‘राष्ट्र बैंकले पेलेको पेलै छ, बैंकहरुको भविष्य राम्रो छैन’

  २०७९ पुष ७ गते १०:५३     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले राष्ट्र बैंकले बैंकहरुको नियमनमा कडाइ गरेको धारणा राखेका छन् । बैंकको ३६औं वार्षिक साधारणसभामा बोल्दै उनले पछिल्लो समय राष्ट्र बैंक कडाइका साथ उत्रिएको धारणा राखेका हुन् ।

उनले राष्ट्र बैंकले हरेक नीति नियम तथा व्यवस्थाहरु कडाइका साथ लागू गर्न बाध्य पारिरहेको बताए । यसले बैंकहरुको भविष्यमै प्रश्न खडा भएको उनको भनाइ छ ।

‘पछिल्लो समय रास्ट्र बैंकले पेलेको पेलै छ, अर्कोतिर उद्योगी व्यवसायीहरु पनि आन्दोलित छन्, यसले बैंकको भविश्यमाथि नै प्रश्न उठाएको छ, बैंकहरुको भविष्य राम्रो छैन,’ उनले कार्यक्रममा भने ।

यस्तै, उनले मेगा बैंकसँग मर्जरपछि बैंक झन दरिलो र बलियो बन्ने धारणा राखे । उनले आगामी वर्षहरुमा बैंकले संभाव्यताको अध्ययन गरी संभावना भएको स्थानहरुमा बैंकको सेवा विस्तार गर्ने, बैकिङ्ग क्षेत्र तथा व्यापारिक जगतको आवश्यकता अनुसार नयाँ नयाँ उत्पादन तथा सेवाहरुको शुरुवात गर्ने धारणा राखे ।

उनले नयाँ प्रविधिमा आधारित सर्वसुलभ सेवा विस्तार गर्ने, आवश्यकता अनुसार पूँजी थप गर्न क्रणपत्र जारी गर्ने जानकारी दिए । आफ्नो पूँजी, ग्राहक संख्या तथा शाखा संञ्जाललाई मजबूत बनाउन उपयुक्त बैंक तथा वित्तिय संस्थालाई गाभ्ने/प्राप्ती गर्नका निम्ती मर्जर सम्बन्धी अध्ययन कार्य जारी राख्ने पनि बताए ।

बढ्दो घरबहाललाई ध्यानमा राखेर उपयुक्त स्थानमा बैंकको शाखा संचालन गर्नको लागी बैंकको आफ्नै घर/जग्गा खरिद गर्दै जाने, विकास रणनीति र गुणस्तरीय सेवाहरुको अनुसरण गर्दै मुलुककै शीर्ष बैंकका रुपमा आफूलाई स्थापित गर्न बैंक निरन्तर रुपमा प्रयासरत र प्रतिबद्ध रहने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.