घरजग्गा व्यापारी बन्दै बैंक

  २०७९ माघ १९ गते १४:०३     सीआर भण्डारी

काठमाडौं । एनआईसी एशिया बैंकले चालू आर्थिक वर्षको माघसम्म सयौं घरजग्गा बिक्रीमा राखेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेका २ सयभन्दा बढी संख्यामा घरजग्गा लिलाममा राखेको जनाएको छ । पटक–पटक गरी बैंकले देशभरिका विभिन्न ठाउँको गैर बैंकिङ्ग सम्पत्ति र कर्जामा रहेको धितो लिलाम बिक्री गरिरहेको छ । पछिल्लो समय सबैभन्दा धेरै धितो लिलाम गर्ने बैंकमा एनआईसी एशिया बैंक अग्रस्थानमा छ ।

यस्तै, सनराइज बैंकले पछिल्लो पटक आफ्नो स्वामित्वमा रहेका देशभरिका ४१ ठाउँको घरजग्गा बिक्रीमा राखेको छ । घरजग्गासँगै बैंकले विभिन्न मोडलका सवारी साधन पनि लिलाम गरिरहेको छ ।

यस्तै, प्रभु बैंकले १४ जिल्लाका २९ ठाउँको घरजग्गा बिक्रीमा राखेको छ भने माछापुच्छ्रे बैंकले १६ जिल्लाको २० वटा घरजग्गा र सिद्धार्थ बैंकले एसडब्ल्यूएम ब्राण्डका ८ वटा मोटरबाइक सहित घरजग्गा लिलाममा राखेको छ ।

यी केही उदाहरण मात्रै हुन् । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले कर्जामा राखिएको धितो धमाधम लिलाम गरेर बिक्री गरिरहेका छन् । पत्रपत्रिकाहरु बैंक तथा वित्तीय संस्थाहरुका लिलामीका सूचनाले भरिभराउ छन् ।

प्रत्येक दिन कुनै न कुनै बैंक तथा वित्तीय संस्थाले लिलामीका सूचना प्रकाशन गरिरहेका छन् । बैंक तथा वित्तीय संस्थाले लिलामीमा राखेको धितो हेर्दा बैंकहरु पैसाको कारोबार गर्नेभन्दा पनि घरजग्गाको कारोबार गर्ने संस्थाका रुपमा देखिन थालेका छन् ।

लिलामीमार्फत् घरजग्गा नै बिक्री गर्न थालेपछि बैंकले ऋणीको उठिबास नै लगाएको आरोप पनि लाग्दै आएको छ । तर, आफ्नो खराब कर्जा कम गरेर ऋण असुलीमा बैंक अब्बल सावित गर्न धितो लिलामीमा राखेको बैंकरहरु बताउँछन् । लिलामीका सूचना प्रकाशन गर्दा बैंकको रिकभरीमा सघाउन पुग्ने उनीहरुको धारणा छ ।

साथै, ऋणीको धितो असुलेर बैंकले आफ्नो गैर बैंकिङ सम्पत्ति घटाउँदै जाने रणनीतिमा बैंकहरु भएपनि गैर बैंकिङ सम्पत्ति भने बिक्री हुँदैन । यसरी बैंकहरुले लिलाम राखेको धितो बिक्री नहुने हो भने हाल पैसाको कारोबार गर्ने बैंकहरु भविष्यमा घरजग्गाको मात्रै कारोबार गर्ने संस्था बन्न सक्ने आँकलन धेरैले गरेका छन् ।

महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बोधराज देवकोटा भने सधैंभरि यस्तै अवस्था नरहने उनको दाबी छ । बैंकले आफ्नो रिकभरीलाई बढावा दिएको उनले बताए । साथै, खराब कर्जा बढेपछि प्रोभिजन राख्नुपर्ने बाध्यात्मक व्यवस्था भएकाले धितो लिलाम राख्नु परेको उनको भनाइ छ ।

‘भारतमा ८/९ प्रतिशतको खराब कर्जा अुनपात सामान्य हो किनभने भारतमा ठूला प्रोजेक्ट फाइनान्सिङ वा बुक फाइनान्स गरेका हुन्छन् तर, रिटर्न ढिला हुन्छ, नेपालमा कडाइ छ, अलिकति स्थिति तलमाथि हुने बित्तीकै प्रभाव धेरै देखिन्छ,’ उनले भने, ‘लामो समयसम्म यस्तै स्थिति रहँदैन, ऋणीले केही न केही उपाय लगाएर कर्जा चुक्ता गर्छन् किनकी ऋणीलाई पनि आफ्नो सम्पत्तिको माया लाग्छ ।’

लिलाम गरेर नै घरजग्गा बिक्री हुन्छ भन्ने हुँदैन । रिकभरीको प्रक्रिया अनुसार लिलामीमा राखिएको उनले बताए । अहिलेको वास्तविकता भनेको आर्थिक गतिविधि कम भएको हो । समग्र आर्थिक नीतिमा नै पुन्संरचना गर्नुपर्ने देखिएको उनको भनाइ छ । आन्तरिक उत्पादन बढाउँदा सबै सन्तुलनमा आउने उनको बुझाइ छ ।

‘आर्थिक गतिविधि कम हुनेबित्तीकै सबै सुस्ताउँछ, अब सन्तुलन कायम राख्नु पर्छ, बाह्य क्षेत्र सन्तुलन मिलाउँदा आन्तरिक बिग्रन्छ, आन्तरिक सन्तुलन मिलाउँदा वाह्य बिग्रन्छ, त्यसैले सबै कुरामा सन्तुलन कायम राख्नु पर्ने देखिएको छ,’ उनले भने ।

कृषि विकास बैंकका कम्पनी सचिव हिमलाल पौड्यालका अनुसार पछिल्लो समय बैंकको धितो लिलाम बढ्दो अवस्थामा छ । बैंकले खराब कर्जा व्यवस्थापन गर्न लिलामीको औजार प्रयोग गरेको उनले बताए । एक/दुई वटा भए केही फरक पर्दैन तर धेरै भएपछि गर्न लिलामी गर्न बाध्य भएको उनको भनाइ छ ।

‘बैंकले आफ्नो नियम अनुसार पैसा उठाउनु पर्छ, अहिले पत्रिकामा लिलामका सूचना नभएका दिन छैनन्, ग्राहकको पनि कर्जा तिर्दैन भन्ने मनसाय हुँदैन, कोभिड–१९ पछि उत्पादन नहुँदा व्यापार व्यवसाय घटेको छ, कसैले नियतवश नतिर्ने भन्ने एक/दुई मात्रै हुन्छन् तर, नभएर नतिर्ने भन्ने धेरै हुन्छन्,’ उनले भने ।

यदि धितो लिलाम भएन भने बैंकले साकार गर्नु पर्ने हुन्छ । धितो लिलाम बिक्री भएन भने भोलिका दिनमा घरजग्गाको मात्रै बैंक हुन्छ भन्ने तिर जान नहुने उनले बताए । अर्थतन्त्र सहज वा सुधार भएपछि बैंक तथा वित्तीय संस्था पुरानै अवस्थामा फर्किने उनको भनाइ छ ।

‘कसैले पनि ऋण नतिरेपछि घरजग्गा मात्रै बैंकले लिएर के गर्ने हो ? बैंकसँग पैसा भएपछि मात्रै पैसा बेचेर क्यास फ्लो हुन्छ, नगद कारोबार भएपछि नै आम्दानी गर्ने हो, अरुका घरजग्गा मात्रै लिलाम गर्ने बैंकको सोच हुँदैन, ऋणीलाई उठिबास् लगाउने बैंकको उद्देश्य हुँदैन,’ उनले भने, ‘यो त सुरक्षाका लागि धितो राखेको मात्रै हो, हाम्रो देशमा सहज नभएको हुँदा धितो राख्नु परेको हो, मन्दीका कारण समयमा असुल गर्न नसकेका मात्रै हुन्, विगतका वर्षमा यस्ता घटना त्यति धेरै थिएन ।’

कोरोना महामारीका बेलामा बैंकहरुले विभिन्न औजार प्रयोग गरेर कर्जालाई नियमित गरिरहेका थिए । तर, कोरोना पश्चात् अर्थतन्त्र सुधार हुनुको साँटो झन् नकरात्मक हुन थाल्यो । जसले गर्दा ऋणीहरुको नगद कारोबारमा असर परेको बैंकरहरुको भनाइ छ । जबसम्म कर्जा खराब कर्जामा परिणत हुँदैन तबसम्म बैंकले धितो लिलाम गर्दैनन् ।

बैंकले कुनैपनि कर्जाको वर्गीकरण गरेको हुन्छ । यदि ऋणी भागेर गएमा, ऋणीले ब्यापार व्यवसाय बन्द गरेमा वा धितो गलत ठहरिएमा लिलाम प्रक्रिया अघि बढाउँछन् ।

‘आजका दिनसम्म राम्रो कर्जा छ तर, ऋणी भागेर गयो भने लिलाम प्रक्रिया अघि बढाउँछ, जस्तो असारमा ५ प्रतिशत, असोजमा २५ प्रतिशत, पुसमा ५० प्रतिशत हुन्छ, ओभर ड्यू भएको ६ महिना हुनुपर्याे की ५० प्रतिशतमा शंका गरिएको हुनुपर्याे राष्ट्र बैंकले भन्छ,’ एक वाणिज्य बैंकका डीसीईओले भने, ‘यदि ऋणीले कर्जा तिर्ने योजना बनाउँछ भने समय थप दिन्छ तर, ५० प्रतिशत प्रोभिजन भइसकेपछि असारमा १ सय प्रतिशतपुग्छ, १ सय प्रतिशत प्रोभिजन बैंकले राख्न सक्दैन, बैंकमा खराब कर्जा मात्रै बढ्छ ।’

शतप्रतिशत प्रोभिजन राख्नुभन्दा लिलाम प्रक्रिया गर्याे भने खराब कर्जा केही व्यवस्थापन गर्न सकिन्छ । बैंकले लिलाम गरेको जग्गा सस्तोमा पाउँछ भनेर खरिद गर्न आउने गरेका छन् । तर, पछिल्लो समय घरजग्गा कारोबार पनि कम भएकाले धितो लिलाम कम हुने गरेको उनी बताउँछन् ।

नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता नारायण पोखरेल विगतमा यस्ता सूचनाहरु कमै आउने भएपनि पछिल्लो समय बढ्दै गरेको बताउँछन् । ‘बैंकहरुले ऋण असुलका लागि धितो लिलाम गर्नु स्वभाविक हो, संसारको अभ्यास नै यही हो, स्वीकारेको सम्पत्ति बिक्री नगरेर बैंक आफै राख्न सक्दैन, लिलामको उद्धेश्य ऋण असुल गर्ने प्रयोजन हो,’ उनी भन्छन्, ‘यसमा राष्ट्र बैंकले बाध्यात्मक अवस्था सिर्जना गरेको छैन ।’

बैंकहरुको काम पैसाको कारोबार भएको र पछिल्लो समय घरजग्गाको लिलामी बढाउँदा कतै बैंकहरु घरजग्गा व्यवसायी जस्तो देखिने होकि भन्ने बुझाइ पनि आम जनमानसमा रहेको उनी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.