लगानीकर्ता न्यौपाने र प्रधानलाई कारवाही गर्दै धितोपत्र बोर्ड, अवैध कारोबार गरेको ठहर

  २०७९ पुष १ गते १३:४२     विकासन्युज

काठमाडाैं । नेपाल धितोपत्र बोर्डले लगानीकर्ता गुरुप्रसाद न्यौपाने र ज्ञानेन्द्रलाल प्रधानलाई कारवाही गर्ने भएको छ । मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले रिडी हाइड्रोपावर कम्पनीका पूर्वअध्यक्ष न्यौपाने र नेपाल हाइड्रो डेभलपर्स कम्पनीका पूर्वअध्यक्ष प्रधानलाई कारवाही गर्ने निर्णय गरेको हो ।

अवैध रुपमा सेयर कारोबार गरेको ठहर भएपछि बोर्ड बैठकले न्यौपाने र प्रधानलाई कारवाही गर्ने निर्णय गरेको बोर्ड श्रोतले बतायो।

‘उहाँहरुले सञ्चालक समितिमा हुँदा नियम विपरित कारोबार गरेको पाइएको छ’ बोर्डको उच्च श्रोतले बताउँदै भन्यो- ‘बोर्डले उहाँहरुलाई दोषी समेत ठहर गरिसकेको छ, अब तत्काल कारबाहीको प्रकृया अगाडी बढाइने छ । ‘

न्यौपानेले रिडी हाइड्रोपावरमा अध्यक्ष रहेकै समयमा कम्पनीको सेयर किनबेच गरेका थिए । त्यस्तै,  प्रधानले पनि नेपाल हाइड्रोपावरको अध्यक्ष रहेकै समयमा आफ्नो श्रीमती बिमला श्रेष्ठ प्रधान, छोरा चेतन प्रधान र छोरी निभिता प्रधानको नाममा रहेको सेयर कारोबार गरेका थिए ।

सञ्चालक समितिमा रहँदा वा सञ्चालक समिति छोडेको एक वर्षभित्र आफू वा एकाघरको व्यक्तिले सम्बन्धित कम्पनीको सेयर कारोबार गर्न नपाउने व्यवस्था छ । उक्त व्यवस्थाविपरित कारोबार गरेको ठहर भएसँगै बोर्डले कारवाहीको प्रकृयालाई अघि बढाउने निर्णय गरेको हो ।

बोर्डले धितोपत्र ऐन अनुसार कारवाहीको प्रकृया अघि बढाउने भएको छ । ऐनमा ‘कुनै पनि सूचीकृत कम्पनीको सञ्चालक, कार्यकारी प्रमुखलगायतका पदाधिकारीहरुले पदमा रहँदा वा पदबाट हटेको १ वर्षसम्म आफ्नो वा आफ्नो परिवार र आफू संलग्न कम्पनीमार्फत् त्यस्तो कम्पनीको सेयर खरिदबिक्री गर्न नपाइने’ व्यवस्था छ । यो व्यवस्था विरुद्ध काम कारवाही गरेमा २५ देखि ७५ हजारसम्म जरिवाना र १० वर्षसम्म कुनै पनि सूचीकृत कम्पनीमा सञ्चालक समिति लगायत माथिको कुनैपनि पदमा नियुक्ति लिन पाइने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.