बीमाशुल्क आर्जनमा आईएमईपछि गुराँस लाइफ एग्रेशिभ, अर्ब क्लबमा थपियो प्रभु लाइफ

  २०७९ माघ १९ गते ११:५७     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको दोश्रो त्रैमासिकसम्ममा ७१ अर्ब ६५ करोड २० लाख रुपैयाँ बराबरको जीवन बीमाशुल्क संकलन भएको छ । पुसदेखि एकीकृत कारोबार गरेको सूर्यज्योति लाइफ इन्स्योरेन्ससमेत गरी २० वटा जीवन बीमा कम्पनीले सो मात्राको बीमाशुल्क आर्जन गरेका हुन् ।

जुन पछिल्लो एक महिना अर्थात मंसिरसम्मको तुलनामा ३९.०९ प्रतिशतले बढी हो । मंसिरसम्ममा १९ वटा जीवन बीमा कम्पनीले ५१ अर्ब ५१ करोड ६२ लाख रुपैयाँ बराबरको जीवन बीमाशुल्क संकलन गरेका थिए ।

नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार यो अवधिमा सबै कम्पनीको व्यवसायमा सुधार देखिन्छ । रकमको आधारमा नेपाल लाइफको अग्रता कायमै छ । कम्पनीले चालु आवको ६ महिनामै १८ अर्ब ६३ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । मंसिरसम्ममा १५ अर्ब ६२ करोडको व्यवसाय गरेको कम्पनीले एक महिनामै १९.२३ प्रतिशतले वृद्धि गरेको छ । यससँगै १० अर्ब बढीको जीवन बीमाशुल्क संकलन गर्नेको सूचीमा नेपाल लाइफ एक्लै छ ।

प्रतिशतको आधारमा भने आईएमई लाइफ इन्स्योरेन्स एग्रेशिभ बनेको छ । कम्पनीले पुस एक महिनामै ३२.६० प्रतिशत बढी व्यवसाय विस्तार गरेको छ । गत मंसिरसम्म १ अर्ब ४७ करोड रुपैयाँ बराबरको जीवन बीमाशुल्क संकलन गरेको कम्पनीले पुससम्ममा १ अर्ब ९५ करोड प्रिमियम उठाएको छ ।

आईएमईपछि गुराँस लाइफ एग्रेशिभ देखिन्छ । समीक्षा अवधिमा गुराँस लाइफले २८.५३ प्रतिशतले जीवन बीमाशुल्क संकलनमा वृद्धि गरी १ अर्ब ४३ लाख रुपैयाँ कायम गरेको छ । जुन अघिल्लो महिनासम्ममा १ अर्ब ११ करोड रुपैयाँ थियो ।

यो अवधिमा अर्ब बढी बीमाशुल्क संकलन गर्नेको सूचीमा प्रभु लाइफ इन्स्योरेन्स थपिएको छ । गत मंसिरसम्ममा ८२ करोड ५३ लाख रुपैयाँ बराबरको बीमशुल्क संकलन गरेको कम्पनीले पुससम्ममा एक अर्ब ३ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएको छ । जुन प्रतिशतको आधारमा २५.७२ प्रतिशतले बढी हो ।

यस्तै, ५ अर्बदेखि १० अर्बको बीमाशुल्क संकलन गर्नेमा तीन कम्पनी छन् । जसमा लाइफ इन्स्योरेन्स कर्पोरेशन, नेशनल लाइफ र राष्ट्रिय बीमा संस्थान रहेका छन् । यता १ अर्बदेखि ५ अर्बको सूचीमा अधिकांश कम्पनी छन् ।

समीक्षा अवधिमा महालक्ष्मी लाइफले ७५ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएको छ । जुन मंसिरसम्मको तुलनामा २०.९१ प्रतिशतले बढी हो । त्यस्तै, पुस ७ गतेदेखि एकीकृत कारोबार गरेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले पुस मसान्तसम्ममा ५९ करोड ८२ लाख रुपैयाँ बराबरको जीवन बीमाशुल्क संकलन गरेको तथ्यांकले देखाएको छ ।

कुनको कति ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.