बीमा गर्नुस्, क्षति भए कम्पनीले क्षतिपूर्ति दिन्छ : कार्यकारी निर्देशक पौडेल

  २०७९ माघ १७ गते १३:१५     विकासन्युज


काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले गण्डकी प्रदेशका नागरिकलाई घर, कृषिबाली, जडिबूटी, पशुपन्छी र व्यवसायको बीमा गर्न आग्रह गरेका छन् । बीमा गरेपछि क्षति भएमा बीमा कम्पनीबाट क्षतिपूर्ति पाइने भन्दै कार्यकारी निर्देशक पौडेलले उक्त आग्रह गरेका हुन् ।

बीमा प्राधिकरणले गण्डकी प्रदेशको गोरखा जिल्लाको गोरखा नगरपालिकामा माघ १६ गते आयोजना गरेको बीमा सम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् । कार्यकारी निर्देशक पौडेलले कृषि तथा पशुपन्छी बीमामा विशेष जोड दिन र दाबी भुक्तानीलाई सरल एवम् छिटोछरितो बनाउन बीमा कम्पनीहरुलाई निर्देशन दिए ।

कार्यक्रममा प्रमुख अतिथि गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरले बीमा गरेपछि क्षति भएमा क्षतिपूर्ति पाइने भएकाले सबैले अनिवार्यरुपमा बीमा गर्नुपर्ने बताए । साथै, उनले बीमाको महत्वका बारेमा गाउँ गाउँमा जनचेतना फैलाएर बीमा गर्न प्रोत्साहित गर्नुपर्ने आवश्यकता औंल्याए ।

यसैगरी, गोरखा नगरपालिकाका उपप्रमुख मसलीमाया थोकरले बीमा दाबी भुक्तानीमा ढिलाई हुँदा बीमाप्रतिको विश्वसनीयतामा समस्या देखिएको उल्लेख गर्दै बीमा गराउनका लागि अनावश्यक होडबाजी नगर्न बीमा कम्पनीहरुलाई आग्रह गरे । साथै, उनले बीमालाई अनिवार्य गर्न तथा बीमा सम्बन्धी जानकारीमूलक कार्यक्रमहरु सञ्चालन गर्नका लागि साझेदारीका साथ अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा सहभागीहरुले बीमा सम्बन्धी जानकारीको अभावका कारण स्रोत भएर पनि बीमा नगरेको, पशुबीमाको दाबी भुक्तानी पाउन झण्झट व्यहोर्नु परेको, समान बीमालेखको बीमाशुल्कमा एकरुपता नभएको, बीमा दाबी भुक्तानी नपाएको भनेर नगरपालिकामा गुनासाहरु आउने गरेको लगायतका धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.