अंग्रेजी नयाँ वर्षका लागि पर्यटकीय गन्तव्यका शतप्रतिशत होटल बुकिङ

  २०७९ पुष १४ गते १५:१९     विकासन्युज

काठमाडौं । अंग्रेजी नयाँ वर्ष लक्षित पर्यटकीय गन्तव्यहरुका लागि होटल शतप्रतिशतसम्म बुकिङ भएको व्यवसायीहरुले बताएका छन् ।

अंग्रेजी नयाँ वर्ष मनाउनका लागि पर्यटकीय गन्तव्यहरूमा आन्तरिकसँगै विदेशी पर्यटकको चहलपहल शुरू भएसँगै होटल बुकिङ शतप्रतिशतसम्म पुगेको होटल व्यवसायीहरुले बताएका हुन् । अंग्रेजी नयाँ वर्षमा विशेषगरी पोखरा, चितवन, भैरहवा, धुलिखेल, नगरकोट लगायत पर्यटकीय गन्तव्यहरूका होटल तथा रिसोर्टहरु भरिभराउ भएर बुकिङ फुल भएको व्यवसायीहरुले बताएका छन् ।

होटल संघ नेपाल (हान) का उपाध्यक्ष विनायक साहले अंग्रेजी नयाँ वर्षमा पर्यटकीय गन्तव्यहरुका होटलहरुको बुकिङ शतप्रतिशत रहेको बताए । उनले बिहीवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै पर्यटकीय गन्तव्यहरुका होटलहरुको बुकिङ शतप्रतिशतसम्म रहेको बताएका हुन् । विशेषगरी पोखरा, चितवन, भैरहवा, धुलिखेल, नगरकोट लगायत पर्यटकीय गन्तव्यहरूका होटल तथा रिसोर्टहरु नयाँ वर्ष लक्षित दुई दिनको लागि फुल अकुपेन्सी हुने उनले बताए ।

उपाध्यक्ष साहले विशेष गरी युवा वर्गमा नयाँ वर्ष पर्यटकीय गन्तव्यहरुमा गएर मनाउने भएकाले होटलहरुको बुकिङ राम्रो हुने बताए । उनले अंग्रेजी नयाँ वर्षमा आन्तरिक मात्रै नभएर विदेशी पर्यटकको संख्या बढाएकाले होटलहरुको अकुपेन्सी राम्रो रहेको बताए ।

नयाँ वर्षको अवसरमा शतप्रतिशत अकुपेन्सी पुगेपनि समग्र नेपालका होटलहरुको अकुपेन्सी ३० प्रतिशत मात्रै रहेको उपाध्यक्ष साहले ए । उनले विभिन्न चार्डपर्वमा हुने अकुपेन्सी दुई, तीन दिनको लागि मात्रै हुने बताए । उनले समग्र रुपमा हेर्दा ७० प्रतिशत होटलहरुमा अकुपेन्सी हुन नसकेको बताए । अब पर्यटक पूर्वधारहरु बिस्तार गरी १२ महिना नै ८० प्रतिशत होटलहरुको अकुपेन्सी पुर्याउन आवश्यक रहेको बताए । २०२२ को तुलनामा सन् २०२३ मा पर्यटन क्षेत्र राम्रो हुने आशा रहेको उपाध्यक्ष साहको भनाई छ ।

उपाध्यक्ष साहले आन्तरिक पर्यटकको रोजाइमा पर्ने पोखरामा आन्तरिक पर्यटक र भारतीय पर्यटकहरुले गर्दा होटल भरिभराउ भएको बताए । उनले पोखरामा अंग्रेजी नयाँ वर्षका अवसरमा सडक महोत्सव लगायत अन्य विभिन्न कार्यक्रम आयोजना हुने हुँदा होटल बुकिङमा उत्साह देखिएको बताए । उनले कोरोना महामारीपछि विगतको तुलनामा होटल बुकिङको ‘फ्लो’ ह्वात्तै बढेको बताए ।

उपाध्यक्ष साहले बुधवार अर्थमन्त्री पौडेललाई भेटेर होटल व्यवसायीहरुको समस्याका विषयमा ध्यानाकर्षण गराएको बताए । उनले अर्थमन्त्रीलाई बैंक र होटल व्यवसायीहरुको सम्बन्ध सुधारको लागि बैंक कर्जा तिर्ने समय दुई वर्ष थप गर्न माग गरिएको बताए । पूर्वका व्यवसायीहरु बैंकहरुको व्यवहार देखेर सडक आन्दोलनमा रहेको उनले बताए । सरकारले पर्यटक उद्योगलाई सेवा उद्योग नभएर उद्योगको रुपमा मान्यता दिन माग राखेकाले उद्योगको मान्यताको माग पूरा हुने आशा रहेको उनको भनाई छ ।

नयाँ सरकारले पर्यटन क्षेत्रका समस्या समाधान गरी पर्यटक पूर्वाधारमा विशेष ध्यान दिए पर्यटन क्षेत्र लयमा आउनसक्ने उपाध्यक्ष साहले बताए । उनले वर्तमान सरकारले पर्यटन व्यवसायीहरुमा समस्या समाधान गर्नेमा व्यवसायीहरु आशावादी रहेको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.