सूर्यज्योति लाइफको एकीकृत कारोबार पुस ७ गतेदेखि हुने

  २०७९ पुष ५ गते ७:२७     विकासन्युज

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सको एकीकृत कारोबारको मिति तय भएको छ । पुस ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् । सूर्या लाइफले ज्योति लाइफलाई गाभ्ने भएको हो ।

दुवै कम्पनीको गत कात्तिक २८ गते सम्पन्न वार्षिक साधारण सभाले गाभ्नेगाभिने प्रस्ताव पारित गरिसकेका छन् । साथै नेपाल बीमा प्राधिकरणले मंसिर २ गते र नेपाल धितोपत्र बोर्डले मंसिर २५ मा दुबै कम्पनी–गाभिन अन्तिम स्विकृति प्रदान गरिसकेका छन् ।

कम्पनी रजिष्ट्रारको कार्यालयले गाभिने कम्पनीको सम्पूर्ण सम्पत्ति र दायित्व हालको कम्पनीले व्यहोर्ने वा सकार्ने गरी ज्योति लाइफ इन्स्योरेन्सलाई सूर्या लाइफ इन्स्योरेन्समा गाभ्न मंसिर २७ गते स्विकृति प्राप्त गरिसकेको छ । बीमा प्राधिकरणको मंसिर २९ गतेको प्राप्त स्वीकृति बमोजिम पुस ७ गते बिहिबारदेखि जीवन बीमा सेवाको एकीकृत कारोवार संचालन गरिने जनाएको हो ।

साथै डाटा माइग्रेशन तथा सिस्टम इन्टिग्रेसन गर्नुपर्ने भएकोले पुस ६ गते एक दिनका लागि बिहान ८ बजेदेखि सम्पूर्ण सेवा अवरुद्ध हुने हुँदा सोबाट ग्राहकवर्ग, अभिकर्ता तथा सरोकारवालाहरुमा पर्न जाने असुविधाको लागि कम्पनीले क्षमा मागेको छ ।

सूर्या लाइफ र ज्योति लाइफबीच गत ४ कार्तिकमा एक आपसमा मर्ज गर्ने सम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । गत असार १२ गते दुवै कम्पनीबीच प्रारम्भिक सम्झौता भएको थियो ।

सम्झौता अनुसार रजिष्टर्ड कार्यालय विराटनगर, मोरङ्गमा र केन्द्रिय कार्यालय ज्ञानेश्वर काठमाडौंमा रहनेछ । नयाँ बन्ने संचालक समितिको अध्यक्षमा सूर्या लाइफका केशब प्रसाद भट्टराई र प्रमुख कार्यकारी अधिकृतमा ज्योति लाइफका प्रकाश विक्रम खत्री रहनेछन् भने सूर्या लाइफका पवन कुमार खड्का वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदको जिम्मेवारीमा रहनेछन् ।

सूर्या लाइफको मोरङको विराटनगर महानगरपालिका ७ मा रजिष्टर्ड कार्यालय र काठमाण्डौं महानगरपालिका ३० सानो गौचरनमा कर्पोरेट कार्यालय छ भने ज्योति लाइफको पोखरा महानगरपालिका ९ मा रजिष्टर्ड कार्यालय र काठमाडौं महानगरपालिका ३०, ज्ञानेश्वरमा कर्पोरेट कार्यालय छ ।

दुवै कम्पनी १ः०.८२४५ स्वाप रेसियो अनुपातमा मर्ज हुन लागेका हुन् । अर्थात् सूर्या लाईफका सेयरधनीले १ सेयर बराबर ज्योति लाईफका सेयरधनीले ०.८२४५ सेयर पाउनेछन् । मर्जरपश्चात् कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५५ करोड रुपैयाँ पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.