पर्वत प्रशासन कार्यालयले शुरु गर्‍यो स्तनपान कक्ष

  २०७९ माघ ८ गते १०:१६     विकासन्युज

पर्वत । जिल्ला प्रशासन कार्यालय पर्वतले सेवाग्राहीको समस्या र आवश्यकतालाई ध्यानमा राख्दै प्रशासन हाताभित्र स्तनपान कक्ष निर्माण गरेको छ । पछिल्लो समय लैङ्गिक विषयका मुद्दा महत्वका साथ उठिरहेको बेला प्रशासनले पनि त्यसतर्फ काम गर्न थालेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बताए । उनका अनुसार सेवा प्रवाहलाई महिलामैत्री बनाउन यस्तो व्यवस्था गरिएको हो । गत बिहीबारदेखि स्तनपानकक्ष सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।

दुधे बालकसहित सेवाग्राहीका रूपमा आएकी फलेवास नगरपालिका–१ कार्किनेटाकी कुमारी केसीलाई स्तनपान कक्षमा लगी स्तनपान गर्न लगाएर उक्त कक्षको शुभारम्भ गरिएको थियो । सो अवसरमा आमा र बच्चालाई खादा ओढाएर सम्मान गरिएको थियो ।

जिल्ला प्रशासनमा शुरुआतसँगै जिल्लाका सबै सरकारी कार्यालयमा सेवाग्राहीका लागि स्तनपान कक्ष, खानेपानीको व्यवस्थालगायत सेवाग्राहीमैत्री वातावरण बनाउन प्रजिअ सापकोटाले कार्यालय प्रमुखहरूलाई निर्देशन दिए । गृह मन्त्रालयबाट स्तनपानकक्षको व्यवस्थापनका लागि रु दुई लाख प्राप्त भएकाले सोही रकमले व्यवस्थापन गरिएको हो । पछिल्लो समय कार्यालयमा सेवा लिन आउने महिलाको सङ्ख्या बढ्दै जाने र कार्यालयभित्र काम हुँदाहुँदै केही समय कुर्नुपर्ने अवस्थामा सहजरूपमा आफ्ना बालबालिकाको हेरचाह गर्न सकुन् र सुरक्षित स्थानमा स्तनपान गराउन सकुन् भन्ने उद्देश्यले स्तनपानकक्ष सञ्चालनमा ल्याइएको प्रजिअ सापकोटाले जानकारी दिए ।

यसअघि विसं २०७४ मा गण्डकी प्रदेश सरकारअन्तर्गत शहरी विकास तथा भवन डिभिजन कार्यालयको झण्डै रु नौ लाख लागतमा भवन निर्माण गरी स्तनपान कक्ष बनाइएको थियो । तत्कालीन प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले स्तनपान कक्ष बनाएर सेवा शुरु गरे पनि पछिल्लो समय प्रभावकारी हुन सकेको थिएन ।

कार्यालयले ज्येष्ठ नागरिक, फरक क्षमता भएकाका लागि समेत विशेष व्यवस्था गरेको छ, जसलेगर्दा उनीहरूको काम छिट्टै सम्पन्न हुन थालेको छ । केही समयअघि जिल्ला प्रशासन कार्यालयमै स्वास्थ्य परीक्षण सुविधासमेत शुरुआत गरिएकोमा अहिले भने हटाइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.