प्रधानमन्त्री देउवाकै नेतृत्वमा नयाँ सरकार, संसदीय दलको नेतामा देउवा भारी मतले विजयी हुने

  २०७९ पुष ३ गते ७:००     विकासन्युज

काठमाडौं । नेपाली काँग्रेसका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार बन्ने दावी गरेका छन् । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत, नेता विमलेन्द्र निधिलगायतका प्रतिनिधिसभामा निर्वाचित सांसदहरुले संसदमा सबैभन्दा ठूलो दलको हैसियतमा काँग्रेसकै नेतृत्वमा नयाँ सरकार बन्नु स्वभाविक हुने तर्क समेत गरे ।

पार्टी सभापति एवम् प्रधानमन्त्री देउवाले आयोजना गरेको सांसदहरुको भेलामा सहभागी भएका काँग्रेस प्रवक्ता महतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि प्रधानमन्त्रीमा इच्छा व्यक्त गरेको भएपनि सरकारको नेतृत्व काँग्रेसले नै गर्नु स्वभाविक हुने प्रतिक्रिया दिए । उनले आफ्नै पार्टी नेतृत्वको सरकारलाई देशले र जनताले स्वभाविक रुपमा लिने धारणा समेत राखे ।

‘नेपाली काँग्रेस सबैभन्दा ठूलो दल हो, गठबन्धनमा पनि ठूलो दलको हैसियत छ, नेपाली काँग्रेसको प्रधानमन्त्री हुने कुरालाई देश, जनता र सबैले स्वभाविक रुपमा लिन्छन, केही दिनमै संसदीय दलको दलको निर्वाचन हुन्छ, हाम्रो दलको एकल बहुमत पनि छैन, अरु दलको सहयोग लिएर हामीले सरकार बनाउने हो, त्यो अवस्थामा नेपाली काँग्रेस एक ढिक्का छ, सर्वसम्मतबाट नेतृत्व चयन भए अझ बलियो सन्देश जान्छ,’ प्रवक्ता महतले भने, ‘प्रचण्डजीले पनि प्रधानमन्त्रीका लागि इ्च्छा व्यक्त गरेका छन्, हामीले भन्न नमिल्ने भन्ने कुरा छैन, प्रधानमन्त्री भईसकेको व्यक्तित्व हुनु हुन्छ उहाँ, नेतृत्व गर्न पाए हुन्थ्यो भन्ने उहाँको इच्छा छ, त्यसलाई हामी सम्माननै गर्छौं तर अहिलेको अवस्थामा नेपाली काँग्रेसको नेतृत्व चाँही स्वभाविक ठहर्छ ।’

प्रधानमन्त्री देउवाकै नेतृत्वमा सरकार बन्नेमा काँग्रेस नेता विमलेन्द्र निधि पनि ढुक्क छन् । उनले काँग्रेसको नेतृत्वमा गठबन्धन सरकार बन्नु परिस्थितिजन्य निष्कर्ष भएको औंल्याउँदै सोही बाटोमा मुलुक अघि बढ्ने बताए ।

सांसद दिपक खड्काले काँग्रेसकै नेतृत्वमा सरकार बनाउन गठबन्धन दलहरुबीचमा सहमती जुट्ने बताए । उनले पार्टी संसदीय दलको नेतामा पनि देउवा भारी मतले विजयी हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.