‘राष्ट्र बैंकको प्रभावकारी नियमनले बैंकिङ क्षेत्र पारदर्शी र स्थीर छ’

  २०७९ पुष १२ गते १८:५८     विकासन्युज

काठमाडौं । अर्थतन्त्रमा अहिले देखिएको जस्तो प्रतिकूल अवस्थामा उच्च अङ्कको आर्थिक वृद्धिदर हासिल गर्नका लागि संस्थागत सुशासन र सबल मानव पुँजी आवश्यक पर्ने बताइएको छ । मङ्गलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले अर्थतन्त्रलाई सही दिशा दिन संस्थागत सुशासनको सबैभन्दा ठूलो महत्व हुने बताए ।

विकासका लागि लगानीको आवश्यकता पर्ने र लगानीका लागि आन्तरिक वातावरण राम्रो हुनुपर्ने उनको भनाइ छ । ‘हामीले अपेक्षा गरेको आर्थिक वृद्धिदर हासिल गर्न पर्याप्त पुँजी, दक्ष श्रमशक्तिलगायत उत्पादनका तत्व आवश्यक पर्दछन्, त्यसका लागि संस्थागत सुशासन कायम गर्ने विषय सबैभन्दा महत्वपूर्ण हो,’ उनले भने ।

मानव पुँजी र संस्थागत क्षमता बलियो भएमा मात्र त्यसका सकारात्मक असर अर्थतन्त्रमा देखिने भट्टको भनाइ छ । खराब अवस्थामा पनि औसत आर्थिक वृद्धिदर हासिल भइरहेको दृष्टान्त दिँदै प्रवक्ता भट्टले उच्च वृद्धिदरका लागि यी क्षेत्रमा सुधार गरिनुपर्ने आवश्यकता औँल्याए । ‘सामान्य खालको वृद्धिदर स्वभाविकरुपमा देखिन्छ तर, उच्च आर्थिक वृद्धिदरका लागि हामीले के कति पहल गर्यौँ भन्ने कुरा महत्वपूर्ण हो,’ उनले भने ।

नेपालको बैंक तथा वित्तीय संस्थामा सुशासन कायम गर्न सकेकाले उनीहरूको प्रभावकारिता तुलनात्मक रुपमा बढी देखिएको पनि प्रवक्ता भट्टको भनाइ छ । ‘तुलनात्मक रुपमा बैंकिङ क्षेत्र पारदर्शी र स्थिर छ किनभने राष्ट्र बैंकको नियमन प्रभावकारी छ, बैंक तथा वित्तीय संस्थाले हरेक महिना तथ्याङ्क सार्वजनिक गर्छन् र ती तथ्याङ्क व्यवस्थापनका लागि विभिन्न मौद्रिक उपकरण पनि परिचालन गरिन्छन्,’ उनले भने ।

सरकारी संरचनाको आकार मात्रै ठूलो हुँदैमा नतिजा नदेखिने र त्यसका लागि संस्थागत सुशासन तथा जिम्मेवारीबोध आवश्यक पर्ने उनको भनाइ छ । पछिल्ला वर्षमा नेपालमा खाद्यान्न आयातको अवस्था अस्वभाविक देखिएको पनि भट्टको बुझाइ छ । कोभिड महामारीयताका वर्षहरुमा धान र चामलको अस्वभाविक आयात भएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.