१० प्रतिशत व्यवसायीमा मनोरोगको समस्या, व्यवसायिक असफलता बन्दै मृत्युको बाटो

  २०७९ माघ १२ गते १३:०५     विकासन्युज

काठमाडौं । घटना १ : मंगलबार दिउसो बानेश्वर संसद भवन अगाडि इलामका प्रेम आचार्यले आफूमाथि पेट्रोल खन्याएर सडकमै आगो लगाए । नजिक रहेका सर्वसाधारण र प्रहरीले उनको शरिरमा लगाएको आगो निभाए । आफैमाथि आगो लगाएर आत्मदाहको प्रयास गरेका आचार्यलाई तुरुन्त किर्तिपुर अस्पताल पुर्याइयो । गम्भीर घाइते भएका आचार्यको उपचारकै क्रममा बुधबार बिहान मृत्यु भयो ।

आचार्यले आत्मदाह गरेपछि उनको विषयमा मिडिया र सामाजिक सञ्जालमा निकै चर्चा भयो । उनले आत्मदाह गर्नुअगाडि सामाजिक सञ्जालमा स्टाटस लेखेर आफ्नो व्यक्तिगत र व्यवसायिक जीवनको यथार्थ सार्वजनिक गरेका थिए । साथै उनले धेरै व्यक्ति तथा मिडियाहरुलाई पनि आफ्नो विषयमा जानकारी गराएका थिए । तर, आत्मदाह अगाडि उनको उद्दारको लागि कुनै पक्षबाट पनि निर्णायक पहल हुन सकेन । आचार्यले आफ्नो विषयमा सार्वजनिक गरेको प्रारम्भिक विवरणलाई हेर्दा उनी नेपालमा उद्यमको शुरुवात गरेर असफल भएपछि आत्मदाह गर्ने अवस्थामा पुगेका हुन् ।

घटना २ : काठमाडौंस्थित न्युरोडमा रहेको रञ्जना ट्रेड सेन्टरको चौथो तलामा सञ्चालनमा रहेको स्वेत बराह इन्टरप्राइजेजका सञ्चालक शुदर्शन घिमिरेले गत भदौको २१ गते आत्महत्या गरे । काभ्रेको काभ्रे नाला घर भएका घिमिरेले ०६६/६७ पछि काठमाडौंमा व्यवसाय गर्न शुरु गरेका थिए । ०७१ बाट उनले रञ्जना ट्रेड सेन्टरमा व्यवसाय शुरु गरेका थिए भने उनको श्रीमतीले पनि छुट्टै व्यवसाय सञ्चालन गरेकी थिइन् ।

कोरोना महामारीसँगै व्यवसायिक क्षेत्रमा परेको नकारात्मक प्रभाव घिमिरेको व्यवसायमा पनि परेको थियो । बैंक तथा वित्तीय संस्थाहरुलाई समयमा नै सावाँ ब्याज चुक्ता गर्न नसक्नु, चिनियाँ नाकामा भएको समस्याका कारण खरिद गरिएको लाखौंको सामान रोकिनु, व्यवसायमा मन्दी हुनु लगायत समस्याका कारण उनी आत्महत्याको अवस्थामा पुगेको हुनसक्ने अनुमान उनका निकट व्यवसायीहरुले विकासन्युजसमक्ष गरेका थिए । अध्ययन क्षेत्रमा स्नातकोत्तर तह पुरा गरेका घिमिरेले व्यवसायिक असफलताको कारण नै आत्महत्याको बाटो रोज्न विवश भए ।

घटना ३ : मोरङ विराटनगरको शनी रोडमा व्यवसाय गर्दै आएका विराटनगर, ३ पोखरियाका ५७ वर्षीय मोहन प्रसाद न्यौपानेले बुधबार आफ्नै घरमा आत्महत्या गरे । मोरङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपककुमार श्रेष्ठका अनुसार उनी आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

मोरङ इलेक्ट्रिक संघका पूर्व अध्यक्ष समेत रहेका न्यौपानेले बुवाआमासहित परिवारलाई सम्बोधन गर्दै बैंक र ऋणका कारण आफूले मृत्युवरण गर्नुपरेको आत्महत्या अगाडि सुसाइड नोट लेखेका थिए । उनले बैंक र सहकारीलाई डेढ करोड भन्दा धेरै पैसा तिर्न बाँकी रहेको सुसाइड नोटमा उल्लेख छ ।

घटना ४ : सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ का ४५ वर्षीय रामदेव मरिक गत सोमबार आफ्नै घरको दक्षिण–पश्चिम दिशातर्फ ३ सय मिटर पर आँपको रुखमा झुण्डिएको अवस्थामा फेला परे । मरिकको परिवारले घरायसी ऋणको तनावका उनले आत्महत्या गरेको हुनसक्ने प्रतिक्रिया सञ्चारमाध्यमलाई दिएका छन् ।

पारिवारिक खर्चको लागि मरिकको परिवारले सहकारीबाट १ लाख र लघुवित्तबाट १ लाख १५ हजार ऋण लिएको थियो । उनीहरुले किस्ता–किस्तामा आधा भन्दा धेरै ऋण तिरिसकेका थिए । बाँकी ऋणको पछिल्लो किस्ताको जोहो गर्न परिवारले सकिरहेको थिएन । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक नरेशकुमार सिंहले मरिक आत्महत्याको अवस्थामा फेला परेको भएपनि विस्तृत विवरण खुलिनसकेको बताएका छन् ।

घटना ५ : २०७८ को फागुन २५ मा काठमाडौंको नागार्जुन नगरपालिका–६स्थित रामकोट डाँडापौवामा भीममान प्रधानको परिवारले गरिबीकै कारण सामूहिक आत्महत्याको बाटो रोजे । काठमाडौं महानगरपालिका–१५ डल्लु स्थायी ठेगाना भएका प्रधानको परिवारका पाँचजना डाँडापौवामा डेरामा बस्न पुगेका थिए । महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी नायब उपरीक्षक मिलन केसीका अनुसार गरिबीबाट पार लाग्ने उपाय फेला नपारेपछि उनीहरू सपरिवार आत्महत्या गर्ने निर्णयमा पुगेको तत्कालिन समयमा सञ्चार माध्यमलाई प्रतिक्रिया दिएका थिए ।

प्रहरी नायब उपरीक्षक केसीका अनुसार भीममानको परिवारमा पत्नी ३३ वर्षीया मन्दिरा, ६३ वर्षीया आमा इन्द्रमाया, ११ वर्षीया छोरी सुब्रिना र २८ वर्षीय भतिजा सुवर्णमान छन् । उनीहरूमध्ये भीममान डिप्रेसन र इन्द्रमाया क्यान्सरपीडित रहेछन् । सुवर्णमान सुस्त मनस्थितिका रहेको प्रहरी नायब उपरीक्षक केसीले बताएका थिए । सुसाइड नोट लेखेर सामूहिक रुपमा विष सेवन गरेको प्रधान परिवारका एक सदस्यको तत्काल मृत्यु भएको थियो भने अरु चार जना गम्भीर अवस्थामा फेला परेका थिए ।

माथिका ५ वटा घटना बाहेक आर्थिक समस्या र गरिबीका कारण पछिल्लो समयमा मानिसको मानसिक समस्यामा असर पर्ने र त्यसले आत्महत्यासम्म डोर्याएका घट्नाहरु धेरै घट्ने गरेका छन् । पारिवारिक कलह र आपसी सम्बन्धमा आउने दरारका कारण हुने आत्महत्या सँगै पछिल्लो समयमा व्यवसायिक तथा उद्यम क्षेत्रमा देखिने समस्या र गरिबीको कारणले पनि मानिसहरुले आत्महत्याको बाटो रोज्ने गरेको धेरै घट्नाहरुले देखाएका छन् ।

के भन्छ सरकारी तथ्यांक ?

नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा ६ हजार २५२ जना, आर्थिक वर्ष २०७७/०७८ मा ७ हजार १४१ र आर्थिक वर्ष २०७८/७९ मा ६ हजार ८३० जनाले आत्महत्या गरेका छन् ।

राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण २०२० अनुसार नेपालका झण्डै ८० प्रतिशत मानिसहरुलाई मानसिक स्वास्थ्य सहायताको आवश्यकता परेको तर त्यसको उपलब्धता नभएको उल्लेख गरिएको छ । नेपाल प्रहरीको तथ्यांक अनुसार नेपालमा आत्महत्या गर्नेको वार्षिक वृद्धिदर ५ प्रतिशत भन्दा बढीले बढीरहेको छ ।

प्रहरीका अनुसार आवेश, नैराश्यकतारमानसिकरदीर्घ रोग, प्रेममा धोका, व्यावसायिक तनाव, पारिवारिक बेमेलन, असफलता र गरिबी लगायतका कारणले मानिसहरुले आत्महत्या गर्ने गरेका छन् ।

के भन्छन मनोरोग चिकित्सक ?

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल मानसिक स्वास्थ्य विभागका प्रमुख प्राध्यापक डा। सरोजप्रसाद ओझाले कोभिड महामारीपछि परामर्शमा आउने मनोरोगीको संख्यामा वृद्धि भएको बताएका छन् । उनका अनुसार पछिल्लो समयमा व्यवसायिक पृष्ठभूमिका व्यक्तिहरुमा असफलतकाको कारण मनोरोग समस्यामा वृद्धि भएको छ । ‘व्यवसायिक व्यक्ति या उद्यमी मा एन्जाइटीको सिन्ड्रम बढेको देखिन्छ’, डा.ओझाले बताए ।

उनका अनुसार एन्जाइटीका कारण व्यवसायीहरुले अल्कोहल लिने क्रम पनि पछिल्लो समयमा बढ्न पुगेको छ । आर्थिक समस्याका कारण नकारात्मक संकेत देखिनेको संख्या बढेको उनले बताए ।‘१०/१५ प्रतिशत संख्या बढेको छ, उनीहरुको मुख्य समस्या भनेको आर्थिक समस्या देखिन्छ’, उनले भने ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा दैनिक औसत रुपमा ८० देखि १ सय जना मनोरोग सम्बन्धी विमारीहरु उपचारको निम्ति आउने गर्छन त्यसमध्येमा १० प्रतिशत व्यवसाय तथा उद्यम क्षेत्रका विमारीहरु हुने गरेको प्रा।डा। ओझाले बताए । उनले अर्थतन्त्रमा देखिएको समस्याले मानसिक स्वास्थ्यमा समस्या बढेको समेत बताउँछन् । उपचारमा प्रारम्भिक चरणमा आएकाहरुलाई भने औषधि र परामर्शले ठिक हुने गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.