अस्थायी काठेपुलको भरमा कालीकण्डकी वारपार गर्नुपर्ने बाध्यता

  २०७९ पुष ११ गते १५:४३     विकासन्युज

 

बेनी । अन्नपूर्ण गाउँपालिका २ भूरुङतातोपानीदेखि अन्नपूर्ण गाउँपालिका ६ पाउद्वारको तातोपानीकुण्ड जानका लागि कालीगण्डकी नदीमा स्थायी पुल नहुँदा अस्थायी काठेपुलको प्रयोग गर्नुपर्ने बाध्यता छ ।

बेनी-जोमसोम-कोरला सडकखण्ड अन्तर्गत पर्ने यो सडकखण्डमा हिँउदमा मात्रै प्रयोग गर्न मिल्ने काठेपुल पनि स्थानीय एक युवाले व्यक्तिगत लगानीमा निर्माण गरेका छन् ।

सङ्घ, प्रदेश र स्थानीय सरकारले पुल निर्माणमा चासो नदेखाएपछि स्थानीय युवाकुमार तिलिजाले व्यक्तिगत एक लाख लगानी गरी काठेपुल निर्माण गरेको बताए ।

स्थानीय प्रविधिको प्रयोग गरी निर्माण गरिएको उक्त काठेपुल हिउँदको समयमा मात्र प्रयोग गरिन्छ । बर्खामा कालीगण्डकी नदीमा पानीको बहाव उच्च हुने भएकाले तातोपानी कुण्डमा उपचारका लागि जाने बिरामी र अरु पर्यटक नारच्याङको बाटो हुँदै एक घण्टा समय खर्चेर पाउद्वार तातोपानी कुण्डमा पुग्नुपर्ने बाध्यता छ ।

पुल नहुँदा नारच्याङ पुगेर करिब एक घण्टाको घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता हटाउन कालीगण्डकीमा अस्थायी पुल निर्माण गरिएको तिलिजाले जानकारी दिए ।

‘यस कुण्डमा नियमित रुपमा स्नान गर्ने बिरामी र पर्यटकसमेत आउने गर्छन्, तर बाटो घुमाउरो हुँदा आवतजावतमा झण्झट भएकाले हिउँदयामको लागि मात्रै भए पनि अस्थायी साँघु बनाएका हौँ’, उनले भने ।

पुल बनाउन काठका फ्ल्याक, बाँस र ग्याबियन झाली प्रयोग गरिएको छ । वारपार गर्दा सुरक्षाका लागि पुलको दाँयाबाँया काठकै रेलिङ हालिएको छ ।

यहाँका स्थानीयले हिउँद यामका लागि मात्रै अस्थायी काठको पुल बनाउने गर्दछन् । अस्थायी काठे साँघु बनेसँगै कुण्डमा स्नान गर्न आउने बिरामी अवस्थाका वृद्धवृद्धा र पर्यटकलाई निकै सहजभएको छ ।

पुल बनाउने खर्च गाउँपालिकाले दिने आश्वासन दिए पनि अहिलेसम्म रकम नपाएको तिजिलाले बताए । कुण्डको व्यवस्थापनको जिम्मा लिनुभएका तिलिजाले पुल बनाएका हुन् ।

अस्थायी पुल निर्माणपछि ४५ मिनेटको दूरी पाँच मिनेटमै सीमित भएको कुण्डमा नियमित रुपमा स्नानगर्दै आएकी रामदेवीपुनले बताए ।

यतापूर्वाधार विकास कार्यालय म्याग्दीले उक्त स्थानमा पुल बनाउनका लागि योजना छनोट भएको र कार्यान्वयनको चरणमा रहेको जनाएको छ । पुल नहुँदा पाउद्वार जान चाहने आन्तरिक तथा बाह्य पर्यटकलाई सास्ती भएको स्थानीयवासीको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.