विमान दुर्घटनापछि बस व्यवसायीको बिजनेस बढ्यो, विमानस्थल बने सुनसान

  २०७९ माघ १९ गते १८:००     विकासन्युज

काठमाडौं । यती एयरको विमान दुर्घटना भएपछि बस व्यवसायीको बिजनेस बढेको छ । माघ १ गते पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटना भएपछि यात्रुहरुले हवाइमा यात्रा छोडेर गाडीमा यात्रा गर्न थालेका छन् । जसले हवाइ सेवा पुरानै लयमा फर्कन सकेको छैन । यतीको पोखरा दुर्घटना नेपालको आन्तरिक उडानमा इतिहासकै पहिलो ठूलो दुर्घटना हो ।

माघ १ गते भएको उक्त दुर्घटनाको असर वायुसेवा कम्पनीमा अझै देखिएको जनाइएको छ । उक्त दुर्घटनापछि आन्तरिक उडानका यात्रुहरु आधाभन्दा बढी घटेको उडान गर्दै आएका वायुसेवा कम्पनिहरुले बताउँदै आएका छन् । उक्त दुर्घटनापछि हवाइ यात्रुहरु डाइभर्ट भएको यती एयरलाइन्सले जनाएको छ ।

दुर्घटनापछि हवाई यात्रुहरु डाइभर्ट भएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौला बताउँछन् । उनका अनुसार दुर्घटनापछि अधिकांश मानिसहरु अझै जहाज चढ्न डराएर सार्वजनिक तथा रिजर्भ गरेर बस लिएर जानेहरु बढेका छन् ।

‘बिहान समयमा विमानस्थल नखुल्दा धेरै उडानहरु डिले (ढिला) हुने गरेका छन्, उडान डिलेहुँदा विमान कुरेर बस्नुभन्दा समय हुने मानिसहरु मिलेर बस रिजर्भ गरेर जाने गरेको पाइयो’ यसले गर्दा बस व्यवसायी तथा हाइसहरुको बिजनेस बढेको छ भने वायू सेवा कम्पनीहरुको घटेको छ,’ उनले भने ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष सरोज सिटौला पनि पछिल्लो समय सडकमार्गमार्फत् यात्रुहरु बढ्ने गरेको बताए । ‘दुर्घटनापछि अहिले जहाज चढ्ने यात्रुहरु सार्वजनिक सवारीमा चढ्न थालेको पाइएको छ, यो अफ सिजनको व्यापार हो’, उनले भने ।

उनले आफू समेत जहाज छोडेर सार्वजनिक यातायातमार्फत् नै यात्रा गर्न थालेको बताउँछन् । ‘मलाई छिटो नेपालगञ्ज पुगेर काठमाडौं फर्कनु पर्ने थियो, अरु समयमा जहाज चढेर नै यात्रा गर्ने गरेको थिएँ, तर यतीको दुर्घटनापछि जहाज चढ्न मनले मानेन, समय निकालेर गाडीबाटै यात्रा गरिरहेको छु,’ उनले भने ।

विमानस्थल सुनसान

बतास ग्रुपका अध्यक्ष आनन्दराज बतासले सामाजिक सञ्जाल (टिव्टरमा) लेखेका छन्, ‘राज्यले अर्बौं लगानी गरेको ठाउँमा प्रतिफल खोजिन्छ र खोज्नु पनि पर्छ, पर्यटन क्षेत्र उठ्न नसकेको र काठमाडौंस्थित त्रिभुवन विमानस्थलले समेत पर्याप्त बिजनेस नपाइरहेको अवस्थामा भैरहवा र पोखरा विमानस्थलले ऋणको ब्याज तिर्ने आम्दानी समेत गर्न नसक्ने अवस्था आउनु पीडादायी अवस्था हो ।’

अहिले पोखरा र भैरहवा विमानस्थल मात्रै होइन अधिकांश विमानस्थलको अवस्था यस्तै छ । यतीको दुर्घटनापछि विभिन्न विमानस्थलहरु बजिनेसविहीन बनेका छन् । जनवरी १ तारिखदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याइएको पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय हाल सुनसान जस्तै बनेको छ ।

सुनसान पोखरा विमानस्थल ।

हवाइ यात्रु न्यून हुँदा विमानस्थल सुनसान बनेको विमानस्थल कार्यालयले जनाएको छ । पोखरा विमानस्थल कार्यालयका प्रमुख बिक्रम राज गौतम यतीको दुर्घटनापछि पोखराको हवाइ उडान पुरानै अवस्थामा फर्कन नसकेको बताउँछन् ।

‘जनवरी महिना हवाइ उडड्यनको क्षेत्रमा अफ सिजन हो, अफ सिजनको समयमा ठूलो दुर्घटना हुँदा पोखराको हवाइ उडान पुरानै अवस्थामा फर्कन अझै सकेको छैन, बिजनेस घटेको छ, अहिले मानिसहरुले सडकमार्गबाट यात्रा गर्न खोजिरहेका छन्,’ उनल भने ।

उनले आगमी फ्रेब्रअरी २३ तारिखदेखि रात्रीकालिन उडानको तयारी थालिएको बताए । ‘हामीले आगामी २३ तारिखदेखि रात्रीकालिन उडानको तयारी थालेका छौँ, रात्रीकालिन उडान सुरु भएपछि हवाई यात्रु बढ्ने हाम्रो अपेक्षा छ’, उनले भने ।

क्यानले फेब्रुअरी २३ देखि रात्रीकालिन उडान गर्न पाउने व्यवस्था गरेसँगै आन्तरिक उडान गर्दै आएका वायुसेवा कम्पनीहरुले रात्रीकालिन उडानको तयारी थालिएको बताएका छन् । यसअघि दिउँसोको ३ बजेपछि पोखरा उडान बन्द हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.