‘कृत्रिम गर्भ’ वर्षमा ३० हजार बच्चा जन्माउन सक्छ, प्रसव पिडाको अन्त्य हुने सम्भावना

  २०७९ पुष २१ गते १५:११     विकासन्युज

एजेन्सी । बर्लिनमा रहेका फिल्म निर्माता तथा बायोटेक्नोलोजिस्ट हसम अल–घलीले निर्माण गरेको एउटा छोटो भिडियो सामाजिक सञ्जालमा निकै चर्चित भएको छ । अल–घलीले आफ्नो भिडियोमार्फत भविष्यमा पिडा रहित ढंगले सुरक्षित बच्चा पैदा गर्नसक्ने वैकल्पिक कृत्रिम गर्भासय(पाठेघर)को विषयमा बताएका छन् । उनले भिडियोमार्फत ‘इक्टोलाइफ’ कृत्रिम गर्भासय सुविधाको विषयमा आइडिया प्रस्तुत गरेका छन् ।

सन्तान पैदा गर्न नसक्ने बाँझोपनको समस्या भएका बाबुआमाको लागि उक्त प्रविधिले सुविधा प्रदान गर्ने जनाइएको छ । भिडियोमा प्रस्तुत गरिएको असम अल घलीको ‘इक्टो लाइफ’ ले वार्षिक रुपमा ३० हजार बच्चाहरु पैदा गर्न सक्छ । सो क्षेत्रमा ५० वर्षदेखि वैज्ञानिक अनुसन्धान हुँदै आएको थियो ।

भिडियोअनुसार सो प्रविधिमार्फत तपाईंले भ्रुणलाई कृत्रिम गर्भमा प्रत्यारोपण गर्नुअघि आनुवंशिक इन्जिनियरिङ गर्ने सुविधा पाउनुहुन्छ । तपाईंले आफूले कृत्रिम रुपमा पैदा गर्न चाहेको बच्चाको उचाई, क्षमता, कपाल वा आंखाको रंग, छालाको रंग आदि छनोट गर्न सक्नुहुन्छ । साथै आनुवंशिक रोगहरुबाट समेत बच्नेगरी बच्चा पैदा गर्न सकिन्छ । हसमका अनुसार इक्टोलाइफ पूर्णतया नवीकरणीय उर्जाबाट सञ्चालित हुनेछ र यो विश्वकै पहिलो कृत्रिम गर्भ सुविधा सम्बन्धी अवधारणा हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१९ मा विश्वभरी बच्चा जन्माउने प्रकृयामा २ लाख ९५ हजार महिलाहरुको मृत्यु भएको थियो । ‘इक्टो लाइफ’ ले बच्चा पैदा गर्ने क्रममा भोग्नुपरेको मानव पिडालाई कम गर्न मद्दत प्रदान गर्नेछ । साथै यसले मानिसको जन्मको इतिहासलाई नै बदल्ने अपेक्षा गरिएको छ ।

हसनका अनुसार ‘इक्टो लाइफ’ ले स्वास्थ्यमा देखिने समस्याका कारण महिलाहरुले पाठेघर हटाउनुपर्ने समस्यालाई न्यूनिकरण गर्न मद्दत गर्नेछ । यसले जनसंख्याको घट्दो अनुपात देखिएका दक्षिण कोरीया, बुल्गेरिया, जापान, आदि जस्ता मुलुकहरुलाई मद्दत गर्छ । हसन भन्छन की यो प्रविधि निर्माण भइसकेको छ, तर कानूनी जटिलताको कारणले मात्रै व्यवहारिक रुपमा उतार्न नसकिएको हो ।

साथै कृत्रिम ढंगले बच्चा पैदा गरिने प्रविधि पूर्णतया विज्ञानमा आधारित हुने वैज्ञानिक तथा इन्जिनियरहरुले यसको सफलता हासिल गरिसकेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.