यी हुन् अटो एक्स्पोमा राखिएका ६०० किलोमिटरसम्म रेञ्ज दिने विद्युतीय कार, यस्तो छ मूल्य र विशेषता

  २०७९ पुष २८ गते १६:१९     राजिव न्यौपाने

नयाँ दिल्ली, भारत । बुधबारदेखि भारतको नयाँ दिल्लीमा अटो एक्स्पो २०२३ सुरु भएको छ । बुधबार भारतको ग्रेटर नोयडामा अटो एक्स्पो २०२३ सुरु भएको हो । प्रदर्शनीमा विभिन्न कम्पनीले विभिन्न मोडलका गाडीहरु प्रदर्शनीमा राखेका छन् । । एक्स्पोमा विशेष गरेर विद्युतीय सवारी साधनहरुको बाहुल्यता छ । बुधबार अर्थात् पहिलो दिन ५९ मोडलका सवारी साधनहरु सार्वजनिक गरिएको थियो । जसमा सबैभन्दा बढी विद्युतीय गाडीको नै वर्चश्व थियो ।

बुधबार आधा दर्जन बढी कम्पनीले विद्युतीय गाडीहरु प्रदर्शनीमा राखेका थिए । बुधबार मारुती, सुुजुकी, हुन्डाई, टाटा, किआ, एमजी र बीवाईडी कम्पनीहरूले करिब दुई दर्जन मोडलका विद्युतीय गाडी प्रदर्शन गरेका छन् । ती विभिन्न कारहरु २०२३ देखि २०२५ सम्म भारतीय बजारमा आउन आउने बताइएको छ ।

प्रदर्शनीमा मारुतीको इभीएक्स, हुण्डाई आइकोनिक–५, आइकोनिक–६, टाटा सियरा, टाटा हैरियर, टाटा कर्व, टाटा अविन्या, एमजी इएचएस, एमजी फोर, एमजी फाइभ, मिफा–८ र किया ईभी–९ लगायतका विद्युतीय गाडीहरु प्रदर्शनीमा राखिएका छन् ।

एक्स्पो सर्वसाधारणका लागि भने भोलि अर्थात् शुक्रबार मात्रै खुल्ला गरिने छ । दुई पाँग्रे सवारी साधनहरु पनि प्रदर्शनीमा उल्लेख्य मात्रामा छन् । टर्क मोटर, लाइजर, मेटर, कार्टस्, भिडा, बजाज, टीभीएस लगायतका ब्राण्डले ईभी प्रदर्शनीमा राखेका छन् ।

यस्ता छन् कारका विशेषता

इभीएक्स

भारतीय कार उत्पादक कम्पनी मारुती सुजुकी इन्डिया लिमिटेडले अटो एक्स्पो २०२३ मा ईभीएक्स विद्युतीय गाडी सार्वजनिक गरेको छ । यस ईभीको लम्बाइ ४ हजार ३०० एमएम, चौडाइ १ हजार ८०० एमएम र उचाइ १ हजार ६०० एमएम रहेको बताइएको छ ।

यस कारमा ६० किलोवाट आवरको ब्याट्री प्याक, ५५० किलोमिटरसम्म ड्राइभिङ रेन्ज र मूल्य अधिकतम् २० लाख रुपैयाँ भारु तोकेको छ । यो गाडी २०२५ सम्म बजारमा ल्याउने बताइएको छ ।

आइकोनिक–५ र ६

कोरियन अटोमोबाइल कम्पनी हुन्डाई मोटर्सले इलेक्ट्रीक कार आइकोनिक ५ र आइकोनिक –६को सार्वजनिक गरेको छ । यी दुवै कारण धेरैले रुचाइएका मध्येका कार हुन् । आइकोनिक–५ मा ६२१ किलोमिटर रेञ्ज, ७२.६ किलोवाट आवरको ब्याट्री छ भने ४४.९५ लाख रुपैयाँ भारु मुल्य निर्धारण गरिएको छ ।

हुण्डाई आइकोनिक–६ को भने ७७.४ किलोवाट ब्याट्री, ६१० किलोमिटरको रेञ्ज रहेको छ । यो कारको मूल्य भने निर्धारण गरिएको छैन ।

टाटा

टाटा कम्पनीले पनि विभिन्न मोडलका विद्युतीय गाडी सार्वजनिक गरेको छ । यस कम्पनीले टाटा कर्व, टाटा अविन्या, टाटा हैरियर र टाटा सियरा कार प्रदर्शनीमा राखेको छ । यी सबै गाडीहरु २०२४ देखि २०२५ भित्र बजारमा पठाउने कम्पनीको दावी छ । यी गाडीहरुको रेञ्ज ४०० देखि ५०० किलामिटरसम्मको रेञ्ज छ ।

एमजी

एमजीले पनि विभिन्न मोडलका विद्युतीय गाडी प्रदर्शनीमा राखेको छ । एमजी इएचएस, एमजी फोर, एमजी फाइभ मोडलका विद्युतीय गाडी प्रदर्शनीमा छन् । एमजी फोरले युरोपमा फक्सवागन आईडी थ्री तथा किया निरो ईभीसँग समेत प्रतिस्पर्धा गर्ने अनुमान गर्न थालिएको छ ।

एमजी फोरले एक पटकको फुल चार्जमा ४ सय ५० किलोमिटर रेन्ज दिने कम्पनीले दावी गरेको छ । एमजी फोरको ५१ देखि ६४ किलोवाट आवरको ब्याट्री अप्सनमा छ । एमजी फाइभको पनि ४०२ किलोमिटर रेञ्ज र ६१.१ किलोवाट ब्याट्री छ । एमजीको विद्युतीय कार एमजी जेडएस ईभी नेपाली बजारमा समेत उल्लेख्य संख्यामा बिक्री भएको थियो ।

किया ईभी–९

किया मोटर्सले प्रदर्शनीम किया ईभी–९ मोडलको विद्युतीय कार राखेको छ । यस कारले एक पटकको फुल चार्जमा ५४० किलोमिटरको रेन्ज दिने बताइएको छ ।

इभी ९ को लम्बाइ ४९३० एमएम, चौडाइ २०५५ एमएम र उचाइ १७९० एमएमको रहेको छ । यो एसयूभीको ह्वील वेसको लम्बाइ भने ३१०० एमएमको रहेको छ । यस कारलाई २० मिनेट चार्ज गर्दा ८० प्रतिशत हुने बताइएको छ । जसको ७७.४ किलोवाट आवर ब्याट्री प्याक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.