नेपालीले प्रयोग गर्छन् आवश्यकता भन्दा बढी नुन, रक्तचाप र ब्रेन ह्यामरेजको समस्या बढ्यो

  २०७९ माघ १८ गते १७:१४     विकासन्युज

काठमाडौं । नेपाली उपभोक्ताहरुले आवश्यकता भन्दा बढी मात्रामा नुनको प्रयोग गर्ने गरेको सरोकारवालाहरुले बताएका छन् ।

बुधबार राष्ट्रिय उपभोक्ता मञ्चले आयोजना गरेको अहिलेको नुन बजारको अवस्था र आयोडिन युक्त नुनको उपभोग सम्बन्धमा गरिएको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले आवश्यकता भन्दा बढी परिमाणमा नुनको प्रयोग हुने गरेको बताएका हुन ।

खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक डा. मनिता जोशी बैद्यले विश्व स्वास्थ्य संगठनले तोकेको न्यूनतम मापदण्डभन्दा माथि प्रयोग गर्ने गरेको पाइएको बताइन् ।

‘विश्व स्वास्थ्य संगठनले न्यूनतम प्रतिदिन ५ ग्राम नुनको प्रयोग गर्नुपर्छ भनेको छ, तर हाम्रोे अध्ययनले नेपालीहरुले प्रतिदिन न्यूनतम ९.५ ग्रामसम्म नुनको प्रयोग गरेको पाइएको छ’, उनले भनिन्, ‘आयोडिनयुक्त नुनको प्रयोग गर्नु राम्रो हो, तर आवश्यकताभन्दा बढी प्रयोग गर्दा उच्च रक्तचापदेखि ब्रेन ह्यामरेजसम्मका रोग थपियो ।’

उनले आयोडिनयुक्त नुनको मात्र प्रयोग गर्नुपर्छ भनिएतापनि दैनिक उच्च मात्रामा नुनको प्रयोग गर्दा अनेक प्रकारका रोगहरु मात्र थपिने गरेको बताइन् । ‘हाम्रो माटोमा आयोडिन नुनकोे कमी छ, सिफुड (समुन्द्रमा पाइने खानेकुरा) खाने प्रचलन छैन, एक जना स्वस्थ मानिसलाई दैनिक ५ ग्राम अर्थात एक चिया चम्चा नुनको आवश्यकता पर्छ’, उनले भनिन् ।

उनले पछिल्लो समय इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोग गरी नुनको विषयमा भ्रामक कुरा फैलदा गर्भवती तथा नुनको अति आवश्यक पर्नेहरुले समेत प्रयोग नगर्ने गरेको पाइएको बताइन् । उनले खाद्य विभागले नेपाल सरकारले तोकेको मापदण्ड अनुसार काम गरिरहेको समेत दाबी गरिन् ।

साल्ट ट्रेडिन कर्पाेरेशनका नायव प्रमुख कार्यकारी अधिकृत कुमार राज भण्डारीले कर्पाेरेशनले आयोडिनयुक्त नुनको थप प्रवद्र्धन तथा जनचेतना अभिवृद्धिका लागि विभिन्न कार्यक्रम गर्दै आएको बताए । नेपाल सरकारले हालसम्म आयोडिनयुक्त नुन प्याकेजिङ गरी बिक्री वितरण गर्ने अनुमति साल्ट ट्रेडिङ कर्पोरेसनलाई मात्र दिएको भन्दै उनले बजारमा पाइने अन्य नुनलाई निरुत्साहीत गर्नुपर्नेमा जोड दिए ।

उनले नेपालमा सन् १९९८ देखि ‘फेब्ररुअरी’ महिनालाई ‘आयोडिन मन्थ’ का रुपमा मनाइँदै आइएको बताउँदै आयोडिनको कमीले हुने समस्यालाई निवारण गर्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको बताए । स्वास्थ्य सेवा विभागको जनसेवा अधिकृत कल्पना पाण्डेले आयोडिन युक्त नुनकोे मात्र प्रयोग गर्नुपर्नेमा जोड दिइन् । उनले ९५ प्रतिशत नेपालीले आयोडिन युक्त नुनको मात्र प्रयोग गर्ने गरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जनचेतनामुकल कार्यक्रम आयोजना गर्दै आएको बताइन् ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक होमनाथ भटराईले नुनको आधिकारीक बिक्रेता साल्ट ट्रेडिङ कर्पाेरेशन मात्र रहेको भन्दै अन्य कम्पनीहरुले समेत नुन बिक्री वितरण गर्ने गरेको भेटिएको बताए । उनले विभागमा सरकारको अनुमति बेगर अन्य कम्पनीहरुले नुनको खरिद बिक्री गर्ने गरेको गुनासो आउने गरेको बताए ।

राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले बजारमा आयोडिन नभएका नुन छ्याप्छ छ्याप्ती भेटिने गरेको बताए । सरकारले नुन बिक्रीको जिम्मा कर्पाेरेशनलाई मात्र दिएतापनि बजारमा अवैध रुपमा विभिन्न नाम गरेका नुनहरु खुल्ला रुपमा खरिद बिक्री हुने गरेको बताए ।

उनले नेपालीले आयोडिन युक्त नुन खाने भन्दै नुनको उच्च मात्रामा प्रयोग गर्दा विभिन्न खालका रोगहरु थपिएको दाबी गरे । ‘हामी अल्छि भएका छौँ, बजारमा पाइने प्याकेजिङका खानेकुराहरु बढी खादा नुन धरै खायौैँ, एकै व्यक्तिले दिनमा ठूलो परिमाणमा नुन खादा थाइराइड, उच्च ब्रल्ड प्रेसर लगाएतका रोगहरु देखियो ।’

यस वर्ष साल्ट ट्रेडिङ कर्पाेरेशनले यस वर्षको नारा ‘थोरै खाओँ, सही मात्रामा खाऔँ, दुई बालबालिका चिह्न अङ्कित आयोडिनयुक्त नुन नै खाऔँ’ भन्ने रहेको जनाएको छ । हाल आयोडिनको कमीबाट उत्पन्न विभिन्न समस्यामध्ये देखिने गलगाँड ‘भिजिबल गोइटर’ समुदायमा नदेखिएको कर्पोरेसनले जनाएको छ । सन् १९८६ मा देखिने गलगाँड ४४.२ प्रतिशत रहेकामा सन् २००७ मा ०.४ प्रतिशतमा झर्न सफल भएको थियो । सरकारले दिएको निर्देशनअनुसार कर्पोरेसनले आयोडिनयुक्त नुनको आपूर्ति गर्दै आएको छ ।

सरकारले उचित मात्रामा आयोडिन भएको नुन उपभोग गर्ने घर संख्या शत्प्रतिशतमा पु¥याउने नीति लिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सर्वेअनुसार हाल ९१.० प्रतिशत घरपरिवारले उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गरिरहेका छन् ।

यसैगरी सन् २०१६ को नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षणका अनुसार ९४.५ प्रतिशत ५ वर्षमुनिका बालबालिकाले उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.