सुदूरपश्चिममा आज ‘पुसे पन्ध्र’ मनाइँदै, यस्तो छ ठूलीरातको महत्व

  २०७९ पुष १५ गते ९:००     विकासन्युज

काठमाडौं । सुदूरपश्चिममा आज ‘ठूलीरात’ अथवा ‘पुसे प्रन्ध’ हर्षोल्लासका साथ मनाइँदै छ । हरेक वर्ष पुस महिनाको १५ गतेलाई सुदूरपश्चिममा विषेश महत्वका साथ हेरिन्छ । यो पर्वमा गाउँका सबै एक ठाउँमा भेला भएर रातभर आगो तापेर जाग्राम बस्ने तरुल, पिँडालु, सखरखण्डलगायतका कन्दमुल र डोटेली खानाका मीठा परिकार पकाएर खाने प्रचलन रहिआएको छ ।

साहित्यकार जगदीश ओझाका अनुसार यस दिनमा गाउँका सबै एकआपसमा भेटघाट गर्ने र कहानी स्थानीय भाषामा (आइना, बातै) सुन्ने र सुनाउने गरिन्छ । कन्दमुलजस्ता खानेकुरा खाँदा चिसो समयमा शरीर फूर्तिलो हुने र तागत बढ्ने किंवदन्ती छ ।

अन्य पात्रोअनुसार भिन्न भए पनि सुदूरपश्चिममा पुस पन्ध्रको रातलाई सबैभन्दा ठूलो रात हुने लोक मान्यता रहेको उनले बताए । ‘यो रात सबैभन्दा ठूलो हुने भएकाले गाउँका एक ठाउँमा भेला भएर कथा, कहानी, बातैजस्ता लोकसाहित्यका गाथा सुनाउने र सुन्ने गरिन्छ,’ उनले भने, ‘यो पर्वमा आफन्तसँग विशेष घेटघाट हुने कन्दमुल खाने र लोकगाथा सुनेर रात बिताउने प्रचलन छ ।’ सुदूरपश्चिमका अछाम, बझाङ र बाजुरामा यस पर्वलाई भुवापर्वका रूपमा समेत मनाउने गरेको उनले बताए ।

डोटी राज्य भएका बेला सुदूरपश्चिममा कृषि र पशुपालनमा आधारित अर्थतन्त्र रहेका थियो । गरिबीका कारण खान लगाउन समस्या हुने भएकाले कठ्याङग्रिदो चिसो छल्न रातभरि आगो बालेर पौष्टिक आहार खाने प्रचलन रहेको साहित्यकार रमेश पन्त मीतबन्धु बताउँछन् । ‘तत्कालीन सभ्यताअनुसार लुगा, कपडा नभएको हुँदा आगो तापेरसमेत चिसो छल्न सक्छौँ भन्नेसमेत सन्देश यो पर्वले दिएको छ, विशेषगरी यो रात लोकसाहित्य प्रस्तुत गर्ने गरिन्छ,’ उनले भने ।

सुदूरपश्चिमको लोक मान्यताअनुसार पुस १५ सबैभन्दा ठूलो रात हुने भएकाले पनि यसलाई ठूलीरात भनेर मनाइने उनले बताए । सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्डमा पुस १५ देखि उत्तरायण सुरु हुने तथा दिन बढ्ने र रात घट्दै जाने लोक मान्यता रहेको छ । साहित्यकार डम्बर शर्मा बडूले पुस पन्ध्रको सांस्कृतिक एवं सामाजिक महत्व रहेको बताए । ‘यो रात बूढापाकाबाट अर्ती उपदेश सुन्ने, मनोरञ्जन गर्ने र कन्दमुल खाने गरिन्छ, एकापसमा भेटघाट हुने र सामाजिक सद्भाव र एकतासमेत कायम राख्छ,’ उनले भने ।

यो पर्वले नैतिकताको पाठसमेत सिकाउने उनले बताए । सुदूरपश्चिममा रातभर विभिन्न पौराणिक र लोककथा, गाउँखाने कथा सुन्ने–सुनाउने साथै गीत सङ्गीतको समेत भरपुर आनन्द लिने पर्वका रूपमा लिइन्छ । पछिल्लो सयम आइना, बातै भन्ने चलन हराउँदै जान थालेको छ भने आइना, बातै जान्ने व्यक्तिको अभाव र युवापुस्तामा लोक–संस्कृति पुस्तान्तरण हुन नसक्दा यसको मौलिकता हराउन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.