झापामा खाद्य कम्पनीले बुधबारदेखि किसानको धान खरिद गर्ने

  २०७९ पुष ७ गते १३:२४     विकासन्युज

झापा । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बिर्तामोडले किसानसँग धान खरिद गर्ने भएको छ । आगामी बुधबारदेखि किसानसँग भएको धान खरिद गर्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले मध्यम सोना मन्सुली धान प्रतिक्वीन्टल तीन हजार एक सय २८ रुपैयाँ र रञ्जीत धान प्रतिक्वीन्टल तीन हजार एक सय २८ रुपैयाँमा खरिद गर्ने भएको हो ।

कार्यालय प्रमुख देवेन्द्र राईले किसानलाई समर्थन मूल्यमा धान खरिद गरिने जानकारी दिए । उनले धान तौलाई, चौकाइसम्बन्धी सम्पूर्ण खर्च कम्पनीले नै व्यहोर्ने तर धानमा घुन, किरा नलागेको तथा अन्य बाह्य पदार्थ तथा अन्य धान नमिसिएको हुनुपर्ने बताए ।

धान सार्वजनिक विदाबाहेक हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खरिद गरिनेछ । धान बिक्री गर्ने किसानले नागरिकताको प्रतिलिपि, सम्बन्धित वडा कार्यालयको किसान पहिचानको सिफारिस पत्र, गाउँपालिका, नगरपालिकाको कृषि शाखा वा कृषि ज्ञान केन्द्र कार्यालयको सिफारिस पत्र अनिवार्य ल्याउनुपर्ने व्यवस्था रहेको राईको भनाइ छ ।

केही दिनअघि धानको समर्थन मूल्य कार्यान्वयनको माग गर्दै किसानले कार्यालयमा तालाबन्दी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.