमा उनलाई भेट्नै गएँ अनि विष्टले भनेझै बिरुवा लगाएँ अनि राम्रो नि हुँदै गएको छ ।’

उनले आफ्नो फार्म जग्गामा रातो र सेता प्रकारको फ्रुट लगाएका छन् । जसमा ८० वटा सेतो र बाँकी रातो छन् । ‘एउटा पोलमा दुईवटा बिरुवा लगाउन मिल्छ’, उनले भने, ‘४० वटामा सेतो बिरुवा छ अरुमा रातो छ ।’

नेपाली बजारमा नयाँ फल भए पनि बजारको समस्या नरहेको गौतम बताउछन् । उनले पहिलो सिजनमा एक सय ५० किलोग्राम उत्पादन गरेको बताउए । उनका अनुसार यो फ्रुट बजारमा प्रतिकिलो रु छ सयदेखि बाह्र सयसम्म बिक्री हुन्छ । ‘पोखरा पर्यटकीय राजधानी पनि हो त्यसैले यसको व्यापार व्यावसायमा कुनै समस्या नपर्नेमा म ढुक्क छु’, उनले भने, ‘मैले पहिलो सिजनमा एक सय ५० किलो जति उत्पादन गरेँ अनि ६० हजारको बिक्री गरेँ ।’ बाँकी केही आफन्तलाई चखाएको र केही चोरी भएको उनले सुनाए ।

बहुउपयोगी फलका रूपमा चिनिएको यो फूल फुलेको तीन दिनमा झर्ने र करिब ४० दिनमा फल पाकेर खानयोग्य हुन्छ । बिरुवा रोपेको तीन वर्षदेखि फल दिन थाल्छ । एउटा वयस्क बिरुवाले एक सिजनमा कम्तीमा पनि २० किलो फल दिन्छ ।

पहिलो सिजनमा राम्रो उत्पादन भएकाले अझै केही बिरुवा थप्ने उनको योजना छ । बिदाको समयमा आफैँ फार्ममा पुगेर काम गरे पनि अन्य समयमा काम गर्न उनले दुई कामदार राखेका छन् । पोखरामा सफल परीक्षण भइसकेका कारण अरुलाई घरको छतसँगै व्यावसायिकरूपमै खेती गर्न उनको सुझाव छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.