सेयरधितो कर्जामा नबिल, ग्लोबल र राष्ट्रिय वाणिज्य बैंकबीच प्रतिस्पर्धा, कुनको ऋण कति ?

  २०७९ पुष ४ गते १६:४७     विकासन्युज

काठमाडौं ।  चालू आर्थिक वर्ष २०७९/०८० को कात्तिक महिना सम्ममा बैंकहरुले कुल ५९ अर्ब ९१ करोड १० लाख रुपैयाँ सेयरधितो कर्जा प्रवाह गरेका छन् । २६ वटा वाणिज्य बैंकहरुले कात्तिक महिनामा असोजको तुलनामा ४३ करोड ६० लाख अर्थात् ०.७२ प्रतिशत कम ऋण प्रवाह गरेका हुन् ।

बैंकहरुले असोजमा ६० अर्ब ३४ करोड ८० लाख रुपैयाँ कर्जा लगानी गरेका थिए भने भदौमा ६० अर्ब ३१ करोड ९० लाख र साउन महिनामा ६१ अर्ब ५६ करोड ३० लाख रुपैयाँ सेयरधितो कर्जा लगानी गरेका थिए ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार कात्तिकमा ८ वटा वाणिज्य बैंकले सेयर धितो कर्जा बढाएका छन् । असोजको तुलनामा राष्ट्रिय वाणिज्य बैंक, नबिल, नेपाल इन्भेष्टमेन्ट, कुमारी, लक्ष्मी, सिद्धार्थ, कृषि विकास र एनएमबी बैंकले सेयर धितो कर्जा बढाएका छन् । अन्य बैंकको सेयरधितो कर्जा भने घटेको छ ।

हालसम्म सबैभन्दा बढी नबिल, दोस्रोमा ग्लोबल आइएमई र तेस्रोमा राष्ट्रिय वाणिज्य बैंकले सेयर धितो कर्जा लगानी गरेका छन् । नबिलले ६ अर्ब ७९ करोड ८० लाख, ग्लोबलले ४ अर्ब ९७ करोड ८० लाख र राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ५३ करोड ३० लाख रुपैयाँ सेयर धितो कर्जा लगानी गरेका छन् ।

सिटिजन्स, सिद्धार्थ, नेपाल बैंक र प्राइम कमर्सियल बैंकले ३ अर्ब बढी सेयर धितो कर्जा प्रवाह गरेको छन् भने मेगा, कुमारी, सेञ्चुरी, लक्ष्मी, प्रभु र सिभिल बैंकले २ अर्ब रुपैयाँ बढी सेयरधितो कर्जा लगानी गरेका छन् ।

यस्तै, सनराइज, नेपाल इन्भेष्टमेन्ट, बैंक अफ काठमाण्डू, सानिमा, एनआइसी एशिया, एनएमबि, एनसीसी, हिमालयन र कृषि विकास बैंकले एक अर्ब बढी लगानी गरेका छन् । माछापुच्छ्रे, एभरेष्ट र नेपाल एसबिआई बैंकले भने १ अर्ब रुपैयाँ पनि सेयरधितो कर्जा लगानी गरेका छैनन् । माछापुच्छ्रे बैंकले ८२ करोड ८० लाख, एभरेष्टले ७५ करोड ६० लाख र नेपाल एसबिआईले ३२ ३ करोड २० लाख रुपैयाँ लगानी गरेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् मार्जिन प्रकृतिको सेयर धितो कर्जामा केही खुकुलो नीतिको व्यवस्था गरेको थियो । यसअघि सेयर धितो कर्जामा ४/१२ करोडको सीमा रहेकोमा चालु आवको मौद्रिक नीतिमार्फत् ४ करोडको सीमा हटाएर १२ करोडको सीमा मात्रै लागू गरेको थियो । सो पछि पनि बैंकहरुले सेयरधितो कर्जा कम लगानी गरेका हुन् । तरलता अभाव भइरहेको बेला बैंकहरुलाई कर्जा लगानी गर्न समस्या भइरहेको छ । पछिल्लो समय भने केही सुधार हुँदै गइरहेको प्रतिक्रिया बैंकरहरुको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.