गोरखा नगरपालिकाको नाम ‘पृथ्वीनारायण’ राख्न माग

  २०७९ पुष २७ गते १०:२८     विकासन्युज

गोरखा । राष्ट्रिय प्रजातन्त्र पार्टी गोरखाले गोरखा नगरपालिकाको नाम परिवर्तन गरेर ‘पृथ्वीनारायण नगरपालिका’ राख्न माग गरेको छ।

नगरप्रमुख कृष्णबहादुर रानामगरलाई ज्ञापनपत्र बुझाउँदै राप्रपा गोरखाले नाम परिवर्तन गर्न माग गरेको हो। राप्रपाका जिल्ला उपाध्यक्ष सुदीप ढकाल नेतृत्वको टोलीले नगरप्रमुख रानामगरलाई ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्रमा गोरखा नगरपालिकाको अगुवाइमा सदरमुकामको ठूलो आँगनमा पृथ्वीनारायण शाहको  शालिक राखिएकामा नगरपालिकालाई धन्यवाद राप्रपाले धन्यवाद दिएको छ।

मुलुक सङ्घीय संरचनामा जानुअघि गोरखा नगरपालिकाको नाम पृथ्वीनारायण नगरपालिका रहेको थियो। सङ्घीयता कार्यान्यनसँगै नगरपालिकाको नाम परिवर्तन गरी ‘गोरखा’ राखिएको हो।

यसैबिच नेपाल एकिकरणका अभियन्ता पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्ती मनाउन गोरखामा धुमधामका साथ तयारी थालिएको छ। पृथ्वीजयन्तीको पूर्वसन्ध्यामा आज गोरखा सदरमुकाम क्षेत्र राष्ट्रिय झण्डासहितको ध्वजापताकाले सजाइएको छ।

बुधबार  ठूलो आँगनमा नेपाली सेना र गोरखा नगरपालिकाले निर्माण गरेको पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गर्ने कार्यक्रम रहेको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.