प्रविधिमा आधारित कम्पनीहरु जोखिममा, खर्च कम गर्न हजारौं कर्मचारी कटौति

  २०७९ माघ ९ गते ११:४७     विकासन्युज

काठमाडौं । गत शुक्रबार गुगलको माउ कम्पनी अल्फाबेटले १२ हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । यो कुल कम्पनीको ६ प्रतिशत कर्मचारी हो ।

यस्तै, गत साता नै अमेजनले १८ हजार कर्मचारी कटौतिको निणर्य गर्यो भने माइक्रोसफ्ट १० हजार कर्मचारी कटौती गरेको छ ।

त्यस्तै, एलन मस्कले नेतृत्व समालेपछि ट्वीटरले पनि धमाधम कर्मचारी गरिरहेको छ । फेसबुक, ह्वाट्सएप, इष्ट्राग्राम लगायत सामाजिक सञ्जालको मातृ कम्पनी मेटाले कुल कर्मचारीको १३ प्रतिशत कटौति गर्ने निणर्य गरेको छ ।

सन् २०१० पछि विश्वमा सबैभन्दा बढी रोजगारी सिर्जना गरिरहेको प्रविधि क्षेत्रले पछिल्लो समय कर्मचारीहरु कटौति गर्न थालेपछि विश्व श्रम बजारमा नयाँ बहस सुरु भएको छ । ‘यो अपेक्षकृत थियो,’ उल्फी रिर्सचका प्रबन्धक निर्देशक एलेक्स जुकिनेले भने । ‘मलाई लाग्छ कम्पनीहरु अहिले आफूलाई चाहाने सही संख्याका कर्मचारी बनाउँदैछन्,’ उनले भने ।

हरेक वर्ष कर्मचारी संख्या बृद्धि गर्दै लगिरहेका प्रविधिमा आधारित कम्पनीहरुले सन् २०२२ को सुरुवातदेखि कर्मचारी कटौती सुरु गरेका हुन् । एक अध्ययन रिपोर्टका अनुसार २०२२ मा साढे एक लाख प्राविधिक कर्मचारीहरु कटौति भएका छन् ।

माइक्रोसफ्टका प्रमुख कार्यकारी अधिकृत सत्या नाडेलले कर्मचारी कटौती गर्दै एक कर्मचारी पठाएको इमेलमा ग्राहकहरुले सुस्त अर्थतन्त्रसँग चल्नको लागि आफ्नो डिजिटल खर्चलाई कम गर्दै लगेको बताएका थिए ।

थोरै समयमा एकदमै धेरै कर्मचारीहरु थप्नेमा माइक्रोसफ्ट पर्दछ । सीइओ नाडेलाले ६० हजार कर्मचारीहरुलाई थपेर दुई लाख पुर्र्याएका थिए ।

मेटाले मात्रै २०२२ को पहिलो ९ महिनामा १५ हजार कर्मचारी थपको थियो । तर त्यसको केही समयपछि मेटाले १३ प्रतिशत कर्मचारी कटौति गर्दै सीइओ मार्क जुकरबर्कले आफूहरुले कर्मचारी थप्दा गलत हिसाब गरेको बताएका थिए ।

माइक्रोसफ्टको २०२२ को कुल आम्दानी १९८ अर्ब डलर रेहेको छ । यो २०२१ को भन्दा १७.९६ प्रतिशत बढि हो । यस्तै, गुगलले पनि २०२२ को पहिलो त्रैमासमा ६९ अर्ब डलर कमाएको छ । यो अघिल्लो वर्षको सोही त्रैमासको दाँजोमा बढी हो ।

राम्रो नाफा गरे पनि यी कम्पनीहरुले कर्मचारी कटौती गर्नुमा दुई वटा आधार देखिाएका छन् । पहिलो विश्व अर्थतन्त्रमा देखिएको मन्दी हो भने दोस्रो सूचना प्रविधिको क्षेत्रले पूर्वानुमान अनुसार आम्दानी विस्तार गर्न असफल हुनु हो ।

ठूला प्राविधिक कम्पनीहरुले कोभिडको समयमा धेरै संख्यामा कर्मचारीहरु थपेको थिए । माइक्रोसफट, मेटा लगायतका ठूला कम्पनीहरुले ठूलो संख्यामा कर्मचारी थपे । कोभिड समयमा जस्तै कोभिडपछि पनि मानिसहरुको जीवन अनलाइनमा नै सीमित हुन्छ भन्ने ठूला कम्पनीहरुको प्रक्षेपण थियो ।

कोभिड महामारीको समयमा हामी सबैको जीवन अनलाइनमा केन्द्रित भयो । यसअघि भौतिक रुपमा गरिदै आएका कार्यमा महामारीको समयमा डिजिटलाइजेसनले ठूलो फड्को मार्यो ।

मानिसहरुले अधिकांश समय अनलाइनमा बिताउन थाले । पढाई, काम, मिटिङ्ग, सपिङ्ग, खाना अर्डरहरु सबै अनलाइनमात्र भए । कोभिडले जीवनमा ठूलै परिवर्तन आयो । त्यसको आधारमा सूचना प्रविधिमा आधारित कम्पनीहरुले ठूलो संख्यामा कर्मचारी नियुक्त गरेको थिए ।

कार्यालयमा बसेर गरिने काम घरबाटै हुनु थालेको थिए । विदाको दिनमा हुने घुमाघाम मानिसहरुले नेफिल्क्स, एमेजन प्राइमहरुमा बिताउन थाले । मासिनहसँगको भेटघाट गर्ने माध्यम नै अनलाइन बन्यो ।

महामारीले निम्त्याएको विश्वव्यापी उथलपुथलको अवस्थाले अनलाइन गतिविधिमा ल्याएको उछाल प्राविधिक कम्पनीहरूको लागि वरदान बन्यो । प्राविधिक कम्पनीले यसलाई स्थायी रुपमा रहेन प्रक्षेपण गरे र त्यही अनुसार कर्मचारीहरु थप्दै लगे ।

तर विस्तारै जीवन सामान्य रुपमा फर्किर्दै गएपछि ठूला कम्पनीहरुले गरेका प्रक्षेपणहरु गलत सावित भए ।

अनलाइन मिटिङ्ग गर्ने जुम, गुगल मिटहरुको प्रयोग गर्नेको संख्या अझै पनि धेरै छ तर पहिलाको जस्तो सबै मिटिङ्ग अनलाइनबाट गर्ने अभ्यास हटेको छ । कार्यालयको काम पुरानै शैलीमा फर्किएको छ । दुईवर्षसम्म चार कोठाभित्र थुनिएर बसेका मानिसहरु पछिल्लो समय बाहिर निस्कन उत्साहित छन् । काम अफिसमै गर्ने, भेटेर नै छलफल गर्ने, घुमघाममा बढ्दो रुचीले प्रविधिमा आधारित कम्पनीहरुको प्रक्षेपण अनुसार आम्दानी हुन सकेको छैन ।

प्राविधिक कम्पनीहरु थपेका कर्मचारी घण्टाको १० डलर लिने मात्र थिएनन्, ६ अंकमा तलब खाने निकै अनुभवी सफ्टवेयर इन्जिनियर र डेभलपरहरु पनि थिए । उनीहरुको लागत महँगो भयो तर बजार विस्तार न्युनदरमा भयो ।

कम्पनीहरुले अक्रामक रुपमा गरेको लगानीको नतिजा नआएपछि उनीहरु खर्च कटौतिमा केन्द्रीत भएका छन् । १३ प्रतिशत कर्मचारी कटौती गर्दा जुकरबर्गले आफूले लगानी बढाउन कर्मचारी थपेको तर सोचे जस्तो नभएको बताएका छन् ।

यस्तै कर्मचारी कटौती हुनको कारण भू-राजनीतिक संकट पनि हो । यसको कारण भएको उच्च मुद्रास्फीतिले विश्वको हरेको देश प्रभावित भएको छ । कोभिडको कारण थला परेको अर्थतन्त्रको सूचकहरु सामान्य हुँदै जाँदा, रुस र युक्रेनबीच भएको युद्धले मुख्य व्यापार मार्ग अवरुद्ध भएपछि अर्थतन्त्रको अवस्था झनै नाजुक बन्यो ।

लगातार बढ्दै गएको उपभोक्ता मूल्यका कारण केन्द्रीय बैंकहरू २०२२ को सुरुदेखि नै मौद्रिक नीति कडाइ गर्दै लगे । त्यसपछि, लगभग सबै केन्द्रीय बैंकहरूले ब्याज दर बढाउन थाले । बढ्दो ब्याजदरले वित्तीय प्रविधि क्षेत्रमा कम्पनीहरू पनि मारमा परे । र यसले कर्मचारी कटौतीलाई निम्त्यायो ।

रोइटर्सद्धारा प्रकाशित एक अध्यनको अनुसार गुगलले कर्मचारी घटाउन थप आक्रामक रणनीति अपनाउन लगानीकर्ताको दबाब रहेको बताइएको छ । कर्मचारी कटौती हुनको यो अर्को एक कारण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.