बैंकको ब्याजले सकस भएको व्यवसायीको गुनासो, अर्थमन्त्रीले भने : नआत्तिनुस्, समाधान हुन्छ

  २०७९ माघ ९ गते २०:१४     विकासन्युज

काठमाडौं । उद्योगी व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाको ब्याजदरले ब्यवसाय गर्न समस्या भइरहेको गुनासो गरेका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला (एमएसएमई) सम्मेलनमा बोल्ने अधिकांश उद्योगी व्यवसायीहरुले बैंक तथा वित्तीय क्षेत्रको उच्च ब्याजदरको कारणले उद्योग व्यवसाय विस्तार गर्न समस्या भइरहेको गुनासो गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकहरुको उच्च ब्याजले साना उद्यमीलाई कर्जा पाउन पनि कठिन भएको बताएका छन् । बैंकहरुको महँगो ब्याजले साना उद्यमीलाई लगानी विस्तार गर्न र उद्यम टिकाउनसमेत चुनौति भइरहेको बताउँदै साना उद्यमीलाई परियोजनामा आधारित कर्जा उपलब्ध गराउनु पर्ने धारणा राखे ।

यस्तै, उनले करिब ५० प्रतिशत उद्योगहरु दर्ता नभएकाले त्यसको वास्तविक पहिचान गर्न सरकारसँग आग्रह गरे । ‘कतिपय उद्योगहरु झमेलामा पर्ने डरका कारण पनि दर्ता भएका छैनन्, सरकारले यस्ता उद्योगलाई नीति नियमको दायरामा ल्याउनु पर्छ,’ उनले भने ।

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लघु, घरेलु, साना तथा मझौला उद्योगको विकास गर्नसके नेपालको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने बताए । उनले एमएसएमई धेरै रोजगारी सिर्जना गर्ने क्षेत्र भएकाले यो क्षेत्रको विकासमा सम्बन्धित नियाकले पहल नगरेको गुनासो गरे । वरिष्ठ उपाध्यक्ष ढकालले वर्तमान सरकारले निजी क्षेत्रको समस्या समाधानका लागि आवश्यक काम अघि बढाउने कुरामा आफूहरु विश्वस्त भएको सुनाए ।

यस्तै, नेपाल घरेलु उद्योग तथा साना उद्योगकी उपध्यक्ष शोभा शर्माले साना उद्यमीहरुले बैंक कर्जा लिन जाँदा चप्पल फाट्ने तर कर्जा नपाइने गुनासो गरिन् । सायौं पटक बैंक तथा वित्तियमा कर्जा माग्न जाँदा भोगेको समस्या बताउँदै भनिन्, ‘बैंकले सहुलियत कर्जा दिने भन्दै प्रचार गर्छ तर कर्जा भने सहज रुपमा पाइँदैन, नेपाल राष्ट्रिय बैंकको यस तर्फ ध्यान जान जरुरी छ,’ उनले भनिन् ।

नेपाल राष्ट्रबैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले साना उद्यमीलाई कर्जा प्रदान होस् भन्ने मनसायले नै राष्ट्र बैंकले एसएमई कर्जाको व्यवस्था गरेको सुनाए । उनले साना, घरेलु तथा मझौला उद्योग (एसएमई) लाई राष्ट्र बैंकले प्राथमिकता दिएको बताउँदै सबै बैंक तथा वित्तीय क्षेत्रलाई पनि यो क्षेत्रमा कर्जा प्रवाह गर्न निर्देशन दिइरहेको धारणा राखे ।

‘सहुलियतपूर्ण कर्जाको सकारात्मक प्रभाव देखिएको छ तर वित्तीय साक्षरता पनि उतिकै आवश्यक छ, बैंकिङ पहुँच विस्तार गर्न अब वडा÷वडामा बैंकका शाखा पुग्नु पर्छ,’ उनले भने । उनका अनुसार २०७९ मंसिर सम्म बैंक तथा वित्तिय संस्थाले ४ खर्ब २३ अर्ब १५ करोड रुपैयाँ लघु साना र मझौला उद्योग क्षेत्रमा कर्जा लगानी गरेका छन् ।

समस्याको समाधान गर्दैछु : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रमा देखिएका समस्या र निजि क्षेत्रका मागहरु क्रमिक रुपमा पुरा गर्दै गएको बताएका छन् । उप–प्रधानमन्त्री समेत रहेका अर्थमन्त्री पौडेलले ब्याजदर, चालू पुँजी कर्जा, आयातको नगद मार्जिन र आयात प्रतिबन्ध जस्ता समस्याको आफुले समाधान गरेको बताएका हुन् ।

‘नेपालको कुल ग्रार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योग्दान ५.६ प्रतिशत छ, त्यसमा घरेलु तथा साना उद्योगको अंक ९० प्रतिशत छ, नेपालमा सञ्चालित कुल उद्योग मध्ये ९८.४४ प्रतिशत एमएसएमई उद्योग छन्, एसएमईका समस्या समाधान गर्न सरकार तयार छ,’ उनले भने ।

‘स्टार्टअप कार्यविधि अझैसम्म पनि बन्न नसक्नु सरकारको कमजोरी हो, कार्यविधि छिट्टै पारित हुनेछ’, उनले भने, ‘निजी क्षेत्रले माग गरिरहेको परियोजना कर्जा पनि छिट्टै कार्यान्वयनमा ल्याइनेछ ।’

साना तथा मझौला उद्योगका समस्याबारे निजी क्षेत्रले सरकारलाई स्पष्ट सुझाव दिन आवश्यक भएको उनको भनाइ छ । प्रक्रियागत झन्झटहरु कसरी कम गर्न सकिन्छ र के कसरी सेवा प्रवाहलाई सहज बनाउन सकिन्छ भनेर मुर्त र स्पष्ट सुझावको अपेक्षा सरकारको रहेको उनले बताए । निजी क्षेत्रका समस्या सुन्ने र जायज समस्या समाधानका लागि आफूले काम गर्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.