२ वटा माउ बाख्राबाट सुरु भएको व्यवसाय, नाफा मात्रै ५ लाख

  २०७९ पुष १३ गते ८:३२     विकासन्युज

रामपुर । ‘बाख्रा पाल्छु राम्रै छ बजार, दुईवटा बोका बेच्यो कि ३० हजार चिन्ता छैन केही !!!’  गायक पशुपति शर्माको यो गीत नारायण भण्डारीको जीवनमा पनि मेल खान पुगेको छ । एउटै खसी ३२ किलोसम्म उत्पादन गरी बजारमा बिक्री गरेपछि उनको खुसीको सीमा छैन ।

छोटो समयमै बाख्रापालन व्यावसायबाट अहिले मनग्य कमाई हुन थालेपछि भण्डारी यस व्यवसायमा उत्साहित हुँदै लागेका छन् । निर्मल पशुपक्षी कृषि फार्म दर्ता गरी रामपुर नगरपालिका–५ स्थित राङभाङमा १ वर्षअघिदेखि व्यावसायिक तवरबाट उनले बाख्रापालन गरिरहेका छन् ।

विभिन्न क्षेत्रको अनुभव बटुलेका भण्डारीले परिवारको आयआर्जनको दरिलो स्रोतका रूपमा बाख्रापालन व्यवसायलाई अँगालेका छन् । उनको फार्ममा हाल ५९ बाख्रामध्ये २७ माउ र अन्य साना पाठापाठी छन् । १ वर्ष पूरा नहुँदै बाख्रापालनबाट मनग्य कमाइ हुन थालेपछि व्यवसायलाई बर्सेनि विस्तार गर्दै लैजाने भण्डारी बताउँछन् ।

‘बाख्रापालनबाट राम्रै कमाइ गर्न सकिने रहेछ, ९ महिनामै ९ वटा पाठा बिक्री गरी २ लाख ५० हजार रुपैयाँ कमाउन सफल भएको छु, परिवारसँग बसेर स्वतन्त्ररूपमा व्यवसाय गर्न पाइएको छ, बाहिरको तनाव छैन, यसमै खुसी छु,’ उनले भने ।

भण्डारीको २ वटा माउ बाख्राबाट सुरु भएको व्यवसाय अहिले यस क्षेत्रकै नमूना बाख्रापालन व्यवसायका रूपमा चिनिन पुगेको छ । स्थानीय वयर क्रस, जनुनापारी, खरी जातका बाख्रा फार्ममा छन् । बीउ उत्पादनका लागि बोयर जातका २ वटा बोका पालेका छन् । ४ किलो २ सय ग्रामसम्मको पाठापाठी जन्मिने गरेको भण्डारीले बताए ।

आफ्नै एक रोपनी जग्गामा पक्की खोर र घाँसपात खाने संरचना तयार पारिएको छ । करिब १२० बाख्रा अट्ने क्षमताको खोर तयार पारिएको छ । माउ, पाठापाठी र भर्खरै ब्याएका बाख्रालाई फरक–फरक खोरमा राख्ने गरिन्छ । राम्रो स्याहारसुसार घाँसपास खुवाएमा १ वर्षमा ४५ किलोसम्मको खसीबाख्रा उत्पादन हुने उनको अनुभव छ । खोर निर्माणमा २५ लाख रुपैयाँ र बाख्रा खरिदमा १० लाखरुपैयाँ गरी करिब ३५ लाख रुपैयाँको लगानीमा भण्डारीले व्यावसाय सञ्चालन गरेका हुन् ।

घाँसपातको आपूर्ति व्यवस्थापन गर्न १३ रोपनी जग्गा भाडामा लिएर सुपरनेपिएर, वर्षिमलगायत जातका उनले उन्नत घाँस लगाएका छन् । अहिले फार्ममा ७ पाठा बिक्रीका लागि तयार भएका छन् । बाख्राको स्याहारसुसार र रेखदेखमै दिन बित्ने गरेको भण्डारीले बताए ।

‘अहिले बजारमा मागअनुसार खसी पुर्याउन सकिएको छैन, बजार मूल्य राम्रो भएपछि व्यवसायीलाई बाख्रापालनमा भ्याइनभ्याइ छ, दिनमा २÷४ घण्टा खटेर वर्षमा लाखौँ कमाउन सकिन्छ,’ उनले भने ।

अहिले यहाँको बजारमा खसीको मासु प्रतिकिलो ५५० रुपैयाँमा बिक्री भइरहेको छ । लामो समयसम्म टिकाउ रहने खालको बलियो संरचना तयार पारेर व्यवसायमा लागेका उनले १ सय माउ बाख्रा पाल्ने लक्ष्य राखेका छन् । यस व्यवसायबाट वार्षिक रूपमा खर्च कटाएर ५ लाख रुपैयाँ बराबरको कमाइ गर्ने भण्डारीको लक्ष्य छ । अहिलेसम्म अनुदान कार्यक्रम कहीँकतैबाट प्राप्त गरेका छैनन् । अनुदानका लागि भने लुम्बिनी प्रदेश सरकारसँग कुरा भइरहेको भण्डारीको भनाइ छ ।

रोजगारका लागि विभिन्न क्षेत्रमा पुगेका भण्डारीले जीवनमा धेरै दुःख भोगाइपश्चात अन्ततः गाउँमै बसेर अहिले बाख्रापालनमा जोड दिएका छन् । साउदी अरबमा २ वर्ष र भारतमा १३ वर्ष काम गरेर फर्केका भण्डारीले स्वदेशमै केही गरे हुन्छ कि भन्ने मनसाय बोकेर ६ वर्षसम्म रामपुर तानसेन क्षेत्रमा सवारीचालक भएर पनि काम गरे । उनले धेरै क्षेत्रको अनुभवले दिगो र भरपर्दो आम्दानीका लागि बाख्रापालनको थालनी गरे ।

बाख्रा उत्पादन बढ्दै जाँदा उनलाई एकछिन पनि व्यवसाय छोड्न मन छैन । बाख्रापालन थालनी गरेपछि आनन्दसँग परिवारका साथ जीवन ब्यतित भइरहेको उनी बताउँछन् । भण्डारीलाई यस व्यवसायमा श्रीमती भगवतीको राम्रो साथ छ । हिजो कमाइ नहँुदा टाढिएका आफन्त, परिवार, छरछिमेक, साथीभाइ अहिले बाख्रापालनबाट राम्रो हुन थालेपछि नजिकिन थालेको भगवतीले अनुभव सुनाईन् ।

‘परिवारको आयस्रोत नहुँदा गाउँमा सबैबाट हेपिनु पर्याे, अहिले आफैँले कमाउन सक्ने भइयो, कमाउन सकियो भने सबै नजिकका हुने रहेछन् भन्ने अनुभूति भएको छ, ५÷७ महिना पालेपछि पाठा बिक्री गर्न लायकका हुन्छन्, बाख्रापालनमा दिन बितेको पत्तो हुनै छाड्यो,’ भगवतीले भनिन् ।

बाख्रापालनबाट भण्डारीको परिवारलाई खुसी दिलाएको छ । बाख्रापालन क्षेत्रमा भण्डारी दम्पती यतिबेला समाजमा उदाहरणीय पात्रका रूपमा कहलिएका छन् । बाख्राको आहार व्यवस्थापनलाई मध्यनजर गर्दै घरमै राइस मिलसमेत सञ्चालन गरिरहेका छन् ।

पाल्पामा पछिल्लो समय व्यावसायिक बाख्रापालनमा युवाको मोह बढ्दो छ । गाउँमा रहेका खाली जग्गा सदुपयोग गर्दै विदेशबाट गाउँ फर्केका युवा यस व्यवसायमा संलग्न हुँदै गएका छन् । दिगोरूपमा व्यवसाय गर्ने सोंचका साथका उन्नत जातका बाख्रापालनलाई युवाले जोड दिएका छन् । बजारमा खसीबोकाको माग र मूल्य अत्यधिक हुँदा व्यवसायीमा बाख्रापालनले उत्साह थपिदिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.