व्यवसाय संकटमा परेर बैंकको ऋण तिर्न नसकेपछि संसद भवन अगाडि नै आत्मदाहको प्रयास (पत्रसहित)

  २०७९ माघ १० गते १७:२८     विकासन्युज

काठमाडौं । मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि नै एक युवकले आत्मदाहको प्रयास गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सवार गाडी निस्कनेबित्तिकै एक युवकले आत्मदाहको प्रयास गरे ।

सुरक्षाकर्मीको गाडी पास भइसकेर प्रधानमन्त्रीको गाडी पास हुने बेलामा एक युवाले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन् । आत्मदाह प्रयास गर्ने युवक इलाम घर भएका प्रेम प्रसाद आचार्य भएको बुझिएको छ ।

उनी सुरुमा पर्यटन व्यवसायी भएको खुलेको छ । प्रहरीका अनुसार उनी घाइते भएका छन् । उनलाई उपचारका लागि बर्न अस्पताल कीर्तिपुर पठाइएको छ । ३६ वर्षीय उनले व्यवसाय संकटमा परी बैंकको ऋण तिर्न नसकेपछि आत्मदाहको प्रयास गरेको बुझिएको छ ।
उनले आत्मदाहको प्रयास गर्नुको कारण विकासन्युजलाई प्राप्त भएको छ ।

उनले आत्मदाहको प्रयास गर्नुअघि नै एउटा लामो पत्र लेखेका छन्

यस्तो छ उनको पत्र (सम्पादन नभएको)

म एक आम युवा, आम उद्यमी, आम ब्यवसायी, प्रेम प्रसाद आचार्य सन्तोष  (जन्म २०४३ भाद्र १, बतन सुर्योदय (फिक्कल)-११, केराबारी, इलाम, प्रदेश १) रङ्गिन सपनाहरु बुनेर, परिवार, समाज र देशप्रतिको जिम्मेवारि बहन गर्दै अगाडि बढिरहेको थिएँ। आज छत्तिसौं वसन्त पार गरी सक्दा पनि गरिएका कर्मबाट केही उपलब्धी हासिल गर्न नसकेको तितो सत्यलाई ओकल्दै मैले यो देशमा पढ्दा, जागिर खाँदा, ब्यापार गर्दा, बैदेशिक रोजगारमा जाँदा एबम उद्योग चलाउँदा भोग्नु परेका समस्या र ती समस्याहरुबाट पाएको शून्य उपलब्धी आज सरसर्ती यो सामाजिक सन्जालमा लेख्ने अनुमती चाहान्छु। यो एक आत्मबृतान्त पनि हो र मेरो असफलताको कथा पनि हो।

म विद्यार्थी कालमै रहँदा २०६७ मा ब्रेन ट्युमर भएर बुवा बित्नुभयो। बुवा बिरामी हुँदै गरेको अवस्थामा नै मेरो बिबाह भयो र बुवाको मृत्यु पस्चात म काठमाडौमा श्रीमती सँगै रहेर विभिन्न प्राइभेट स्कुल एबम ठमेलका ट्राभल एजेन्सिमा काम गरेर गुजारा गर्न थालेँ । त्यस बेला हाम्री ठुली छोरीको जन्म भैसकेको थियो। पैतृक सम्पती बाट पाएको इलाम फिक्कल बजारको घरलाइ बेचेर काठमाडौमा नै घर बनाउने प्रयत्न गरियो र त्यै अनुसार भयो। बुढानिलकण्ठमा घर बनाइयो र ठमेलमा ट्राभल एजेन्सी खोली काम गर्न थालियो। राम्रो चल्यो ट्राभल सुरुमा तर बिस्तारै उधारो बजारले गाज्न थाल्यो। चिनियाँ नागरिक, गोराहरु र काठमाडौकै +2 कलेज हरु हाम्रा ग्राहक भए। चिनियाँ पर्यटकहरुले कहिले कबोल गरेको पैसा नदिने, ट्रेकिङ लग्दा बिच बाटोमा पुगेपछी यहाँ यति उकालो छ भनेको थिइनस, यहाँ चिनियाँ खाना पाइन्दैन भनेको थिइनस आदि इत्यादी भन्दै निहुँ खोज्ने अनि पूरा पैसा कहिले नदिने। चिनियाँ पर्यटक छोडेर +2 का विद्यार्थीलाई आफ्नै जन्म जिल्ला इलाम लान थलियो दार्जिलिङ र सिक्कीम समेत गरेर। इलाममा Tea Tourism को अवधारणा ल्याउने म र मेरा साथी युवराज गौतम हुन भन्दा फरक नपर्ला। तर काठमाडौका +2 कलेज कहिले पूरा पैसा नदिने। ४-५ लाखको व्यापार (tour package) लानुपर्ने हुदा ३ लाख जति advance दिने, तेत्रो advance पाएपछी व्यापार नगर्ने कुरै भएन, तत्पश्चात बाटो देखि नै निहु खोज्न थाल्ने, tour नै तिक्तता पुर्ण हुने। बाटोमा सबै भन्दा धेरै complain खानामा आउने। ए हजुर हाम्रो देशमा बाटोमा खाना खराब छ, यो देशका सरकारले त्यस्तै खा भन्छ, कहिले सुधार हुदैन म के गरौं । अनि काठमाडौं आएपछी को कथा उहि। कलेजमा बाकी पैसा लिन जादा अनेक बाहाना बनाउने, घरी exam time मा आउनुहोस fee उठछ अनि दिन्छौं, घरी admission time मा आउनुहोस दिन्छौं भन्ने तर पैसा नदिने। kathford college बालकुमारिले दादागिरि सैलिमै १,७५,०००/- दिएन, saan international college  नक्सालले ९०,०००/- दिएन। यी त मुस्ठ हुन खुद्रा खुद्री कति दिएनन दिएनन। ठमेलमा office भाडा दिनुपरिहाल्यो, कर्मचारिलाइ तलब दिनुपरिहाल्यो अनि सुरु भयो ऋण को सिलसिला। यो देश उधारो बजारले सबैभन्दा धेरै बिग्रेको रहेछ भन्ने त्यहिबाट थाहा भयो। बजारमा जताततै लुटेरा मात्र रहेछन् । ट्राभल चलाउने क्रममा १-२ जना गोरा हरुलाइ pokhara, ghandruk, kathmandu valley, nagarkot आदि गन्तब्यमा लानु पर्ने हुदा भाडाका गाडी लानुपर्ने, महगो पर्ने भएकाले आफ्नै गाडी किनौ भन्ने लागेर suzuki ertiga गाडी लिने जमर्को गरियो। nic asia बैंक ले finance गर्दिने भयो। ६ लाख downpayment गरेर अरु किस्ता तिर्ने गरि गाडी निकालियो। downpayment मध्ये ४ लाख जम्मा गरियो २ लाख showroom ले भनेको समयमा दिन सकिएन, २ महिना समय मागे दिएन अनि गाडी फिर्ता लग्यो। suzuki showroom थापाथली ले मेरो ४ लाख खायो फिर्ता दिएन। यहाँ नहुनेलाइ र केही गर्न खोज्नेलाइ नै लुट्दा रहेछन् । हुदा हुदा ट्राभल्स बाट यति घाटा हुन थल्यो कि थाम्नै सकिएन। गोरा आउनै छाडे, चिनियाँ पर्यटक पैसै नदिने, +2 कलेजहरु पनि पैसै नदिने, भारतिय पर्यटक हरु खर्च नै नगर्ने फाइदै नहुने। ट्राभल बेचेर बिदेश जाने जमर्को गरियो। त्यस्बेलासम्म काठमाडौको घर, जग्गा सम्पती सबै सकियो र उल्टो ऋण लाग्यो।

 बिदेश जाने भनी जमर्को गर्दा झण्डै १ बर्ष लाग्यो र त्यो समय पनि ऋण मै परिवार चलाइयो। जसोतसो बाहिर गैयो कतार। office assistant मा अन्तर्बार्ता पास गरेर गएको, आफ्नै दक्षता ले ६ महिनामै sales and marketing manager भैयो। ५,०००/- कतारी रियाल तलब थियो, खाने बस्ने गाडी ईन्टरनेट सबै कम्पनिले दिने के चाहियो अरु? 2014 देखि 2017 सम्म कतार बसि सबै ऋण तिरी थोरै पैसा बचाएर देश फर्किए। श्रीमति र आफन्तको सल्लाह र आफ्नै इच्छा बमोजिम जन्म थलो इलाम घर गएर Suryodaya Agro Industries & Farm House Pvt. Ltd. – ilam agro mart नामक उद्योग खोलियो, सुर्योदय-११, केराबारी, इलाममा। गल्ती यहि गरिएछ। मैले सोचे पैसालाइ जग्गामा freeze गर्ने होइन चलायमान बनाउने, उद्योग खोल्ने, पैसा कमाउने र सबैको उदाहरण बन्ने। बचेको पैसाले जग्गा किनेको भए यतिखेर ५ डबल हुने थिएछ।

मैले कतार बस्दा इज्राएल, अस्ट्रेलिया, नर्वे, आदि देशबाट आएको ताजा फल्फुल, तरकारी, मासु, एबम विविध धेरै खाए देखे । हाम्रो देशमा पनि एस्तै गरि सुरक्षित packing गरेर मौलिक खानेकुराहरु बजारमा बेच्न सकिएला भन्ने आट आएर त्यही गर्न थालियो।इलाम घ्यु, इलाम गुन्द्रुक, इलाम अकबरे अचार, तामाको अचार आदि products बनाइ बेच्न थालियो। सुरुमा गाडी भाडामा लिएर झापाको बिर्तामोड, दमक, इटहरी, धरान, बिराट्नगर सम्म साना ठुला किराना पसल देखि गोरखा डिपार्टमेन्ट, बराहा डिपार्टमेन्ट, किनमेल डिपार्टमेन्ट, सतासी डिपार्टमेन्ट, NMC सहकारी पसल जस्ता ठुला मार्ट सबैलाइ सामान बेचियो। यति हत्तु भैयो कि पैसा कहिले समयमा पाइएन बजारबाट। सबैलाइ उधारोमा सामान बेच्नुपर्ने। र पनि हाम फाली हालियो फुत्कन सकिएन नाफा त के झन ऋण बड्न थाल्यो उधारो बजारले। कच्चा पदार्थ, factory operation cost, tax, labor/staff salary आदि सबै नगदमा किन्नुपर्ने/खर्च गर्नुपर्ने तर बजारलाइ उधारोमा सामान दिनुपर्ने त्यो पनि बाह्र बखडा लगाएर। जम्मै ३०-३५% नाफा देखिने कागजमा तर बजारमा सामान फस्ने हुदा, ६ महिनामा मात्र बल्ल तल्ल पैसा उठ्ने, केही % bad debts हुने। यता factory, raw materials, wages & salary नगदमा खर्च गर्नुपर्दा, र बैंकले पनि ऋण बन्द गरेको कारणले ब्यक्तिगत ऋण ३६% सम्म ब्याज तिरियो। अनि नाफा सक्किवरी उल्टो घाटा हुने। घाट पुर्ती गर्न लागेको ऋण र ब्याज तिर्दा तिर्दा डबल-तेब्बर घाटा हुने। एउटा ऋणको ब्याज तिर्न अर्को ऋण लाग्ने।अनि केही पसलहरुले सामान बेच्न नसक्ने अनि अन्त्यमा expire भयो सामान भन्दै फिर्ता दिने। पसलले/retailors हरुले केही risk नै नलिने। आफुले नगद लगानी गरेको products बजारमा उधारो बेच्दा त्यो लगानिको ब्याज, र त्यो ब्याज तिर्न नया ऋण, अनि नया पुरानो ऋण/ब्याज तिर्न फेरि नया ऋण। घर खर्च चलाउनै पर्यो, नानिहरुको शिक्षा र लालन पोसण गर्नै पर्यो। अनि सकिँदैन त सबै सम्पत्ति? त्यो काम फट्ट छोडौ के गर्नु अन्य? लगानी फसेको छ, नछोडै पार लाग्ने उपाय नै छैन। फेरि हाम्रो समाज यति अर्काको चासो गर्ने कि नयाँ काम थाल्दा उ फेरि गरिराखेको काम छोड्यो, यो मान्छे थिर छैन, काम फेरेको फेरै गर्छ यसले केही गर्दैन जिवनमा आदि इत्यादी भनी जता गये पनि लाल्छना र उपदेश सुनिरहनु पर्ने।

 सयौं पटक आत्महत्या गर्ने प्रयास गरे सकिन। आफैले चलाएको गाडी दुर्घटना गराउने प्रयास गरे भएन। श्रीमती छोराछोरी को माया र कर्तब्य ले मर्न सकिन। फोन कल यति सामना गरेकि phonophobia नै भयो। कहिलेकाही फोन नेट्वोर्क नआउने ठाउँमा पुग्दा मन आनन्दित हुने। २-३ बर्ष देखि नै depression मा थिए कसैले बुझेन। म depression मा छु भन्दा उल्टै गाली खाइयो। लड्दै पड्दै बाचियो।

scattered retailing ले पार नलाग्ने देखिएर dealership मा जाने निर्णय गरियो। फेरि सरकारले यति सास्ती दिन थाल्यो कि, सामान लिएर धरान बिराट्नगर जान नपाइने भैयो। factory ले direct retailing गर्न नपाइने रे! अनि vcts system रे। अडिट वा कतैपनी record मा नाआउने vcts के लागू गरिराखेको? बाटोमा प्रहरिलाइ घुस उठाउने मेलो मात्र। यदि vcts छैन भने ५,०००/- सम्म तिरेको छु प्रहरिलाइ। इलामको सब्जी काठमाडौ बेच्न लिएर आउदा पनि vcts रे! अनि बाटोमा चेकिङ मा बसेका प्रहरिलाइ सब्जी बाड्दै आउनुपर्ने नदिए आफै गाडिमा चडेर झिक्ने। कति लुट्छौ हो?जता ततै लुट्ने मात्र। भाडाका गाडिले पनि लुट्ने, प्रहरिले पनि लुट्ने, सरकारले पनि करको नाममा लुट्ने, बजारका retailer ले पनि लुट्ने। अनि जग्गा जमिन नबेचेर के गर्नु त ?

कृषि जन्य बस्तुको कारोबार गरेको हुनाले प्रदेश १ सरकार कृषि तथा भुमी ब्यवस्था मन्त्रालयले खुलाउने अनुदान कार्यक्रम ४ पटक अनुदान पाउ भनी निबेदन दिइयो, shortlist मा परिन्थियो नै। अनुगमन गर्न आउदा तपाइको सोच राम्रो रहेछ, काम पनि राम्रो रहेछ, यस्तो मौलिक बस्तुको बजारीकरण गरिरहनुभएको रहेछ, पक्का पाउनुहुन्छ अनुदान भन्ने अनि result आउने बेला कहिले मेरो कम्पनिको नाम नहुने। म इलाम सुर्योदय नगरपालिका -११ बासी मेरो factory पनि त्यहीँ । मेरा वडाका तत्कालिन वडा अध्यक्ष टेक बाहादुर राई ज्युको साङ्पाङ डेरि ले ३ लाख र १० लाख गरि दुई बर्ष लगातार अनुदान खाए र तेस्रो बर्ष उन्कै साङ्पाङ बङुर फार्म ले २५ लाख अनुदान खायो। मेरै आँखा अगाडी इलामकै मैनाली जि को साङृला टि स्टेट ले infrastructure development, अर्ग्यानिक प्रमाणीकरण र गाडी गरि एकै बर्ष एकै उद्योग एकै सरकारबाट २०-२५ लाख अनुदान खायो। हामी चिल्लै। अनि बल्ल थाहा भयो अनुदान लिनलाइ कि जनप्रतिनिधी, कि पार्टीको झोले कि त अनुदान दिने निकायका कर्मचारीलाई घुस दिनुपर्ने रहेछ। सच्चा कर्मनिण्ठ भएर नहुने रहेछ।
Dealer र ठुला mart मा समान दिनुपर्दा बार्शिक कारोबार ५० लाख नाघ्ने अनि उनिहरुले पनि vat bill नै खोज्ने भएकाले vat मा जानुपर्ने बाध्यता भयो र गैयो। अनि सुरु भयो अर्को दसा। फेरि हाम्रो देशको कर प्रणाली सारै अप्ठ्यारो । ब्यापार घाटामा छ, घाटा देखाउ बैंक ले loan नदिने, नाफा देखाउदा प्राली कम्पनिले बार्सिक नाफाको २५% कर तिर्नुपर्ने। खर्च देखाउन आफुले, श्रीमतिले तलब खाको देखाउदा १% TDS तिर्नुपर्ने फेरि बार्शिक ४ लाख ५० हजार नाघेमा करको दर बड्ने। महिनैपिच्छे १० लाख कारोबार भएमा १३% VAT अर्थात १ लाख ३० हजार महिनाकै सरकारलाइ बुझाउनु पर्ने, त्यो बिलम्ब भएमा २५% ब्याज तिर्नुपर्ने। बर्षमा एक पटक कम्पनी रजिस्ट्रार मा, घरेलुमा, नगरपालिकामा कम्पनी renew शुल्क बुझाउनु पर्ने, तेहेरो कर। अनि बार्शिक अडिट शुल्क आदि। कसरी थाम्छ एउटा गाउमा रहेको कम्पनिले यी सबै शुल्क र भार?
रसिया मा उद्योग/ब्यापार गरि अरबपती भएका डा. उपेन्द्र महतो एबम डा. समता प्रसादले नेपालमा चलाउनु भएको नेपाल ग्रामोध्योग भन्ने कम्पनिलाइ प्रकृति ब्राण्ड मा घ्यु बनाएर दिए। सुरु सुरुमा राम्रो payment गरे advance पनि दिए। हुँदै गएपछी पैसा नदिने, मेरो सिको गरेर आफै घ्यु बनाउने अनि बिगार्ने अनि तपाइको घ्यु expire भयो भन्दै फिर्ता लैजा भन्ने। बेच्नै सक्दैनौ भने ९ महिना सम्म तिम्रो गोदाममा राख्न एउटा निम्न स्तरको उद्यमिलाइ लुट्न किन कम्पनी खोलेको नेपाल आएर? नेपाल ग्रामोध्योग लाई म चुनौती दिन्छु। मेरो जति पैसा खाको छौ तुरुन्त फिर्ता गर अनि तिम्रो failure ले भयेको goods expire र damage को तिमी नै risk लेउ। अर्को चुनौती मलाइ सामान फिर्ता गरे भन्दै debit note काट्दै बस्छ तिम्रो ac department, पुष्टि गर मैले समान receive गरेको, मेरो company को छाप वा मेरो सहि देखाउ तिम्रो return bill मा। समान तिमिहरुको गोदाममै expire भयो भने वा बजारबाट फिर्ता आयो भने debit note काटिहाल्ने अनि मैले पाउने पैसा बाट त्यस्को value घटाउने? तिमिहरु सब लुटेरा हौ। आफ्नो factory काहीँ पनि छैन, बजारमा प्रकृति ब्राण्डका जतिपनी खाद्य बस्तु बेचिरहेका छौ, ती सबै अर्कैले बनाइदिएका हुन। म जस्तै साना साना कम्पनीबाट लुटेका हौ। margin पनि तिमिहरुले नै भनेको हुनुपर्ने, mrp पनि तिमिहरुले नै तोक्नुपर्ने, यो काहाको न्याय हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.