जहाँ अवसर आउँछ त्यहीँ पैसा बग्छ, विदेशमा लगानी गर्न पाउनुपर्छ : अध्यक्ष गोल्छासँगको विकास वहस

  २०७९ पुष २१ गते १२:०२     विकासन्युज

नेपाली उद्योग व्यवसायमा फरक किसिमको छाप बसालेर अगाडि बढिरहेका व्यवसायी हुन् शेखर गोल्छा । नेपालमा पहिलो पटक उनले पशुपन्छीलाई लगाइने खोप उत्पादन थाले, जसले नेपालको मागपूर्ति मात्र गरेको छैन, अफ्रिका र मध्य एशियाका एक दर्जन देशमा निर्यात हुन्छ । गोल्छाले नै नेपालमा पहिलो पटक बजाज मोटरसाइकल एसेम्बल उद्योग लगाएर स्थापित गरे, जसलाई अरु धेरै ब्राण्डहरुले पछ्याइरहेको छ । बहुराष्ट्रिय कम्पनी सामसुङको रेफ्रिजेरेटर र वासिङ मेसिन नेपालमा नै उत्पादन थालेर उनले अर्को ठूलो व्यावसायिक पहलकदमी लिएका छन् । अटो फाइनान्समा गोल्छाले थालेको व्यवसायलाई अधिकांश ठूला अटो विक्रेताले पछ्याएका छन् । व्यावसायिक ब्राण्ड बिल्डिङ्मा शेखर धेरैले लिने नाम हो । उनै शेखर गोल्छाले नेपाल उद्योग वाणिज्य महासङ्घको समेत नेतृत्व गरिरहेका छन् । महासङ्घ सम्पूर्ण उद्योगी व्यवसायीहरुको छाता संस्था भएकोले पनि हामीले गोल्छाको व्यक्तिगत, पारिवारिक तथा व्यावसायिक पृष्ठभूमि र उद्योग व्यवसायमा हासिल गरेका उपलब्धीहरु समेटेनौं, गोल्छाको चाहना पनि त्यही रह्यो । वर्तमान आर्थिक सङ्कटको अन्त्य, व्यवसायीको सृर्जनशीलता, युवाहरुको लगाव र भविष्यको अवसरबारे विकासन्युजका लागि रामकृष्ण पौडेल र सन्तोष रोकायाले अध्यक्ष शेखर गोल्छासँग कुराकानी गरेका छन् ।

पछिल्लो समय अर्थतन्त्रमा देखिएको समस्याले उद्योगी व्यवसायीलाई पनि सकस परेको छ, महासङ्घको अध्यक्षको हैसियतमा तपाईंले उनीहरुलाई कसरी मोटिभेट गरिरहनु भएको छ ?

पक्कै पनि कठिन समय छ । तरलताको अभावले धेरै क्षेत्र सङ्कुचनमा छ । मलाई लाग्छ यो नेपाली उद्योगीले अहिलेसम्म नदेखेको अवस्था हो । मैले साथीहरुलाई यही भन्न चाहान्छु कि ६ देखि ८ महिनामा हामी एकदमै सहज स्थितिमा आउन सक्छौं ।

सहज हुन्छ भन्ने आधार के हुन् ?

यसका पाँचवटा आधार छन् । पहिलो, हाम्रो तरलता विप्रेषणसँग जोडिएको छ । जति जति हाम्रो विप्रेषण बढ्छ, त्यति नै तरलता सुध्रिन्छ । यस वर्ष रेमिट्यान्स २० प्रतिशतले बढेको छ । यसरी रेमिट्यान्स बढ्दा यो सीधै बैंकिङ्ग सिस्टममा जाने भएकोले यसले तरलता बढाउँछ । हाम्रो विदेशी मुद्राको आयको श्रोत पनि मुख्यतः रेमिट्यान्स नै हो । वल्र्ड बैङ्कले यस वर्ष १२ प्रतिशतभन्दा बढीले रेमिट्यान्स बढ्छ भनेको थियो, त्योभन्दा पनि बढेको देखिएको छ । जुन गतिमा हाम्रो भाइ बहिनीहरु बाहिर गइरहेका छन्, यसले पक्कै पनि भविष्यमा रेमिट्यान्स बढ्छ । जसले तरलतामा सहजता ल्याउँछ । दोस्रो, हाम्रो कमोडिटीको मूल्य रुस र युक्रेनको युद्धले निकै बढेको थियो । जसले पेट्रोलियम पर्दाथको मूल्य ७० प्रतिशतसम्म बढाएको थियो । त्यसका साथै तेल, कोइला, स्टीलको मूल्य अत्याधिक रुपमा बढेको थियो, जसले तरलतामा प्रभाव पारेको थियो र हाम्रो शोधानान्तर स्थिति कमजोर हँदै गएको थियो । तर, अहिले हेर्ने हो भने पेट्रोलियम, खाद्यान्य र स्टीलको मूल्य घट्दै गएको छ । त्यसैले अब आउने समयमा हाम्रो सेभिङ्ग बढ्दै जान्छ र तरलता पनि सुधार हुँदै जान्छ भन्ने विश्वास लिन सकिन्छ । तेस्रो, विगतमा बैङ्कमा लगानीयोग्य रकमको धेरै ठूलो अभाव हुँदा अर्थतन्त्र स्लोडाउन भइसकेको छ । जब अर्थतन्त्र स्लोडाउन हुन्छ तरलता स्वभाविक रुपमा बढ्छ । एउटा पोइन्टमा आइसकेपछि यो माथि जाने भन्ने अर्थतन्त्रको नियम नै हो ।

हामी पुस महिना बटम आउट गर्छौं होला । माघदेखि हाम्रो तरलता सुध्रिने देखिन्छ । चौथो, डिसेम्बर–जनवरीको होटल बुकिङ्गले अब आउने समय पर्यटनको लागि धेरै राम्रो रहने देखिएको छ । होटलको बुकिङ प्रि–कोभिड लेभलमा आइसकेको छ । एयरपोर्ट भरिभराउ भइरहेका छन्, ल्याण्डिङ्ग गर्ने स्पटहरु पाइरहेको छैन, भैरहवा एयरपोर्ट निश्चित रुपमा चल्छ किनभने काठमाडौंमा ल्याण्डिङ्ग स्पट नभएपछि त काँही न काँही त जान्छन् होला । यो आधारमा पर्यटकको आगमन हुने हो भने पर्यटनले झण्डै प्रत्यक्ष र अप्रत्यक्ष रुपमा अर्थतन्त्रमा ८ देखि १० प्रतिशत असर गर्न सक्छ । त्यसले ट्रेकिङ्ग व्यवसायदेखि रेष्टुरेन्ट व्यवसाय, ट्याक्सीदेखि लिएर माइक्रोबस बुकिङ्गसम्म पुरै इकोसिस्टम चल्नेछ । पाँचौ, नयाँ सरकार हो । नयाँ सरकार बनेपछि हाम्रा डेभलपमेन्ट ऐजेन्सीहरु जस्तै वल्र्ड बैङ्क, एडिबी र हाम्रा डोनर कन्ट्रीहरु नयाँ सरकारसँग सहकार्य गर्न चाहिरहेका छन् । मसँग भएको कुराकानीको आधारमा उनीहरु नयाँ सरकार बनेपछि नेपाललाई सहयोग गर्न तयार रहेको बुझिन्छ । नेपाललाई हामीले कसरी सहयोग गर्न सक्छौं त्यसको मोडल पनि तयार छ, नयाँ सरकार आउने बित्तिकै हामी सहयोग गर्छौं’ भन्ने जस्तो डाइरेक्सन उनीहरुले दिएका छन् । धेरै एफडीआई पनि यस्ता छन् जुन नयाँ सरकार आएपछि अवस्था हेरेर लगानी गर्छौं भनेर बसेका छन् । त्यसैले नयाँ सरकार आएपछि केही समय राम्रो जोश देखिन्छ होला ।

नयाँ सरकार बनेको छ । अब सरकारले कुन विषयलाई प्राथमिकता दिनुपर्छ ?

सबैभन्दा पहिला नयाँ सरकारले अहिले आएको आर्थिक शिथिलतालाई पुनः कसरी गतिशील बनाउन सकिन्छ र निजी क्षेत्रको मनोबल कसरी बढाउने भन्नेमा ध्यान दिनुपर्छ । जबसम्म निजी क्षेत्रको मनोबल उठ्दैन तबसम्म लगानी हुँदैन र जबसम्म देशमा दीर्घकालिन लगानी हुँदैन तबसम्म रोजगारी सृजना हुँदैन । अहिले निजी क्षेत्रको मनोबल एकदमै कमजोर भएको छ । आर्थिक क्षेत्रमा रहेको समस्या समाधान गर्ने, तरलतालाई द्रुत गतिमा ठिक गर्ने र नेपालमा निजी क्षेत्रको मनोबल बढाउने कामहरु नयाँ सरकारबाट अपेक्षित छ । अहिले आएको समस्या निजी क्षेत्रको मात्र होइन । राजस्व २० देखि ३० प्रतिशतले घटेको छ । साधारण खर्च धान्न सकिएको छैन । नयाँ रोजगारी सृजना हुन सकेको छैन । देशबाट जुन गतिमा मान्छे पलायन भइरहेको छ त्यो गति कहिले पनि थिएन । अर्को, मुद्रास्फिती राष्ट्र बैङ्कले १२ प्रतिशतसम्म पुग्न सक्छ भनेको छ, जसको अर्थ सर्वसाधारणको क्रयशक्ति त कम हुनु हो । सेयर बजारका ४० लाख सेयर होल्डर टाउकोमा हात राखेर बसिरहेका छन् । जग्गा व्यापार गर्नेहरु ब्रिकी नभएर ठूलो समस्यामा परेका छन् । हेर्नुहोला, बैङ्कहरुमा पनि अब पुस महिनामा नेपालले कहिले नदेखेको खराब कर्जा बढ्न सक्छ, त्यसले गर्दा बैंकिङ्ग क्षेत्रपनि ठूलो सङ्कटमा पर्छ । इन्स्योरेन्सको पनि कुरा गर्ने हो भने यसमा पनि पहिलोपटक ठूलो सङ्कुचन आएको छ । लाइफ इन्स्योरेन्समा पोलिसी सरेन्डर गर्नेहरु एकदमै बढिरहेको छ । सबैतिर निराशा छाएको छ । यो निराशालाई सम्बोधन गर्ने कि नगर्ने ? योभन्दा ठूलो एजेन्डा के हुन सक्छ ? नयाँ सरकारले देशको अर्थतन्त्रलाई कसरी चलायमान बनाउन सकिन्छ भन्ने ध्यान केन्द्रीत गर्नुपर्छ ।

यस्तो अवस्थामा निजी क्षेत्रको फोकस केमा हुनुपर्छ ?

निजी क्षेत्रसँग मेरो अपेक्षा के छ भन्दा अलिक सृजनशील भइदिनुहोस् । लहैलहैमा नलाग्नुस् । एउटा ठाउँमा राम्रो देख्ने बित्तिक्कै सबै त्यहीँ लगानी गर्छौं । हाम्रो श्रोतहरु सीमित छन् । हामीले नयाँ क्षेत्र खोज्न जरुरी छ । सृजनशील हुन जरुरी छ । हाम्रो प्रतिव्यक्ति आय १३ सय डलर रहेको छ । हाम्रो रेमिट्यान्सदेखि सेभिङ्गमा रहेको रकम धेरै खपतमा खर्च हुन्छ । सम्भावना धेरै छ तर सृजनशील हुनुपर्यो । हामीले सृजनशीलतालाई छोडेर जसको एउटा राम्रो व्यालेन्ससिट छ । त्यसको पछि लाग्यौं भने यसले आफूलाई पनि डुबाउँछ देश पनि डुबाउँछ र अन्य व्यवसायलाई पनि स्लोडाउन गर्छ किनभने हामीसँग सीमित श्रोतहरु छन् । मैले निजी क्षेत्रसँग यसपालि हाम्रो पुरानो गल्तीलाई आत्मासमीक्षा पनि गरौं भनेको छु । आउने समयमा सो विचार गरेर लगानी गर्न जरुरी छ । बैङ्कहरुलाई पनि मेरो आग्रह छ, अलिकति धितो हेरेर मात्र कर्जा नदिनुहोस्, बिजनेशलाई विश्लेषण गरेर सृजनशीलतामा लगानी गरिदिनुहोस् । ब्राण्डको नाम र धितोमा मात्र लगानी गरेर
देश बन्ने वाला छैन ।

पछिल्लो समय व्यवसायीहरु कालो ब्यानर लिएर सडकमा उत्रिएका ेहामीले देख्यौं । बैङ्कर र व्यवसायीबीच यस्तो किसिमको दरार किन आइरहको छ ? समाधानका उपाय के हुन सक्छन् ?

बैङ्कहरु पनि अर्थतन्त्रको मेरुदण्ड हुन् । सबल बैंकिङ्ग क्षेत्रले गर्दा अर्थतन्त्र चलायमान भएको हो । बैङ्क बलियो हुन अर्थतन्त्रलाई एकदमै जरुरी छ । तर, बैङ्कहरुले यो कठिन समयलाई मध्यनजर गरेर यसलाई अवसरको रुपमा हेरेर अनावश्यक रुपमा प्रिमियम बढाउने, अन्य शुल्कहरु लिने र अनावश्यक दवाव सृजना गरेको हुँदा निजी क्षेत्र आक्रान्त भएको हो । अहिले हाम्रो अपेक्षा भनेको बैङ्कहरुले यो समयमा हातेमालो गरेर अगाडि बढ्नुपर्छ । बैङ्कहरु बलियो नभए निजी क्षेत्र भोलीको दिनमा व्यवसाय गर्न असक्षम रहन्छ । तर, बैङ्कहरुले अहिलेको कठिन स्थितिलाई अवसरको रुपमा हेर्नु हुँदैन । यो सहकार्य गर्ने समय हो । व्यवसाय बाँचेन भने बैङ्क पनि बाँच्न सक्दैन । र, यो सम्बन्ध अझ बढी गाढा हुनुपर्छ । कर्जा लिने र दिनेले अर्थतन्त्र चल्ने हो र यसलाई निरन्तरता दिन र सम्बन्ध सुमधुर राख्नको लागि एकअर्कालाई बुझ्नु पर्दछ ।

बैङ्कहरुको उद्योगलाई जाने कर्जादर र व्यापारलाई जाने कर्जादर फरक हुनुपर्छ भनेर उत्पादनमूलक क्षेत्रमा लागेका उद्यमीहरु आवाज उठाइरहन्छन्, यस विषयमा तपाईंको धारणा के हो ?

पक्कै पनि हुनुपर्छ । राष्ट्र बैङ्कले कुन क्षेत्रमा कति लगानी गर्ने भनेर गाइडलाइन पनि बनाएको छ । जसमा उद्योगमा पनि कति लगानी गर्ने, साना मझौलामा कति गर्ने भन्ने खुलाइएको छ । उद्योगमा कम व्याजदरमा जानुपर्छ भन्ने स्वभाविक हो तर हाम्रो यसमा व्यवहारिक समस्या के छ भन्ने हेर्न जरुरी छ किनभने अन्तिममा बैङ्कहरु पनि आफ्नो लगानीकर्ताहरु प्रति उत्तरदायी हुन्छन् । उनीहरुलाई प्रतिफल दिने बैङ्कको जिम्मेवारी हो । त्यो आधारमा ट्रेडिङलाई तरलता बढेको बेला वेवास्ता गर्ने हो भने बैङ्कको नाफामा पनि धेरै फरक पर्न सक्छ । त्यो आधारमा एउटा व्यालेन्सड रुपमा जाँदा ठिक होला ।

पछिल्लो समय बैङ्कर्सको विरोधमा देखिएका केही पात्रहरु हेरेर को उद्यमी र को बैङ्कर भनेर बहस पनि चलेको छ । के उद्योगी र बैङ्कर छुट्याउनु पर्ने अवस्था आएको हो ?

धेरै देशहरुमा यो छुट्याउने प्रयास गरिएको छ । बाग्मतीमा धेरै पानी बगिसकेको छ । अब त्यसलाई फर्काउ भन्न मिल्दैन । त्यस्तै सबै बेथितिलाई एकैदिनमा हटाउ भन्न गाह्रो छ र त्यो अहिले सम्भव पनि छैन । किनभने धेरैजसो बैङ्कका प्रमोटरहरु उद्योगी व्यवसायीहरु नै छन् र त्यसको आधारमा त्यसलाई फर्काउन सकिन्छ जस्तो मलाई लाग्दैन ।

व्यवसायीहरुमा कुन लेभलको सृजनशीलता छ, त्यसलाई तपाईंले कसरी मार्किङ गरिरहनुभएको छ ?

हामीले धेरै यस्ता लगानीहरु देखेका छौं, जुन लहैलहैमा लागेर कुनै बजारको समीक्षा बिना भएका छन् । जसले गर्दा क्षमताभन्दा बढी भएर सबै समस्यामा परेका छन् । देशको अर्थतन्त्रमा तरलताको समस्या पनि देखिएको छ । र त्यो आधारमा मैले पक्कै पनि सृजनशीलताको कमी देखेको छु । यसको एउटा मुख्य कारण बैङ्कले सृजनशीलतामा लगानी नगर्नु । बैङ्कले मात्र कोल्याट्रल र कसलाई लोन दिइरहेको छु भन्ने हेरेको छ । कसैले नयाँ क्षेत्रमा केही गर्छु भन्दा बैङ्कहरुले त्यसमा लगानी गर्दैनन् । सृजनशीलतामा नेपालमा लगानी अलिकति पनि छैन । यो सबै समस्याको जरो पनि निजी क्षेत्र, बैङ्क र सरकारले सृजनशीलतालाई हेर्ने नजर हो । यसलाई प्रोत्साहन गर्न सबै लागे पक्कै पनि सृजनशीलताले बढी महत्व पाउने छ । सृजनशीलता प्रोत्साहित हुनेछ ।

तपाईंको नजरमा निजी क्षेत्रबाट बनेको सृजनशील उद्यम कत्तिका छन् ?

पक्कै पनि छन् । मैले केही सृजनशील व्यवसायको उदाहरण दिन्छु । जस्तै चन्द्रागिरी प्रोजेक्ट एउटा सृजनशील प्रोजेक्ट हो । नेपालमा पहिलोपटक यस्तो किसिमको सेटअपमा उक्त प्रोजेक्ट बनेको हो । यसले अरु पनि त्यस्ता धेरै प्रोजेक्टलाई निम्त्याएको हामीले देखिरहेका छौं । त्यस्तै, निजी एयरलाइन्स बिजनेश पनि प्राइभेट सेक्टरको सृजनशीलता हो । यो बिजनेश रचनात्मक रुपमा विकशित भएको छ । पहिला आएका सिमेन्ट उद्योगहरु र अहिले बनेका जुन स्टील स्ट्रक्चर फ्याक्ट्रीहरु, केही औषधिको फ्याक्ट्रीहरु छन्, त्यसमा पनि सृजनशीलता देखिन्छ । यस्तै, पर्यटनमा द्धारिका होटल सृजनशीलताको एउटा नमूना हो । त्यस्तै, तराईमा भएको फाइभ स्टार होटलहरु जसले भारतीय पर्यटकलाई टार्गेट गरेर लगानी गरेका छन्, त्यसमा सृजनशीलता देखिन्छ । यस्तै कफी व्यवसाय नेपालमा सृजनशीलताको ठूलो उदाहरण हो । सडकभरी देखिने बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनमा शुद्ध नेपाली उद्यमशीलता र सृजनशीलताको उदाहरण देख्छु म । हरेक क्षेत्रमा सृजनशील बिजनेशलाई देखेको छु तर यतिले पुगेन । यसमा अझ अगाडि बढ्नुपर्छ । थप लगानी बढाउनु पर्छ ।

महासङ्घको अध्यक्षको रुपमा सल्लाह दिँदा तपाईं अबको युवाहरुलाई कुन क्षेत्रमा फोकस हुन भन्नुहुन्छ ?

हाम्रो देश अत्यन्तै सम्भावना बोकेको देश हो । म हरेक क्षेत्रमा सम्भावना के हुन सक्छ ? भनेर उदाहरण दिन चाहान्छु । जस्तै पर्यटनमा हामी १० लाख पर्यटक भित्र्याउन सक्छौं । कृषिमा सृजनशीलता ल्याउने हो भने कति उन्नति गर्न सकिन्छ होला किनभने जुन नेपालको जैविक विविधता छ त्यो विश्वमा अरु कतै छैन । तर हामीले त्यसको कुनै अन्वेषण गर्न सकेका छैनौं । हामीले त्यसमा केही गर्न सकेकै छैन । विश्वको कान्छो देशमध्ये एक हौं हामी । २३ वर्ष । हाम्रो प्रतिव्यक्ति आय यस्तो पोइन्टमा पुग्दैछ जब मान्छेहरुको डिस्पोजेबल इन्कम बढेर जान्छ । यसमा खोजौं न सृजनशीलता । यसमा सर्भिसेसहरु खोजौं न । त्यसपछि यातयातदेखि लिएर अन्य धेरै ठाउँमा सृजनशीलता भयो भने धेरै विकास गर्न सकिन्छ ।

मैले सम्भावनानै सम्भावनाको देशको रुपमा नेपाललाई देखेको छु । पहिला पहिला हामी भन्थ्यौं हामी भारत र चीनको बीचमा छौं एउटा हाइवे बनाइदिए हामीलाई पुग्छ । तर म यो कुरालाई मान्दिन । तर तपाईंको छिमेकीहरु अति धनी हुन्छन् भनेपछि तपाईंको पनि स्ट्याटस् अफ इकोनोमी त केही न केही बढ्छ । जब हामी विश्वकै भाइब्रेन्ट इकोनोमिक डेभलपमेन्ट एरिया भएको बीचमा हुन्छौं भने त्यसबाट हामीले पनि पक्कै केही पाउँछौं । त्यसैले मैले सम्भावनाहरु असीमित देखेको छु ।

तपाईंले आशावादीता जनाउने कुरा गर्नुभयो तर निराशा भएर युवाहरु देश छोडिरहेका छन् । यो ट्रेण्डलाई युटर्न कसरी गर्न सकिन्छ ?

कुनै पनि देशको लागि आफ्ना देशको युवाहरु विमुख भएर विदेशिन खोज्छन् भने त्यो देशको लागि त्योभन्दा दुर्भाग्य अरु केही हुन सक्दैन । देशमा जिम्मेवारी देखाउने काम सरकार, निजी क्षेत्रदेखि लिएर हामी सबैको हो । तर त्यो सम्भावनाहरु यस्ता छन् भनेर देखाउन नसक्नु हाम्रो असफलता हो । यसको भार हामी सबैले बोक्नुपर्छ । यसलाई युटर्न गर्ने आधार सक्सेस् स्टोरिज हो । हामीले सक्सेस् स्टोरी देखाउन सक्नुपर्यो । आज कसैले कुखरा पालन गरेर वर्षको ५० लाख कमाइरहेको होला । कसैले ट्राउट फार्मिङ्ग गरेर वर्षको एक करोड कमाइरहको छ ।

कसैले होमस्टे सञ्चालन गरेर मनग्य फाइदा गरिरहेको कथाहरुलाई मार्केटिङ गर्नुपर्यो । युवाहरुलाई देशमा सम्भावना छ है, यहाँ गरेर खान सकिन्छ भनेर भन्न सक्नुपर्यो । यसो गर्दा युवाहरु विस्तारै यसमा आकर्षित हुन्छन् । ३ करोड जनता भएको देश, प्रतिव्यक्ति आय १३–१४ सय भएको देश, अपार सम्भावना भएको देश, विश्वले माया गर्ने देशमा हामीले केही न केही त पक्कै पनि गर्न सक्छौं ।

नेपालको कानुनले विदेशमा लगानी गर्न रोकेको छ । यो बन्देज खुल्ला गर्न महासङ्घले ध्यान दिएको छैन वा महासङ्घको प्रयासले सम्भव भएन ? कि नेपालीहरुको विदेशमा गएर लगानी गर्नसक्ने क्षमता विकास भएको छैन ?

पुँजी रोकेर रोाकिँदैन । कानुन बनाउँदा सबै कानुनको दायरमा आउँछन् । करको दायरामा आउँछन् । जहाँ अवसर देखिन्छ पैसा त्यही बग्छ र नेपालीहरुले बाहिर लगानी गरेका छैनन् भनेर भन्न सकिँदैन । बाहिर लगानी गर्ने कुरालाई लिगलाइज गर्नुपर्छ किनभने हामीले जति रोकेर मानिसहरुलाई करको बाहिर राख्छौं त्यसले त्यति नै बढी विकृति ल्याउँछ । कन्ट्रोल तरिकाले हामीले यसलाई खोल्दै लैजानुपर्छ ।

(देशविकास पत्रिकाको  वर्षअङ्क बाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.