ताप्लेजुङ-भद्रपुरमा उडान थप, भाडा कति ?

  २०७९ माघ ३ गते १०:०५     विकासन्युज

फुङ्लिङ। ताप्लेजुङमा सीता एयरले बुधबारदेखि काठमाडौँ–ताप्लेजुङ–काठमाडौं र ताप्लेजुङ–भद्रपुर–ताप्लेजुङ उडान भर्ने भएको छ । ताप्लेजुङमा पर्यटक तथा तीर्थयात्रीहरूको चहलपहल बढ्ने समय भएसँगै उडान थप गरिएको हो ।

सुकेटार विमानस्थलमा नेपाल एयरलाइन्स र सीता एयर गरी दुई कम्पनीले उडान गर्ने भएको छ । सुकेटार विमानस्थलबाट साताको सोमबार, बुधबार र शुक्रबार गरी तीन दिन उडान गर्ने तालिका रहे पनि सीता एयरले बुधबार भने दुईपटक उडान गर्ने कार्यालय प्रमुख सिरी खड्काले बताए । उनका अनुसार बुधबार ताप्लेजुङबाट झापाको भद्रपुर र काठमाडौँका लागि दुईपटक उडान हुनेछ ।

यस्तै हप्ताको चारपटक काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान गरिरहेको निमगको जहाजले पनि सातामा एकपटक ताप्लेजुङ–विराटनगर उडान गर्ने तयारी गरिहेको ‘स्टेशन इन्चार्ज’ लोकेन्द्र हाङ्गाम लिम्बूले बताए ।

प्रदेश नं १ को राजधानीलाई लक्षित गरी कम्तीमा सातामा एक दिन ताप्लेजुङ–विराटनगर उडान गर्ने तालिका बनिरहेको उहाँले जानकारी दिए । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट समेत नेपाल वायु सेवा निमगको ट्वीनअटर जहाजले उडान भर्ने तालिकासँगै ताप्लेजुङ–विराटनगरको उडान तालिका पनि तय हुने उनको भनाइ छ ।

यस पहिले सीता एयरले काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान गर्दै आएकामा वर्षायामको सिजनमा भिजिबिलिटी कम भएका कारण उडान स्थगन भएको थियो । मौसम सफा हुने पर्यटकको चहलपहलसमेत वृद्धि हुने भएकाले उडानलाई निरन्तरता दिइएको बताइएको छ ।

सीता एयरले ताप्लेजुङबाट भद्रपुरका लागि पाँच हजार तीन सय ८५ र काठमाडौँसम्मका लागि नौ हजार दुई सय ८५ भाडादर निर्धारण गरिएको इन्चार्ज खड्काले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.