पोखरा विमानस्थलबाट बुद्धले बनारस र हिमालयले परीक्षण उडान गर्ने

  २०७९ पुष १ गते १२:३८     विकासन्युज

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानका लागि अन्तर्राष्ट्रिय विमान कम्पनीहरूले चासो देखाउन थालेका छन् । विमानस्थलबाट उडानका लागि भारतीय र चिनियाँ विमान कम्पनीले चासो देखाएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।

चिनियाँ तथा नेपाली निजी क्षेत्रको संयुक्त लगानीमा सञ्चालित हिमालय एयरलाइन्सले पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलबाट परीक्षण उडान गर्ने भएको छ ।

आगामी जनवरी १ तारिखबाट सञ्चालनको तयारी थालिएको उक्त विमानस्थलमा हिमालयले परीक्षण उडानको तयारी भएको जनाएको छ । ‘हामीले सुरुवाती चरणमा काठमाडौं–पोखरा परीक्षण उडान गछौँ, परीक्षण उडान पश्चात मात्रै अन्य गन्तव्यमा उडानको तयारी थाल्छौँ, हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने । उनका अनुसार परीक्षण उडानको तयारी थालिएतापनि कहिने गर्ने भनेर मिति भने तय भैसकेको छैन् ।

क्यानका प्रवक्ता जगन्नाथ निरौलाले पोखरा विमानस्थलबाट बुद्ध एयर र जजिरा एयरवेजले उडानमा चासो देखाएको जानकारी दिए । पुस १७ गतेकै दिन बुद्धले भारतको बनारस उडानका लागि अनुमति मागिसकेको छ ।

पोखरा विमानस्थलबाट बुद्ध एयरले भारतका तीन गन्तव्य पोखरा–बनारस–पोखरा, पोखरा–दिल्ली–पोखरा र पोखरा–देहरादुन–पोखरामा उडान गर्ने योजना बनाएको छ ।

पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान ‘सिङ्गल अप्रोच’ बाट हुनेछ । विमानस्थलको पूर्वपट्टिबाट मात्रै अन्तर्राष्ट्रिय उडान र अवतरण हुनेछन् भने आन्तरिकतर्फ रन–वेको दुवैतर्फबाट उडान तथा अवतरण गर्न मिल्ने क्यानको भनाइ छ ।

विमानस्थलमा साना र ठूला गरी ११ वटा विमान पार्किङ गर्न सकिन्छ । आन्तरिकतर्फ दैनिक ४८ र अन्तर्राष्ट्रियतर्फ छ वटा उडान तथा अवतरण गर्ने क्यानको तयारी छ । विमानस्थलसँग वार्षिक ८ लाख यात्रुलाई सेवा दिनसक्ने क्षमता छ ।

तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झण्डै २२ अर्ब रुपैयाँ लागतमा निर्माण भएको छ । विमानस्थलमा दुई हजार पाँच सय मिटर लम्बाई र ४५ मिटर चौडाइको धावनमार्ग छ ।

उडान सञ्चालनअघि विमानस्थलको पूर्वपट्टि पर्ने रिट्ठेपानीडाँडा कटानको पहिलो चरणअन्तर्गत १६ मिटर कटान कार्य सकिएको प्राधिकरणले जनाएको छ । धावनमार्गको ‘अप्रोच’ पर्ने भएकाले ४० मिटरडाँडा काटेर समतल बनाइनेछ । बाँकी २४ मिटर काट्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.